सोमबार, फागुन १४ २०७४ | Mon, February 26, 2018
नेपालको समय: ०७:३७ | UK Time: 01:52

सल्लाहकार नियुक्ति कि आत्मासन्तुष्टि

डा. राजेन्द्र थापा
२०७४ माघ ६ गते १०:१९

यतिखेर एनआरएनए यूके सल्लाहकार गठन प्रक्रियासंगै थुप्रै प्रतिक्रिया सतहमा आएका छन् । सरसर्ती हेर्ने हो भने 
एनआरएनए जुन उद्देश्य र लक्ष्यका साथ खोलिएको हो, त्यसको तार्किक अर्थ यस संस्थामा विश्वास राख्ने व्यक्तित्वहरुले समेत पाउन सकिरहेका छैनन् भन्ने आम मानिसको तर्क छ । हुन त संसारभरि छरिएर रहेका नेपालीहरुको धारणा हेर्ने हो भने एनआरएनलाई सकारात्मक र नकारात्मक रुपमा विश्लेषण गर्ने समूहहरुको ठूलै जमात भेटिन्छ । एउटा ध्रुवका मानिसहरु यस संस्थाको उचाईं वृहत भएको ठान्छन् भने विपरित ध्रुवका मानिसहरु संस्थाको साख गिर्दै गएको भनेर चिन्ता ब्यक्त गर्दछन् ।

नेपालबाट उपयुक्त रोजगारीको खोजीमा विदेशिएका नेपालीहरु पेशागत तथा आर्थिक सफलतापछि नेपाली समाजमा आफ्नो उपस्थिति देखाउन विभिन्न माध्यमबाट आगाडि आउने गरेका छन् । फलस्वरुप एनआरएन लगायत थुप्रै संस्थाहरुले विदेशमा स्वस्थ वा अस्वस्थ रुपमा जन्म लिए र अन्य थुप्रै गर्भमा 
छन् । सफलतामा ठूलै हात पार्न सक्षम व्यक्तिहरुले जन्म दिएको संस्थाले ठूलै उपलब्धि हांसिल गरे भने साना सफलताका कथा जोडिएका संस्थाहरुले आफ्नो उचाईं खासै बढाउन नसकेको स्थिति देखिन्छ । जातियता, राजनीतिक र भौगालिक हिसाबले खोलिएका संस्थाहरु पनि केहि हिसाबले अग्ला देखिन्छन् ।

एनआरएन एक विशुद्ध नेपालीहरुको हितका लागि खोलिएको कुनै सरकारी संस्था नभई गैर नाफामुलक संस्था हो । यसको कार्यकारी पदाधिकारीहरुलाई न कुनै सेवा सुविधा छ, न कुनै तलव भत्ताको व्यवस्था छ, न कुनै काम समयमा सक्नुपर्ने कर्तव्य छ, न कुनै काम कर्तव्यप्रति उत्तरदायी हुनुपर्ने जिम्मेवारी छ, न कुनै काम नगरे दण्डित नै हुनुपर्छ ।

यस संस्था तथा यसका यूके स्थित सामाजिक अभियन्ताहरुको मुख्य उद्देश्य भनेको आफ्नो तथा समाजको नाम नेपाली बजारमा स्थापित गर्नु हो भने स्थापित भइसकेकाहरु विस्थापित नहुने उपायको खोजीमा लाग्नु संस्थाको दोश्रो उद्देश्य हो । जब संस्थासंग कुनै विशेष परिणाममुखी विशेषज्ञ निहित योजना नै छैन् भने यस संस्थासंग आवद्ध 
रहने सल्लाहकारहरु पनि परिणाममुखी वा कुनै दक्ष कामको अनुभवी, सिमित व्यक्तित्व वा विशेषज्ञद्वारा निर्देशित सल्लाह सुझाव भन्दा पनि सामाजिक अभियानमा आफ्नो सशक्त भूमिका निभाउन सक्ने जो कोहि ब्यक्तित्व भए पनि हुने देखिन्छ । यसका लागि गर्न सकिने र 
गर्नुपर्ने मुख्य काम भनेको च्यारिटी, आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नु, अलिकति देशको विकासमा टेवा पुग्ने काम गर्नु र अरुलाई पनि यस अभियानमा अभिप्रेरित गर्नु नै हो । काम गर्ने प्रक्रियामा केहि तीता मिठा, राम्रा नराम्रा तथा सकारात्मक नकारात्मक अनुभव प्रकृतिको नियम नै हो । केहि स्वार्थ बोकेका एनआरएन अभियन्ताहरु बाहेक धेरै स्वाभिमानी गैर आवासीय नेपालीहरु अति निष्ठा बोकेका, आफ्नो मन, तन र क्षमताले सकेसम्म नेपाल र नेपालीहरुलाई सहयोग गर्न र संस्थाको गरिमा उच्च पार्न रात दिन खटिरहेका छन् ।

