सुकीको निवासमा बम विस्फोट

याङ्गुन, १८ माघ – म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुकीको निवासमा बिहीबार बिहान बम विस्फोट गराइएको छ । उहाँको निवास परिसरमा बाहिरैबाट विस्फोटक पदार्थ पेट्रोल बम हानिएको समाचारमा जनाइएको छ ।

पेट्रोल बम हानिएको तर त्यसबाट कुनै क्षति भने नभएको समाचारमा जनाइएको छ । सो बम विस्फोटबाट लागेको आगो सुरक्षाकर्मीले तत्कालै निभाएका थिए ।

राज्य परिषदका महानिर्देशक उ जवा हतीले भन्नुभयो– ‘उहाँको निवासमा बम हानिएको थियो, त्यो पेट्रोल बम थियो । तर समयमै आगो निभाएकोले क्षति हुन पाएन ।’

आक्रमणकारीहरुको खोजी जारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘बिहीबार बिहान सबेरै भएको सो आक्रमणका दोषीहरुको खोजीकार्य सुरु भएको छ र त्यसका लागि स्थानीय प्रहरी परिचालन गरिएको छ ।’

विदेशमन्त्री सुकी हाल नेपितवमा रहेको बेला बम आक्रमण भएको हो । बम कसले र किन विस्फोट गराएको हो भन्ने बारेमा केही आएको छैन । साथै बम के कति मात्रामा शक्तिशाली हो र त्यसमा कति जनाको संलग्नता हुनसक्छ भन्ने बारेमा पनि म्यानमारको सुरक्षा प्रमुखका तर्फबाट केही बताइएको छैन ।

पछिल्लो समयमा यहाँका रोहिङ्ग्या समुदायका नागरिकमाथि म्यानमारको सैनिक ज्यादति बढेको भनी भागेर बङ्गलादेशमा शरणार्थीका रुपमा पुगेपछि म्यानमारको सरकार र विशेषगरी सुकीमाथि ठूलो दबाब परेको छ ।

विश्वकी प्रजातन्त्रवादी नेत्री तथा नोवेल शान्ति पुरस्कार विजेताजस्तो व्यक्तिले देशको शासनको बागडोर सम्हालेको बेला देशभित्रैका नागरिक यसरी लखेटिएर शरणार्थीको रुपमा विदेशिनुपरेको भन्दै उहाँको नै बढी आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री