सोमबार, फागुन १४ २०७४ | Mon, February 26, 2018
नेपालको समय: ०७:३७ | UK Time: 01:52

नेपाल फर्कने वातावरण कहिले बन्ला ?

अमर श्रेष्ठ, इस्टहाम
२०७४ माघ १५ गते २२:१७

यूरोप, अमेरिका, जापान, अष्ट्रेलिया वा अन्य विकसित राष्ट्रमा गएका नेपाली दाजुभाई एक महिनाका लागि नेपाल फर्केका बेला पनि निस्सासिन थाल्छन् । हप्ता दिन नेपालमा होलिडे मनाउन नपाउंदै उनीहरु भन्न थाल्छन्- अहो ! कसरी बस्छन् होला नेपालीहरु यस्तो धुलो, धुवां, जाममा ? जताततै फोहोर देखेर कहिले फर्कौं हुन्छ ।’

अस्तव्यस्त शहर, व्यवस्था, जीवनशैलीबाट आत्तिएर उनीहरु जसरी भए पनि विदेशको पीआर लिन्छु भन्दै फर्कन आतुर भइरहेको अवस्था छ । जुन देशमा बीस बाइस वर्ष आफ्नो जीवन व्यतित गरे, हुर्के बढे, संसार ठाने आज त्यस स्थानप्रति माया नभई वितृष्णा मात्र छ । ‘हरे नेपाल कहिले विकसित हुने होला ?’ यस्तै यस्तै सोचेर विदेश फर्कन्छन् । सायद अब नेपाल कहिल्यै बन्दैन भन्ने चिन्ता धेरैमा छ । यस्तो अवस्था कहिलेसम्म ? अब पनि देश विकास नगर्ने हो भने देशका राजनीतिक पार्टीको नेतृत्व गर्ने सम्पूर्णलाई देशले धिकार्नेछ ।

नेपाल प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । यसको रसस्वादन गर्न पर्यटकहरू समेत लालायित देखिन्छन् । 
सांस्कृतिक सम्पदाको परिचय बेग्लै छ । हाम्रो देश नेपाल मौसमको हिसाबले पनि विश्वको उच्चतम् देशमा पर्छ, जहां मानव जीवन रमाइलोसंग बिताउन सकिन्छ । उच्च तापक्रम भएका खाडी मुलुकहरू विकसित हुने, न्यून तापक्रम भएका युरोप, अमेरिका विकसित हुने हाम्रो देश किन नहुने ? यसको समाधानका लागि हामी सबै नेपाली एकजुट भएर सफलताको शिखरतर्फ देशलाई डोरयाउनुपर्छ ।

देश विकासलाई राजनैतिक दल तथा नेपाली जनताले प्रमुख मुद्दा नै बनाएनन् । कहिले प्रजातन्त्र प्राप्तिको लागि राणाशासक विरुद्ध आन्दोलन गर्नु परयो । प्रजातन्त्र प्राप्तिपछि फेरि दुर्भाग्यवश पञ्चायत शासन सुरू भयो । यसरी एक पछि अर्को गरी नेपाल आमालाई पीडा, दुःख, रोदन र सन्तानको जीवन बलिदान भएको हेरिरहन वाध्य बनाइयो । नेपाली आमाको मुहारमा खुसी ल्याउन हामी सबै हातमा हात मिलाएर देशको विकासमा केन्द्रित हुनु अति नै आवश्यक छ ।

प्रत्येक दिन हजारौं नेपाली श्रमको खोजीमा खाडी मुलुक जान रोकिनुपर्छ । देशमै रोजगारीको प्रत्याभूति हुनुपर्छ । विकसित मुलुकमा पलायन भइरहेका प्रत्येक देशप्रेमी नेपाली स्वदेश फर्किने वातावरणको निर्माण हुन जरुरी छ ।

वास्तवमा नेपाल विकास नहुनुमा शासनप्रणाली मात्र दोषी छैन्, राजनीतिक नेताहरूको स्वार्थ, आफू र आफनो पार्टी भन्दा देशको माटो ठूलो हो भन्ने मानसिकताको विकास नहुनु हो । नीति नियम निर्माण गर्दा देशलाई भन्दा आफू र आफनो पार्टीलाई बढि प्राथमिकता दिने सोचले गर्दा यस्तो भएको हो ।

अर्कोतर्फ व्याप्त भ्रष्टाचार, ढिलासुस्ती जस्ता दीर्घ रोगले गर्दा देशले विकासको फड्को मार्न सकेको छैन् । राजनीतिको अर्थ समाजसेवा गर्नु हो भन्ने मानसिकता विकास हुनै सकेन जसले गर्दा आज नेपाल आमाको गहभरि आंसु टलपलाई रहेको छ । हरेक नेपालीहरुको मनमा देशप्रेम हुन जरुरी छ । देशको विकास सम्पूर्ण नेपालीको सर्वोत्तम मुद्दा बन्नुपर्छ । राजनीतिक दल आर्थिक विकासमा केन्द्रित हुनु अति आवश्यक छ ।

अबको दश बीस वर्षमा देशको मुहार फेर्नु छ अनि विकसित देशमा पलायन भएका नेपालीहरू आफ्नै मातृभूमि सम्झेर फर्किनेछन् । श्रमको खोजीमा जन्मभूमि, घरपरिवार छोडी बिरानो मुलुकमा पसिना बगाउन छाड्ने छन् । देशमा सुनौलो भविष्य निर्माण हुने वातावरण सिर्जना गरी स्वर्गरुपी गगनमा रम्न सम्पूर्ण नेपालीहरू लालायित हुनेछन् । प्राकृतिक छटाहरूको विमान चढी वीर नेपालीहरु देशको परिवर्तनशील मुहार हेरी नतमष्तक हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक