प्रदेशसभा सदस्यहरुले लिए शपथ

प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङ प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई आइतबार विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ खुवाउँदै । तस्वीर – प्रभाषचन्द्र झा, विराटनगर, रासस

विराटनगर, ७ माघ – प्रदेश नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले आज विराटनगरस्थित वीरेन्द्रसभागृहमा शपथ लिनुभएको छ ।

प्रदेश नं १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाङले प्रदेशसभाका ज्येष्ठ सदस्य ७४ वर्षीय ओमप्रकाश सरावगीलाई संविधान, राष्ट्र र जनताप्रति समर्पित रहन शपथ खुवाएपछि सरावगीले १ नं प्रदेशसभाका सदस्यलाई सामूहिक रुपमा शपथ खुवाउनुभयो ।

सो अवसरमा प्रदेशका ५६ प्रत्यक्ष र ३७ समानुपातिक प्रदेश सदस्यले शपथ लिनुभयो । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट हुनुभएका सरावगीको जन्म विसं २००० चैत ३० गते झापाको भद्रपुरमा भएको हो ।

शपथका अवसरमा क्षेत्रीय प्रशासक राजेश्वरमान सिंह, प्रतिनिधिसभाका सदस्य, पूर्वसांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख, उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश, सुरक्षाकर्मीका उच्च पदाधिकारी, कार्यालय प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक अगुवा, समाजसेवीलगायतको उपस्थिति थियो ।

शपथमा जे देखियो  

मञ्चमा १ नं प्रदेशका विशिष्ट व्यक्तिको तस्वीर राखिएको थियो । सबैभन्दा माथि राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर राखिएको थियो । त्यसपछि एक लहरमा पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, झलनाथ खनाल र केपी शर्मा ओलीको तस्वीर राखिएको थियो ।

शपथका लागि उपस्थित अधिकांश सभासद् दौरासुरुवाल र गुन्युचोलीमा हुनुहुन्थ्यो । कुनै आदिवासी जनजातिका महिला सदस्य आआफ्ना लिम्बू र धिमालको संस्कृति झल्किने पोशाकमा हुनुहुन्थ्यो । एक पुरुष सदस्यले टाउकामा फेटा बाँध्नुभएको थियो । संघीय समाजवादी फोरम नेपालका प्रदेश सदस्य भने कुर्ता, पाइजामा र गम्छामा हुनुहुन्थ्यो ।

प्रदेश नं ३ मा शपथ सम्पन्न

हेटौँडा, ७ माघ – मकवानपुरको हेटौँडामा ३ नं प्रदेशका सांसदले शपथ ग्रहण लिएका छन् ।  बिहान १० बजे ज्येष्ठ सदस्यको हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले १०९ सांसदलाई क्षेत्रीय शिक्षा निर्देशनालयको सभाकक्षमा बिहान ११ बजे शपथ गराउनुभयो ।

हेटौँडामा ३ नं प्रदेशअन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लाका ११० सांसदले शपथ लिनुभएको हो ।

प्रदेश ४ का सदस्यद्वारा शपथ ग्रहण

प्रदेश–४ का प्रमुख बाबुराम कुँवरले आइतबार पोखरामा ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै । तस्वीर – वासुदेव पौडेल, पोखरा, रासस

पोखरा, ७ माघ – प्रदेश नं ४ का प्रदेशसभा सदस्यले आज सामूहिक रुपमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश नं ४ का ज्येष्ठ प्रदेशसभा सदस्य जनकलाल श्रेष्ठले पोखराको नदीपुरस्थित नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा उहाँहरूलाई शपथ गराउनुभयो । ज्येष्ठ सदस्य श्रेष्ठले यसअघि आज बिहान प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिनुभएको थियो । प्रदेश नं ४ मा मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), तनहुँ, लमजुङ, गोरखा, मनाङ र कास्की जिल्ला पर्छन् ।

५ नं प्रदेशसभा सदस्यबाट शपथ

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतबार रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा पदबहाली गर्दै । तस्बिर- भरत केसी, बुटवल, रासस

