बेलायतमा वर्षेनी बीस करोड टन फोहोर कसरी हुन्छ 
व्यवस्थापन ?

लन्डन । लन्डन क्वीन्सबरीका डम्बर सुब्बालाई बिहीबार राती अलिक चटारो हुन्छ । शुक्रबार बिहान सबेरै हयारो काउन्सिलको गाडी फोहोर उठाउन आउने तालिका भएकाले बिहीबार राती नै घर अगाडि सडक छेउमा बिन ओसार्न उनी व्यस्त हुन्छन् । 
‘एउटा शुक्रबार जनरल वेस्टको हरियो बिन र अर्को शुक्रबार रिसाइकल हुने फोहोरको निलो बिन लान्छ’, सुब्बा भन्छन्, ‘बेग्लै प्लास्टिकभित्र राखिएको किचेन वेस्ट बिन भने प्रत्येक शुक्रबार उठाउंछ ।’ गार्डेनबाट निस्कने फोहोर जस्तै झारपात, सुकेका 
बोटबिरुवा वा अन्य फोहोर खैरो बिनभित्र राखिदिनु पर्छ । तर, यो वापत काउन्सिललाई बेग्लै शुल्क तिर्नुपर्ने सुब्बाले बताए ।

विगत १६ वर्षदेखि क्वीन्सबरी टर्नर रोड बस्ने सुब्बा गलत बिनमा फोहोर हाले काउन्सिलले नउठाउने र जरिवाना समेत तिराउने सुनाउंछन् । ‘पहिला पहिला त किचन र गार्डेनबाट निस्कने फोहोर खैरो बिनमा मिसाए पनि हुन्थ्यो’, सुब्बा नियम बताउंछन्, ‘अहिले किचनका लागि सानो बेग्लै बिन दिएको छ । बायो डिग्रेडेबल ब्याग वा पत्रिकामा पोको पारेरमात्र फोहोर राख्न पाइन्छ नत्र जरिवाना लाग्छ ।’

फुड स्टयाण्डर्डस एजेन्सीका अनुसार बेलायतमा वर्षेनी ५५ लाख मानिस फुड पोइजनको शिकार हुने कारण पनि किचन वेस्ट अलिक गम्भीर मानिन्छ ।

ठूल ठूला धातु, ब्रिगिएका मेसिन, काम नलाग्ने तेल वा केमिकल, रंग लगाइ सकेर फालिएका भांडा आदि भने कि पैसा तिरेर कुनै कम्पनीमार्फत फाल्नुपर्छ कि आफैं ल्याण्डफिल साइट गएर फाल्न सकिन्छ ।

बेलायतमा वर्षेनी बीस करोड टन भन्दा बढी फोहोर उत्पादन हुने तथ्यांक छ । तर, जनचेतना, उचित नियम कानुन र 
प्रविधिका कारण फोहोर व्यवस्थापन सहज छ यहां । बेलायतका स्थानीय काउन्सिलहरुले गर्नुपर्ने धेरै काम मध्ये फोहोर मैला ब्यवस्थापन पनि प्रमुख रहेको डार्टफोर्ड काउन्सिलर डा. बच्चुकैलाश कैनी बताउंछन् ।

‘काउन्सिललाई जनताले तिर्ने करको निश्चित प्रतिशत यही काममा खर्च हुने गरेको छ । फोहोर मैला ब्यवस्थापनका लागि बेलायतका काउन्सिलहरुले निजी कम्पनीलाई निश्चित अवधिको लागि ठेक्का दिएका हुन्छन्’, कैनीले भने, ‘बेलायतमा जलाउने, पुनः प्रयोग गर्ने र ल्याण्डफिल साइटमा पुर्ने गरी तीन मुख्य किसिमले फोहोर व्यवस्थापन गरिन्छ । हरेक काउन्सिलको आफ्नै ल्याण्डफिल साइट हुन्छ ।’

यहां सकेसम्म एकदम थोरै फोहोर मात्रै ल्यान्डफिल साइटमा 
लैजान प्रोत्साहित गरिन्छ । ‘डार्टफोर्ड काउन्सिलमा घरबाट उठ्ने फोहोरको एक प्रतिशत भन्दा पनि कम फोहोर मात्रै ल्यान्डफिल साइटमा लगिन्छ’, कैनी भन्छन्, ‘अधिकांश फोहोर विभिन्न तरिकाबाट ब्यवस्थापन गरिन्छ । फोहोर संकलनका लागि फोहोर उत्पादन हुने ठाउंमा नै विभिन्न भांडोमा छुट्टयाएर राख्न छुट्टा छुट्टै बिन उपलब्ध हुन्छन् ।’

बेलायतका प्रायजसो काउन्सिलले साताको एकदिन फोहोर 
उठाउने गरे पनि केही काउन्सिलले भने हरेक दुई सातामा एक पटक फोहोर उठाउने गर्छन् ।

सन् २०१६ मा बेलायतमा घरबाट निस्कने फोहोर मध्ये करिव ४४ प्रतिशत पुनः प्रयोग भएको तथ्यांक छ । फोहोर पुनः प्रयोग गर्ने हरेक काउन्सिलले आ आफ्नै लक्ष्य राखेका हुन्छन् र उक्त लक्ष्य प्राप्त भयो वा भएन अनुगमन पनि गर्छन् । ‘मेरो काउन्सिल (डार्टफोर्ड) मा घरबाट निस्कने फोहोरको करिब ४० प्रतिशत पुनः प्रयोग गर्ने लक्ष्य राखिएपनि आर्थिक वर्ष २०१५, १६ मा 
करिब २६ प्रतिशत मात्रै पुनः प्रयोग हुन सकेको तथ्यांक छ’, कैनीले भने ।

बेलायतका काउन्सिलहरुले फोहोर मैला व्यवस्थापन गर्न जनचेतना बढाउने विभिन्न कार्यक्रम सञ्चालन गर्छन् । हरेक काउन्सिलको फोहोर ब्यवस्था गर्न नीति नियम नै हुन्छ । पुन 
प्रयोग हुने फोहोर फाल्न एक निश्चित ठाउंको व्यवस्था हुन्छ । घरमा नै आएर विभिन्न खालका काम नलाग्ने सामानहरु शुल्क लिएर उठाइदिने व्यवस्था पनि छ । त्यसै गरी जथाभावी फोहोर फाल्नेलाई जरिवाना गर्ने, फोहोर फालेको निरीक्षण गर्न 
निरीक्षकहरुको व्यवस्था गर्ने र ठाउं ठाउंमा सीसी क्यामेराको पनि व्यवस्था हुन्छ ।

के भर्खरै निर्वाचित जनप्रतिनिधिहरु पाएको नेपालका स्थानीय निकायहरुले अमेरिका, बेलायतजस्ता विकसित मुलुकको फोहोर मैला व्यवस्थापन अभ्यासबाट केही सिक्न सक्छन् ? विज्ञहरु भन्छन् अवश्य सक्छन् ।

‘ब्रिटेनमा अहिले पनि ५० प्रतिशत फोहोर ल्याण्डफिल साइटमा पठाइन्छ भने अमेरिकामा झण्डै ५४ प्रतिशत । क्यालिफोर्नियामा स्थानीय वासिन्दाले तीनवटा बिनमा फोहोर जम्मा गर्छन् जुन स्थानीय नगरपालिकाले हरेक साता उठाउने गर्छ’, संयुक्त राज्य अमेरिकाको फ्रेस्नोस्थित क्यालिफोर्निया स्टेट युनिभर्सिटीमा भूगोल तथा शहरी एवं क्षेत्रीय योजना विभागका सहप्राध्यापक डा. मोहन डांगीले भने ।

नेपालमा पनि फोहोरलाई पुनर्प्रयोग गर्न मिल्ने, जैव अपघट्य 
(बायोडिग्रेडेबल) तथा अकृय (इनर्ट) भनेर तीन वर्गमा विभाजन गरी छुट्याउन सकिने सम्भावना देख्छन् डांगी । ‘काठमाडौंको ७१ प्रतिशत फोहोर जैविक तथा घरेलु फोहरमैला छ, जसलाई सुकाएर जैविक मल बनाउन सकिन्छ’, डांगीले भने, ‘तर समस्या के हो भने हामीकहां काठमाडौं जस्तो महानगरमा पनि ठूलो स्तरमा फोहोरलाई कम्पोस्ट बनाउने सुविधा उपलब्ध छैन् । त्यस्तै अकृय फोहोर व्यवस्थापनकालागि दुई वा दुईभन्दा बढी नगरपालिकाले मिलेर काम गर्नु उचित हुन्छ ।’

डा. डांगी फोहोर भन्नासाथै फ्यांक्नैपर्छ भन्ने मानसिकताबाट मुक्त भएर काठमाडौंजस्ता महानगरहरुले एकीकृत फोहोर 
व्यवस्थापन पद्दति अपनाउनु पर्ने सुझाव दिन्छन् । ‘फोहोरलाई 
श्रोतमै घटाउने, पुनर्प्रयोग गर्ने, कम्पोस्ट वा फोहोर रुपान्तरण गर्ने र त्यसपछि मात्रै त्यसलाई व्यवस्थितरुपमा तह लगाउने काम गर्नुपर्दछ’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री