प्रदेशसभा सदस्यको शपथ आइतबार, प्रदेशमा १७५ कर्मचारी खटिने

काठमाडौँ-नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले उहाँहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ ।

प्रदेश प्रमुखलाई प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाइसकेपछि आयोगले उक्त प्रतिवेदन आजै राजपत्रमा प्रकाशन गर्न पठाएको छ । प्रतिवेदन बुझेलगत्तै तत् प्रदेशका प्रमुखहरु आ-आफ्ना प्रदेशसभा सदस्यलाई पद तथा गोपनीयताको शपथका लागि व्यवस्था गर्ने तयारीमा लागेका छन् ।

आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ । त्यस मितिअगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यता छ ।

प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम प्रतिवेदन बुझेलगत्तै प्रदेश प्रमुखले आयोगका पदाधिकारी र सरकारका मुख्य सचिव तथा सचिवसँगको बैठकमा आआफ्नो कार्यालय, कर्मचारी एवं तत्काल गर्नुपर्ने जिम्मेवारीका विषयमा जिज्ञासा राखेका थिए ।

प्रदेश नं ७ प्रमुख मोहनराज मल्लले प्रदेशसभा सदस्यहरु दुर्गम जिल्लामा समेत रहेकाले छोटो समयमा कसरी शपथ गराउने र कर्मचारीसहित भौतिक व्यवस्थापन कसरी हुन्छ भनी जिज्ञासा राखे । बैठकमा संक्रमणकालीन अवस्था र निर्वाचनको निर्धारित तालिकालाई प्रभावित हुन नदिन काठमाडौँमै प्रदेशसभा सदस्यलाई शपथ गराउन सकिने विकल्पका बारेमा छलफल भए पनि आफ्नै प्रदेश प्रमुखले आफ्नै प्रदेशमा शपथ गराउने उनले बताए ।

प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले शपथका लागि आवश्यक जनशक्ति र भौतिक व्यवस्थापन तत्काल गर्न सबै सरकारी संयन्त्र युद्धस्तरमा परिचालनका लागि मुख्य सचिव लोकदर्शन रेग्मीको ध्यानाकर्षण गराइन । प्रदेश नं २ का प्रमुख रत्नेश्वरलाल कायस्थले अत्यन्त छोटो समय र शनिबार बिदा परेकाले प्रदेशमा शपथको व्यवस्थापन गर्नका लागि राज्यका संयन्त्रलाई तत्काल परिचालन गर्न सुझाए ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रदेशसभा सदस्य राष्ट्रियसभा निर्वाचनको मतदाता हुने भएकाले मतदाता नामावली प्रकाशन गर्ने मितिअघि नै शपथ ग्रहण गराइसक्नुपर्ने कानूनी व्यवस्थाका बारेमा जानकारी गराए ।

प्रदेश प्रमुखहरुको शपथलगत्तै उहाँहरुलाई तत्कालका लागि मन्त्रिस्तरको सुरक्षा तथा सेवासुविधा उपलब्ध गराइएको छ । सबै प्रदेश प्रमुखसँगको छलफलपछि आइतबार बिहान ११ बजेसम्म प्रदेशसभा सदस्यलाई सम्बन्धित प्रदेशमै शपथ गराइसक्ने भएको छ ।

मुख्य सचिव रेग्मीले सबै प्रदेशमा शपथको आवश्यक तयारीका लागि सम्बन्धित प्रदेशमा रहेका क्षेत्रीय प्रशासक र प्रजिअको नेतृत्वमा सबै सरकारी संयन्त्र परिचालन भइसकेको बताए । उनले सहसचिवको नेतृत्वमा सबै प्रदेशमा प्रदेश प्रमुखको कार्यालय, आवास, सुरक्षा, कर्मचारी खटनपटन भइसकेको जानकारी दिँदै प्रदेश प्रमुखको कार्यालय व्यवस्थापनका लागि गृह, सामान्य प्रशासन र शहरी विकास सचिव तथा सुरक्षा निकायका प्रमुखसँग समन्वय गरेर काम अगाडि बढेको बताए ।

प्रदेशसभा पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । उक्त बैठकले मुख्यमन्त्री र प्रदेश सरकार चयन गर्नेछ ।

१७५ कर्मचारी खटिने
सामान्य प्रशासन मन्त्रालयले प्रदेश प्रमुखको कार्यालयमा जति सक्दो चाँडो कर्मचारी पठाउने तयारी गरेको छ । प्रदेश प्रमुखको कार्यालय सञ्चालनका बढीमा आइतबारसम्म कर्मचारी पठाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।

‘हामीले प्रदेश प्रमुख नियुक्त हुनासाथ कर्मचारी खटाउने विषयमा आवश्यक गृहकार्य गरेका थियौँ’, उनले भने, ‘अब जति सक्दो चाँडो एक दुई दिनभित्र कर्मचारीलाई सम्बन्धित प्रदेश प्रमुखको कार्यालयमा खटाउछौँ ।’

ती कर्मचारीलाई अहिले कर्मचारी समायोजन नहुँदासम्मका लागि अस्थायी रुपमा मात्र मन्त्रालयले जानकारी दिएको छ । एउटा प्रदेशमा सहसचिवको नेतृत्वमा २५ जनाको दरले १७५ जना कर्मचारी जानेछन् । प्रदेश प्रमुखको सचिवालयमा १२ र कार्यालय सञ्चालन गर्नका लागि १३ कर्मचारी पठाउन थालिएको उनले बताए । आज राष्ट्रपतिसँग शपथ लिएका प्रदेश प्रमुखले अब सरकारले तोकेको अस्थायी मुकाममा गएर प्रदेश सञ्चालन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री