बुटवल, ७ माघ – प्रदेशसभामा नवनिर्वाचित प्रदेश नं ५का सदस्यले आज प्रदेशको अस्थायी मुकाम रुपन्देहीको बुटवलमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेललाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान, राष्ट्र र जनताप्रति समर्पित रही शपथ खुवाएपछि पोखरेलले प्रदेशसभाका अन्य सदस्यलाई सामूहिक रुपमा शपथ गराउनुभयो । नेपाली काँग्रेसबाट समानुपातिकबाट छनोट हुनुभएका पोखरेलको जन्म विसं १९९५ माघ १९ गते प्यूठानमा भएको हो । उहाँ रुपन्देहीबाट प्रदेशसभा सदस्यमा समानुपातिकमा चयन हुनुभएको हो ।

अस्थायी मुकाम बुटवलस्थित बुटवल उद्योग वाणिज्य संघको सचिवालयमा स्थापित प्रदेशसभा संसद्को कार्यालयमा प्रदेश सदस्यको शपथ कार्यक्रम आयोजना गरिएको थियो ।

सो अवसरमा प्रदेशमा प्रत्यक्षतर्फ निर्वाचित ५२ र समानुपातिकतर्फका ३३ प्रदेश सदस्यले शपथ लिनुभएको छ । नेकपा (एमाले)बाट समानुपातिकमा निर्वाचित अर्घाखाँचीकी जालपा भुसाल र राष्ट्रिय जनता पार्टीकी बिन पन्त आजको शपथ कार्यक्रममा उपस्थित हुन नसकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेश नं ६ का ४० सदस्यले शपथ ग्रहण गरे

सुर्खेत, ७ माघ – प्रदेश नं ६ का प्रदेशसभाका ४० सदस्यले आइतबार शपथ ग्रहण गरेका छन् ।

वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा दिउँसो १.३० बजे शपथग्रहण भएको हो । प्रदेश नं ६ का ज्येष्ठ प्रदेशसभा सदस्य हिमबहादुर शाहीले प्रदेशप्रमुख दुर्गाकेशर खनालबाट शपथ ग्रहण गरेपछि अन्य ३९ सदस्यलाई शपथ गराइएको थियो ।

नेपाली काँग्रेस दैलेखबाट समानुपातिक सांसद बन्नुभएका शाहीले शपथ खाएपछि अन्य ३९ जना सांसदलाई शपथ खुवाउनुभएको हो ।

प्रदेश सांसदलाई शपथ ग्रहण गराउँदै प्रदेश प्रमुख खनालले मुलुक नयाँ युगमा प्रवेश गरेको भन्दै विकासका लागि कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । “आजदेखि यो मुलुक नयाँ युगमा प्रवेश गरेको अभूतपूर्व दिन हो”– प्रमुख खनालले भन्नुभयो, “नयाँ युगमा प्रवेश गरेसँगै यहाँका सम्भावना र चुनौतीलाई सामना गर्नुपर्नेछ ।”

सबै एकजुट भएर आइपरेका चुनौती सामना गर्ने जिम्मा आफूहरुको काँधमा आएको उहाँको भनाइ थियो । “हामी एकजुट भएर विकासको रथ अगाडि बढाउँछौँ”–उहाँले भन्नुभयो, “सुनौलो युगको परिकल्पनालाई साकार पार्न हामी कटिबद्ध भएर लाग्नेछौँ ।”

बिहान ११ बजेका लागि तय गरिएको कार्यक्रम आवश्यक तयारीको अभावमा केही समय ढिला हुन गएको हो । शपथ ग्रहणका लागि काठमाडाँैमा रहेका सांसदहरुको शनिबारको उडान रोकिएपछि उहाँहरु आज बिहान ९ बजे वीरेन्द्रनगर आएका थिए । सासंदहरु सेनाको हेलिकोप्टरबाट शपथग्रहण कार्यक्रमका लागि वीरेन्द्रनगर आएका थिए ।

शनिबार उडान हुन नसकेपछि आइतबार प्रदेश प्रमुख खनालसहित २७ जना प्रदेश सदस्य सेनाको हेलिकोप्टरबाट आइतबार बिहान मात्रै शपथ लिन सुर्खेत आइपुग्नुभएको थियो ।

प्रदेश नं ७ का प्रदेशसभा सदस्यद्वारा शपथ

धनगढी, ७ माघ – प्रदेश नं ७ का प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य रहेको प्रदेश नं ७ का ५२ जनाले शपथ लिनुभएको छ । शपथ ग्रहणमा डोटीबाट निर्वाचित प्रदेशसभा सदस्य भरतबहादुर खड्का अनुपस्थित रहनुभयो । प्रदेश नं ७ का प्रमुख मोहनराज मल्लले ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाउनुभयो । त्यसपछि ज्येष्ठ सदस्य शाहले अन्य प्रदेशसभा सदस्यलाई शपथ खुवाउनुभएको थियो ।

धनगढीस्थित जिल्ला समन्वय समिति कार्यालयको सभा कक्षमा गरिएको शपथ ग्रहणमा विभिन्न समुदायबाट प्रतिनिधित्व गरेर आउनुभएका केही प्रदेश सदस्यहरु आफ्नो परम्परागत वेशभूषामा आउनुभएको थियो ।

प्रदेश नं ७ का प्रमुख मोहनराज मल्ल काठमाडौँबाट फर्किने क्रममा भएको ढिलाइका कारण आइतबार शपथ ग्रहण कार्यक्रम पनि ढिलोगरी शुरु भएको थियो । धनगढी आइपुग्नुभएका प्रदेश प्रमुख मल्लले प्रदेश कार्यालयमा पदबहाली गर्नुभएको थियो । पदबहालीपछि उहाँ शपथग्रहण स्थल आउनुभएको थियो ।

विकास र समृद्धिमा लाग्ने प्रतिक्रिया 

शपथ ग्रहणपछि प्रदेशसभा सदस्यले विकास र समृद्धिका लागि काम गर्ने प्रतिक्रिया दिएका छन । “स्थायी सरकार भए विकास गर्न सहज हुन्छ”–कञ्चनपुर निर्वाचन क्षेत्र नं १ का प्रदेशसभा सांसद कुलवीर चौधरीले भन्नुभयो, “सम्भावना र चुनाती दुवै छन् ।”

त्यसैगरी अछामबाट निर्वाचित प्रदेशसभा सांसद झपट बोहराले प्रदेशको विकासमा यहाँ थुप्रै सम्भावना रहेपनि स्रोत नरहेको बताउनुभयो । “अहिले यो प्रदेशले केन्द्रको विशेष अनुदानमा भर पर्नुपर्ने छ”–उहाँले भन्नुभयो, “विकास र व्यापारलाई वृद्धि गरेर समुन्नत बनाउनुपर्नेछ ।”

त्यस्तै डडेल्धुराबाट नेपाली काँग्रेसका समानुपातिक प्रदेशसभा सदस्य गोविन्द बोहराले संघीयता र लोकतन्त्रलाई बलियो बनाउन आजको दिनले थप प्रेरणा मिलेको बताउनुभयो ।

त्यसैगरी प्रदेश नं ७ बाट वादी समुदायका एक्लो महिला प्रदेशसभा सदस्य उमादेवी वादीले आफ्नो समुदायको हकहितका लागि संघर्ष गर्न सहज हुने बताउनुभयो । “अधिकारका लागि बोल्नसक्ने स्थानमा म पुगेको छु”–उहाँले भन्नुभयो, “मेरो समुदायसँगै समाज र महिलालगायत वर्ग समुदायका लागि पनि लागिपर्छु ।”

प्रदेश नं ७ मा प्रत्यक्षतर्फ ३२ र समानुपातिकतर्फ २१ सांसद रहनुभएको छ । जसमध्ये नेकपा (एमाले) का २५, नेकपा (माओवादी केन्द्र)का १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई जना हुनुहुन्छ ।

शपथ ग्रहण समारोहमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य, पूर्वसांसद, सामाजिक संघ-संस्थाका प्रतिनिधिलगायत सर्वसाधारणको सहभागिता थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री