शीतलहरले तराईमा जनजीवन कष्टकर

शीतलहरको चिसोबाट बच्न आगो ताप्दै बाराको कलैया उपमहानगरपालिका–२ औधापुरका स्थानीयवासी । तस्वीर – कुमार चौलागाई, रासस

औधापुर, बारा, ७ माघ – कलैया उपमहानगरपालिका–२ औधापुरकी कुन्तीदेवी यादवको २७ दिनदेखिको दैनिकी आगो तापेरै बित्ने गरेको छ ।

शनिबार उक्त बस्तीमा पुग्दा उनी मात्र होइन उनीजस्तै बस्तीका सबै आगो तापेरै दिन काट्दै थिए । पच्चीस दिनदेखि घामको मुख देख्न नपाएका उनीहरू यस वर्षको शीतलहर धेरै वर्षपछि लामो समयसम्म चलेको बताउँछन् ।

औधापुर–२ का सञ्जय शास्त्रीले भन्नुभयो, ‘विगत वर्षहरूमा दुई तीन दिन शीतलहर चलेपछि घाम लाग्थ्यो, यसपालि लगातार २५ दिन भइसक्यो, घाम लागेको छैन ।’ शीतलहरका कारण बस्तीमा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् । जाडो बढेसँगै विद्यालय करिब १० दिनका लागि बन्द गरिएकामा आजदेखि खुलेका छन् ।

स्थानीय प्रशासन र स्थानीय तहले शीतलहर पीडितलाई केही न्यानो कपडा तथा आगो ताप्न दाउराको प्रबन्ध मिलाए पनि पर्याप्त छैन । कलैया उपमहानगरपालिका–२ का वडाध्यक्ष राजेश मण्डलले वडाका अतिविपन्न परिवारलाई करिब १५० घरपरिवारलाई न्यानो कपडा र कम्बल वितरण गरिए पनि त्यो पर्याप्त नभएको बताउनुभयो ।

उहाँले जाडाबाट बच्न स्थानीय चोक चोकमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था गरिएको जानकारी दिनुभयो । तीन सातादेखि एक्कासि चिसो बढ्नाका साथै शीतलहर र बाक्लो कुहिराले आकाश छोप्नेक्रम नरोकिएपछि औधापुरलगायत तराईका जिल्लामा घाम देख्न मुश्किल पर्छ । ‘पुस माघ महिनामा तराईमधेशमा शीतलहर हुन्छ भन्ने सरकारलाई थाहा छ र त्यहाँको जनजीवन कष्टकर हुन्छ भन्ने पनि सरकारलाई अवगत नै छ, तर सरकारले यसबारे बेलैमा सतर्कता नअपनाउँदा प्रत्येक वर्ष मानवीय क्षति हुने क्रम रोकिएको छैन’, शास्त्री भन्नुहुन्छ ।

चिसोसँगै बहने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घर संरचना भएका परिवार अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, विषमज्वर, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । चिसो अत्यधिक बढेपछि स्थानीयवासी आफ्ना टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापी बसेको देख्न सकिन्छ ।

तराईमा चिसाका कारण ज्यान जाने नियमित प्रक्रिया जस्तै भएको छ । सरकारले चिसो र शीतलहर प्रभावितलाई जोगाउन बेलैमा सतर्कता नअपनाउँदा बर्सेनी शीतलहरबाट तराईका जिल्लामा धेरैको ज्यानसमेत जाने गरेको छ ।

शीतलहर पीडितलाई न्यानो कपडा

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल, वसन्त चौधरी फाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले शनिबार वितरण गरेको न्यानो कपडा पाएपछि बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडित । तस्वीर – कुमार चौलागाई, रासस

औधापुर, बारा, ७ माघ – श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, वसन्त चौधरी फाउण्डेशन र दीनानाथ स्मृति प्रतिष्ठान काभ्रेपलाञ्चोकले बाराको कलैया उपमहानगरपालिका–२ स्थित औधापुरका शीतलहरपीडितलाई शनिबार न्यानो कपडा वितरण गरेको छ ।

परिषद्का अध्यक्ष मातृका प्याकुरेल, प्रतिष्ठानका अध्यक्ष दुर्गानाथ दाहाललगायतको टोलीले औधापुर पुगेर त्यहाँका अतिविपन्न अपाङ्गतायुक्त, वृद्धवृद्धा र एकल महिलालाई प्राथमिकता दिई १०० परिवारलाई कम्बल, टोपी र ट्रयाकसुट वितरण गरेको हो ।

तीन सातायताको शीतलहरले प्रभावित भएकामा राहत पाएपछि कलैया उपमहानगरपालिका–२ का अपाङ्गतायुक्त शिवचन्द पासवानले न्यानो कपडाबाट आफूहरुले पुनर्जीवन पाएको बताउँदै सहयोगी सबैलाई धन्यवाद दिनुभयो ।

स्मृति प्रतिष्ठानका अध्यक्ष दाहालले आफूहरुलाई अरुणिमा योग ध्यान साधना केन्द्र, जापान निवासी विश्वराज गुरुङ, काभ्रेपलाञ्चोकका व्यापारी प्रेम दाहाललगायतले न्यानो कपडा एवं आर्थिक सहयोग गरेको बताउनुभयो ।

‘दुरव्यसन त्यागौँ सेवामुखी बनौँ’ भन्ने मूल नाराका साथ सामाजिक सेवामा सक्रिय आफ्नो संस्थाले केही दिनअघि सुर्खेत, बर्दिया र रौतहट जिल्लाका ५०० विपन्न घरपरिवारलाई न्यानो कपडा वितरण गरिसकेको परिषद्का अध्यक्ष प्याकुरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री