सिरियाली विद्रोहीले रुसी युद्धक विमान खसालिदिए

दमास्कस, २१ माघ – सिरियाली विद्रोही समूहले रुसको एक युद्धक विमानमा हमला गरेको समाचार छ ।

उक्त विमानलाई उनीहरुले आक्रमण गरेपछि विमानले अकस्मात अवतरण गरेको थियो । विमानलाई अस्त्र आक्रमणबाट झारेपछि त्यस विमानका चालकको केही समय उक्त सशस्त्र समूहसँग झडप परेको थियो ।

सशस्त्र समूहका सदस्यहरुमध्ये कतिपयले ती चालकलाई नियन्त्रणमा लिन खोजेका थिए भने केहीले आक्रमण गरेका थिए ।

तर झडपकै क्रममा उनको ज्यान गएको थियो । उनीहरुले झडप गरेको र पछि चालक मारिएको तस्विर पनि सामाजिक सञ्जालमा राखिएको थियो ।

ब्रिटिश स्काई टिभीले भनेको छ– ‘उक्त विमानले सिरियाली उत्तरपश्चिमी क्षेत्र इडलिबमा क्षेप्यास्त्र हान्ने योजना बनाएको थियो । सो सूचनापछि विद्रोहीहरुको समूहले उक्त विमानलाई नै तारो बनाए ।’

इडलिबमा विगत केही महिनादेखि नै रुसी विमानले आक्रमण गर्ने गरेको छ । उक्त विमानले पनि क्षेप्यास्त्र हान्ने तयारी गरेको थियो ।

सो क्षेत्रमा दुई वर्षमात्र अघि पनि विद्रोहीहरुले टर्कीको एक युद्धक विमानमाथि हमला गरेर खसालिदिएका थिए ।

विमान सिरियाली सरकारी सेनाले नै खसालेको भनी टर्कीले दाबी गरेपछि सिरिया र टर्कीबीच सम्बन्ध विग्रिएको थियो ।

रुसी रक्षा मन्त्रालयले शनिबार भएको रुसी विमानमाथिको हमलाको पुष्टी गरेको छ । उसले सिरियाली विद्रोहीले हमला गरी रुसी विमान खसालेको र त्यसमा रहेका विमान चालकको पनि निधन भएको बताएको छ ।

घातक रासायनिक हतियार प्रयोग गरिएको छैन–सिरिया 

यसैबीच सिरिया सरकारले विद्रोहीहरुका विरुद्ध आफ्नो देशमा घातक रासायनिक हतियार प्रयोग गरिएको भनी अमेरिकाले लगाएको आरोपको खण्डन गरेको छ ।

अमेरिकाले सिरियाली सेनाले देशको पूर्वी घटुल क्षेत्रमा विद्रोहीविरुद्धको कारबाहीका क्रममा मानव स्वास्थ्यमा अत्यन्तै नराम्रो असर पार्ने घातक रसायन मिसाइएका हातहतियार प्रयोग गरेको जनाएको थियो ।

सिरियाली विदेश मन्त्रालयले शनिबार विज्ञप्ति प्रकाशन गरी अमेरिकाले लगाएको सो आरापको खण्डन गरेको छ र आफूहरुले यस्ता हतियारहरुको प्रयोग नगरेको भनी स्पष्ट गरेको छ ।

सिरियाले त्यहाँका विद्रोही र विपक्षीहरुलाई दबाउने क्रममा यस्ता प्रकारका हतियारहरुको प्रयोग गर्ने गरेको भनी पहिलेदेखि नै अमेरिका र संयुक्त राष्ट्रसंघले अनुसन्धान र अनुगमन गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री