अस्वस्थ गायक विष्टलाई अमेरिकामा सहयोग जुटाईंदै

काठमाडौँ, ५ माघ – वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले शनिबार संयुक्त राज्य अमेरिकाको भर्जिनियामा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।

‘पप किङ’ विष्ट केही समयदेखि मिर्गौलासम्बन्धी रोगबाट अस्वस्थ हुनुहुन्छ । दुवै मिर्गौला प्रत्यारोपणका लागि विष्टलाई केही रकम सहयोग गर्ने अभिप्रायले इन्टरनेसनल नेप्लिज आर्टिस्ट सोसाइटी (इनास) को आयोजनामा उक्त कार्यक्रम हुन लागेको वासिङ्गटन डिसीबाट दीपक शर्माले जानकारी दिए ।

‘सहयोगमा एकजुट’ भन्ने नाराका साथ आयोजना हुने कार्यक्रममा गायक विष्ट स्वयं उपस्थित हुने र संकलित रकम कार्यक्रममै उहाँलाई हस्तान्तरण गरिने बताइएको छ । कार्यक्रममा कलाकार सरोज खनाल, रीमा विश्वकर्मा, निशा अधिकारी, शिवहरि पौडेल, किरणप्रताप केसीलगायतले आ-आफ्नो कला प्रस्तुत गर्नुहुनेछ ।

विसं २०२० को दशकबाट सांगीतिक यात्रा आरम्भ गर्नुभएका विष्टले पप, आधुनिक, राष्ट्रिय, लोकगीत र भजन गरी २०० भन्दा धेरै गीतमा स्वर दिनुभएको छ । विष्टलाई आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले यसअघि पनि अमेरिकाका विभिन्न शहरमा सांगीतिक कार्यक्रम आयोजना गरिएका थिए ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री