बङ्लादेशकी पूर्व प्रधानमन्त्रीलाई पाँच बर्ष जेल सजाय

ढाका, २५ माघ – बङ्लादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई पाँच बर्षको जेल सजाय फैसला भएको छ । भ्रष्टाचार अरोपमाथि अन्तिम सुनुवाई गर्दै अदालतले जियालाई पाँच बर्ष जेल सजायको फैसला सुनाएको हो ।

कडा सुरक्षा व्यवस्थाबीच यहाँको विशेष अदालतका न्यायाधिश मोहम्मद अख्तारुज्जमानले ६३२ पृष्ठ लामो फैसला बिहीबार गर्नुभएको अधिकारीहरूले जनाएका छन् ।

अदालतले खालिदाका छोरा तारिक्यु रहमानसहित पाँच जनालाई दश दश बर्षको जेल सजाय सुनाएको छ ।

बङ्लादेशका कानून मन्त्री अनिसुल हकले पत्रकारसँग भन्नुभयो, ‘उहाँ (खालिदा जिया) लाई बिहीबार नै जेलमा लगिनेछ ।’

जियाले अहिलेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिन सक्ने पनि मन्त्री हकले बताउनुभयो ।

खालिदा जियासहित पाँच जना विरुद्धको भ्रष्टाचार सम्बन्धि मुद्दा सन् २००८ को जुलाईमा दर्ता भएको थियो । सन् २००१ देखि २००६ सम्म खालिदा बङ्लादेशको प्रधानमन्त्री बनेकी थिइन् ।

जियाले वर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको सरकारले आफू र आफ्नो छोरा विरुद्ध राजनीतिक प्रतिशोध राखेर भ्रष्टाचार मुद्दा लगाएको आरोप लगाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री