आइएस नहार्दासम्म लडाईं जारी – राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति । तस्विर- एपी

वासिङ्टन, १७ माघ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबारको एक विशेष सम्बोधनका क्रममा उत्तर कोरिया अझै पनि अमेरिकाका लागि खतरा हुनसक्ने बताउनुभएको छ ।

मङ्गलबार देशवासीका नाममा सम्बोधनगर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो– ‘उत्तर कोरियाले अझै पनि विश्व समुदायको कुरा नसुनेर अत्यन्त गैरजिम्मेवार ढङ्गले आणविक क्षेप्यास्त्र बनाइरहेको बताएको छ, यसले अमेरिकाको कुनै भू–भागलाई लक्ष्य बनाउन पनि सक्छ ।’

उहाँले आफूले अर्थात अमेरिकाले र लगभग विश्वले नै उत्तर कोरियाको यो शस्त्रको होड रोक्नका लागि आजका मितिसम्म निकै ठूलो प्रयत्न गरिरहेको पनि बताउनुभयो ।

उहाँले सो सम्बोधनका क्रममा भन्नुभयो– ‘हामीले सम्भावित सो त्रास हटाउन र सम्भवत यस्तो हतियारको होडबाट कुनै पनि घटना हुन नदिन प्रयत्न गरिरहेका छौँ, तर उत्तर कोरियाले कसैको कुरा सुनेको जस्तो लागेको छैन जुन उसको मुर्खता मात्र हो ।’

राष्ट्रपति ट्रम्पले सो सम्बोधनका क्रममा रुस र चीनलाई पनि उनीहरुले अमेरिकी चाहना, अर्थतन्त्र र मूल्य मान्यताहरुलाई चुनौती दिइरहेको आरोप लगाउनुभयो ।

उहाँले उत्तर कोरियालाई वार्ताको टेबलमा ल्याउनका लागि अमेरिकाले पहल गरिरहेको जानकारी दिनभयो । अमेरिकी विदेशमन्त्री र रक्षामन्त्रीले उत्तर कोरियाली नेतालाई वार्ताको टेबलमा ल्याउन अनेक प्रयासहरु जारी राखेको खुलासा पनि उहाँले गर्नुभयो ।

उत्तर र दक्षिण कोरियाबीच हालै भएको द्विपक्षीय वार्तापछि वातावरणमा केही सहजता आएको भए पनि उत्तर कोरिया वार्ताका लागि पूरै तयार भने भइ नसकेको पनि उहाँले बताउनुभयो ।

यही जनवरी ९ मा उत्तर र दक्षिण कोरियाबीच दुई वर्षपछि पहिलो पटक मन्त्रीस्तरको उच्चस्तरमा वार्ता भएको छ । करिब दुई वर्षपछि भएको यस भेटवार्तालई दुई कोरियाको सम्बन्ध सुधारका रुपमा विश्वमा नै प्रचार गरिएको छ ।

यस वार्तालाई अमेरिकाले पनि निकै नजिकबाट हेरेको जनाएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड टम्पले सो वार्ताको स्वागत गर्नुभएको थियो । उहाँले उत्तर कोरियासँग वार्तामा बस्न अमेरिका तयार रहेको सोही समयमा सार्वजनिक गर्नुभएको थियो ।

राष्ट्रपति ट्रम्पले आवश्यक परेमा आफूले उत्तर कोरियाली नेतासँग पनि वार्तागर्ने धारणा पनि त्यसै समयमा सार्वजनिक गर्नुभएको समाचारमा आएको थियो ।

उहाँले दुई कोरियाली वार्ताका कारण पछिल्लो समयमा विकसित परिस्थितिबाटै अघि बढ्न र कोरियाली प्रायद्धीपमा जारी अशान्तिको अवस्थाको अन्त्य गर्न पनि दुबै कोरियाली नेतृत्वसँग आग्रह गर्नुभएको थियो ।

अर्को महिना दक्षिण कोरियामा आयोजना हुन लागेको शीतकालीन ओलम्पिक खेलमा उत्तर कोरियाको सहभागिता र उक्त खेलको तयारीको बारेमा आवश्यक छलफलका लागि उत्तर र दक्षिणका बैठकहरु कोरियामा बसिरहेका छन् ।

शरणार्थीका लागि समन्वय गर्न आग्रह 

यसैबीच अमेरिकी प्रशासनले विभिन्न ११ देशका शरणार्थीमाथि लगाउँदै आएको प्रतिबन्ध हटाइएकोमा त्यस विषयमा समन्वयात्मक रुपमा मिलेर अघि बढ्न पनि राष्ट्रपति ट्रम्पले आग्रह गर्नुभएको छ ।

अमेरिकी अधिकारीहरुले सोमबार सो प्रतिबन्ध हटाइएको जानकारी गराएका छन् । यसअघि ‘अति जोखिमपूर्ण’ अवस्थाका भनी परिभाषित गरिएका उनीहरुलाई अब अमेरिका प्रवेशमा रोक लगाइने छैन ।

ती ११ देशका नागरिकहरुले अब अमेरिका प्रवेश गर्न पाउने र उनीहरुले सुरक्षासम्बन्धी नयाँ व्यवस्थाको सामना गर्नुपर्ने नियम सार्वजनिक गरेको भोलिपल्टै राष्ट्रपति ट्रम्पले यस विषयमा कामकगर्ने अमेरिकी र सबैलाई मिलेर अघि बढ्न भनेको जानकारी पनि दिनुभएको छ ।

यसरी प्रतिबन्ध हटाइएका देशहरुमा इजिप्ट, इरान, इराक, लिबिया, माली, उत्तर कोरिया, सोमालिया, दक्षिणी सुडान, सुडान, सिरिया र यमन रहेका छन् ।

आइएस नहार्दासम्म लडाईं जारी 

यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक स्टेट (आइएस) नामको आतङ्ककारी समूहलाई पूर्ण रुपमा पराजित नगर्दासम्म उसका विरुद्धको अमेरिकी लडाईं जारी नै रहने पनि सो सम्बोधनका क्रममा बताउनुभएको छ ।

‘गर्नुपर्ने काम अझै धेरै छ, हामीले आइएसका विरुद्धमा लडाईं जारी नै राख्ने छौँ र यो लडाईं उनीहरु पूर्ण रुपमा नहार्दासम्म जारी नै रहनेछ’- उहाँले भन्नुभयो- ‘उनीहरुलाई हामीले आवश्यक परेको स्थानमा खोज्ने छौँ, लखेट्ने छौँ र हराएरै छोड्ने छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री