बास्तवमा सहि सामाजिक हिरो हुन् जो नेपालमा रहुन् वा बिदेशमा रहुन्, चाहे एनआरएनमा रहुन् वा नरहुन्, चाहे पदीय हैसियत होस् वा नहोस् उनीहरुको झुकाव जहिले पनि समाजको निरन्तर प्रगतितिर नै झल्कने गरेका उदाहरणहरु गैर आवासीय नेपाली वृत्तभित्र प्रशस्तै भेटिन्छ ।

यसरी सरसर्ती हेर्दा एनआरएनए यूकेले २०० वा ३०० सल्लाहकार बनाउंदा कसैले भोज गर्नुपर्ने वा कसैले टाउको दुखाउनु पर्ने कारण त्यति देखिंदैन् । यो एउटा अन्य संस्था जस्तै तर सबै आमनेपालीहरुलाई समेट्न बना इएको संस्था हो । हामी सबै नेपालीहरुको साझा पीडा भनेको काममा आफ्नो भाषा बोल्ने साथी नहुनु, विदेशीसंग बिहान देखि बेलुकासम्म काम गर्नुपर्ने, आफ्नो भाषा सहजै जता पनि बोल्न नपाउनु, सबै साथी छिमेकी तथा नातेदारहरु जहिले पनि व्यस्त रहनु र नेपालमा जस्तो सहजै भेट्न नपाइनु तथा आफ्ना सफलता तथा असफलताको मुल्यांकन बेलायती समाजमा सजिलै नहुने हुनाले यस्तै खाले उपलब्धिका लागि एनआरएन लगायत अन्य संस्थाले गरेका प्रोग्रामहरुप्रति नेपाली आकर्षित भएका हुन् । यस्ता प्रकारका कार्यक्रमले खासै व्यक्ति विकास, बौद्धिक विकास र सामाजिक रुपान्तरणमा अतुलनीय योगदान पुरयाउन नसकेपनि विदेसिएका आम नेपालीहरुमा खुशी, सद्भाव, मनोरन्जन प्रदान गर्नुका साथै परिवार, समाज, साथीहरु र आफू हुर्केको ठाउंबाट टाढा हुंदाको पीडाका अनुभवहरुलाई धेरै हदसम्म मत्थर पारि कुनै पनि स्वस्थ मानिसलाई हुन सक्ने मानसिक रोग तथा तनावबाट मुक्त गराउन अतुलनीय सहयोग पुरयाएको देखिन्छ ।

एनआरएन लगायत अन्य थुप्रै संस्थाबाट कसैले व्यक्ति विशेष देखिने गरि सामाजिक तथा आर्थिक लाभ प्राप्त गरेको छ भन्ने दोषारोपण भएपनि यस संस्थाहरुप्रति आवद्ध सबैले मानसिक सुख र शान्ति प्राप्त गर्नुका साथै विदेशमा रहंदा हुन सक्ने मानसिक रोग जस्तै एक्लोपनको शिकार नभई आफ्नो तथा परिवारको विकासमा विशेष योगदान 
पुरयाएको देखिन्छ । त्यसकारण, एनआरएनले २००-३०० सल्लाहकारका साथै ८-१० हजार नेपाली अट्ने कुनै एनआरएन नामको समिति नै बनाएर संस्थालाई अगाडि लान सके झन् धेरै भन्दा धेरै विदेशिएका नेपालीहरुको मानसिक स्वस्थ तथा आत्मसन्तुष्टिमा गुणात्मक परिवर्तन गरि उनीहरुको जिवनमा सकारात्मक सोचको विकास, एक अर्का प्रति सम्मान भावना र नेपाली नेपालीबीचको एकतामा ऐतिहसिक परिवर्तन हुने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक