प्लमस्टिडमा डायमन्ड बुद्धिष्ट सेन्टर यूकेको धार्मिक प्रवचन


लन्डन । डायमन्ड बुद्धिष्ट सेन्टर यूकेले बौद्ध धर्मको धार्मिक ग्रन्थ दोमाङ (द्योमाङ) अर्थात धारिणी ग्रन्थबारे एक प्रवचन कार्यक्रम गरेको छ । ११ फेब्रुअरी २०१८, आइतबार 
लन्डन प्लमस्टिडस्थित गेसो सभाहलमा प्रवचन भएको हो ।

कार्यक्रममा दोमाङ ग्रन्थलाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका विद्वान गुरु खिम्पो वागिन्द्र शिला (नन्दलाल तिमिल्सिना) ले बौद्ध धर्मबारे प्रकाश पार्दै दोमाङको महत्वपूर्ण ज्ञान सम्वन्धमा सहभागीलाई प्रष्ट्याए ।

नेपाली भाषामा सम्भोट भाषाबाट दोमाङ ग्रन्थलाई पहिलो पटक अनुवाद गर्ने श्रेय नेपाली नागरिकता वाहक खिम्पो वागिन्द्र शिला र उनका सहयोगीहरुलाई जान्छ । प्रवचनमा अहिलेसम्म तिब्बेतीयन भाषामा पाठ पूजा गर्दै आएका नेपाली महायानी बौद्धमार्गीले अब उपरान्त आफ्नै नेपाली भाषामा पाठ पूजा गर्न सक्ने गुरु वागिन्द्र शिलाले बताएका थिए ।

डायमन्ड बुद्धिस्ट सेन्टर यूकेका अध्यक्ष सुमलकुमार गुरुङको संयोजनमा सम्पन्न उक्त धार्मिक कार्यक्रमलाई संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष हितमान गुरुङले स्वागत मन्तव्य प्रकट गरेपछि गुरुद्वारा झण्डै ३ घण्टाको प्रवचन भएको थियो । शुरुमा श्रद्धालुले गुरुहरुलाई परम्परागत रुपमा धार्मिक स्वागत गरेका थिए ।

कार्यक्रममा अन्य दुई गुरु ढुप्ला बज्र लोपेन जनता गुरुङ र आचार्य दुर्गा गुरुङले खिम्पो वागिन्द्र शिलालाई साथ दिएका थिए ।
प्रवचनकै क्रममा साउथ इष्ट रिजनल तमुधिं लन्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले ढुप्ला बज्र लोपेन जनता गुरुङलाई गुरुङहरुको मृत्यु संस्कारबारे जिज्ञासा राखेपछि उनले त्यस 
संस्कारबारे प्रष्ट पारेका थिए ।

सो अवसरमा भक्तजनहरुले अनुवाद गरिएको दोमाङ ग्रन्थका डेढदर्जन जति थान पाठपूजाका लागि खरिद गरी गुरुको हातबाट ग्रहण गरेका थिए ।

अन्त्यमा संस्थाका अध्यक्ष गुरुङले कार्यक्रम प्रायोजक तथा गुरुहरुप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री