केन्यामाथि नेपालको ३ विकेटको रोमाञ्चक जित, शीर्ष दुईमा पर्ने सम्भावना बलियो

काठमाडौं- नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिन डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको छ । सोमबार वीन्डहोक मैदानमा भएको खेलमा नेपालले केन्यामाथि ३ विकेटको जित हासिल गरेको हो ।

टस हालेर ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट क्षतिमा १ सय ७७ रन जोडेको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ७ विकेटको क्षतिमा अन्तिम बलमा १ सय ७८ रनको लक्ष्य भेट्टायो ।

नेपालका लागि आरिफ शेख र रोहित पौडेल महत्वपूर्ण साझेदारी गरे । यी दुई युवा ब्याटसम्यानले छैटौ विकेटका लागि ८७ रनको  साझेदारी गर्दै टिमलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेले । २ चौका प्रहार गरेका आरिफले ४२ रन जोडे भने २ चौका प्रहार गरेका रोहित ४७ रनमा रनआउट भए । कप्तान पारस खड्काले ४२ रन जोडे, उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

यस्तै, शरद भेषावकरणले १ चौका प्रहर गर्दै १९ रन जोडे । ओपनर ज्ञानेन्द्र मल्ल ९ तथा अनिलकुमार शाह शुन्य रनमै आउट भए । दीपेन्द्रसिंह ऐरी १ रनमा आउट भए भने विजयी रन बटुलेका सोमपाल कामी ५ रनमा अविजित रहे ।

बलिङतर्फ केन्याका इम्यानुयल बुण्डीले ३ विकेट लिए भने नेहेमोन ओडिम्बो, शो नोग्चे र नेल्सन ओडिम्बोले एक एक विकेट हात पारे । नेपालको एक रनआउट भएको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको केन्याका लागि ओपनरद्धय इफरान करिम र एलेक्स ओबाडाले महत्वपूर्ण साझेदारी गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे । करिमले ४२ रन जोडे भने ओबाडाको नाममा ४१ रन रह्यो ।

नेपालका लागि महत्वपूर्ण सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरका नाममा एक एक विकेट रह्यो ।

केन्यामाथिको जितसँगै नेपालको शीर्ष दुईमा पर्ने सम्भावना बलियो भएको हो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो थियो दोस्रो खेलमा ओमानसँगग ६ विकेटले पराजित भएको थियो । हिजो भएको समूहको तेस्रो खेलमा नेपालले बलियो प्रतिस्पर्धी मानिएको युएईलाई ४ विकेटले पराजित गरेको थियो ।

एक दिवसीय स्टाटसको ढोका खुल्ने भएकाले पनि डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिता मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री