‘बक्स अफिस’ ले चलचित्र उद्योग व्यवसायिक बनाउने विश्वास

सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत चलचित्र सम्बन्धी कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन लागु भएको विद्युतिय टिकेटिङ प्रणाली (बक्स अफिस) केन्द्रीय सर्भरको मंगलबार काठमाडौँको थापाथलीमा उदघाटन गर्दै । तस्वीर – भीष्मराज ओझा, रासस

काठमाडौँ, १ फागुन – सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले चलचित्रसम्बन्धी कारोवारलाई व्यवस्थित र पारदर्शी बनाउन लागू भएको विद्युतीय टिकेटिङ प्रणाली (बक्स अफिस) ले चलचित्र उद्योगलाई थप व्यवसायिक बनाउने बताउनुभएको छ ।

नेपाल चलचित्र विकास बोर्डको सक्रियतामा आजदेखि लागू भएको ‘बक्स अफिस’ को उद्घाटनपछि मन्त्री बस्नेतले अर्बौंको लगानी र हजारौँले रोजगारी पाएको चलचित्र क्षेत्र अब आर्थिक दृष्टिले समेत पारदर्शी हुने धारणा व्यक्त गर्नुभयो । विगतमा ‘बक्स अफिस’ लागू गर्ने सम्बन्धमा धेरै बहस भए पनि आवश्यक समन्वयको कमीले लागू हुन नसकेको बताउँदै उहाँले सरोकारयुक्त सबैको सहयोग र सक्रियताले आजदेखि लागू भएकामा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा चलचित्र बोर्डका अध्यक्ष निकिता पौडेलले बोर्डको लगानी र सक्रियतामा ‘बक्स अफिस’ लागू हुन लागेको अवगत गराउँदै यसलाई सफल बनाउन सरोकारयुक्त सबैको सहयोगको अपेक्षा गर्नुभयो ।

कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, नेपाल चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतले ‘बक्स अफिस’ ले चलचित्र क्षेत्र व्यस्थित र थप मर्यादित भई उद्योगका रुपमा स्थापना हुने धारणा व्यक्त गर्नुभयो ।

यही फागुन ७ गतेभित्र काठमाडौँ उपत्यकाका सम्पूर्ण विद्युतीय टिकेटिङ प्रणाली जडान भएका मल्टिप्लेक्स चलचित्र घरमा चलचित्र घर र केन्द्रीय सर्भरबीच लिंक गर्न आवश्यक उपकरण उपलब्ध गराइने बोर्डले जनाएको छ । केन्द्रीय सर्भर काठमाडौँको थापाथलीमा स्थापना गरिएको छ । पहिलो चरणमा उपत्यकामा लागू गर्न आगामी असार ३१ गतेसम्म उपत्यकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण चलचित्रघरमा विद्युतीय टिकेटिङ प्रणाली जडान गरी केन्द्रीय सर्भरसम्म लिंक गरेर पूर्णरुपमा लागू गरिने बताइएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री