पशुपतिमा भक्तजनको भीड, राष्ट्रपति र उपराष्ट्रपति पनि सरिक

शिवरात्रिको पूर्व सन्ध्यामा सोमबार राति झिलीमिली भएको पशुपतिनाथ मन्दिर । तस्वीर – रोशन सापकोटा, रासस

काठमाडौँ, १ फागुन – महाशिवरात्रिका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले पशुपतिनाथ मन्दिरमा पूजा एवम् दर्शन गर्नुभएको छ ।

राष्ट्रपति भण्डारी र उपराष्ट्रपति पुनलाई पूजा एवम् दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कोष सञ्चालक परिषद् सदस्य एवम् प्रचारप्रसार उपसमिति संयोजक घनश्याम उपाध्यायले दिनुभएको जानकारीअनुसार धेरै भक्तजन लाममा बस्नुभएकाले उहाँहरूले छोटो समयमा पूजा एवम् दर्शन गर्नुभएको थियो ।

पूजा एवम् दर्शनका लागि पहिले उपराष्ट्रपति पुन पशुपति मन्दिर पुग्नुभएको थियो । उपराष्ट्रपति पुन फर्कनुभएको आधा घण्टापछि राष्ट्रपति भण्डारी पूजा एवम् दर्शनका लागि पशुपति पुग्नुभएको थियो ।

दिउँसो १ बजेसम्म पशुपतिनाथ मन्दिरभित्रै छिरेर चार लाख भक्तजनले पूजा एवम् दर्शन गरेको उहाँले जानकारी दिनुभयो । यसवर्ष पशुपतिनाथ मन्दिर प्रवेश गर्ने भक्तजनको आधिकारिक तथ्यांक लिन विशेष व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने मूलढोकामा नेपाल स्काउटले तथ्यांक संकलनका लागि कुपनको व्यवस्था गरेको जनाइएको छ ।

यस वर्षको महाशिवरात्रिमा पशुपति क्षेत्रमा बढी व्यवस्थित भएकाले मालबाहक बाहेकका सार्वजनिक सवारी साधन गौशाला–चावहिल सडकमा नरोकिएको कोषले जनाएको छ । यसले गर्दा दर्शनार्थी एवम् यात्रुलाई सुविधा पुगेको थियो । बिहान सिमेसिमे पानी परेपनि भक्तजनको भीड लागेको थियो ।

यस वर्ष १३ लाख भक्तजनले पशुपतिमा पूजा एवम् दर्शन गर्ने कोषको प्रारम्भिक अनुमान छ । आज मध्यरातसम्म नै भक्तजनको पशुपतिमा पूजा एवम् दर्शनका लागि भीड लाग्ने गर्छ ।

महाशिवरात्रिका अवसरमा मंगलबार बिहानैदेखि भक्तपुरको डोलेश्वर मन्दिरमा भक्तजनको भीड । तस्वीर – नवीन पौडेल, रासस

महाशिवरात्रिमा पशुपतिमा भक्तजनको भीड

सिमसिमे पानीको बाबजुद पनि महाशिवरात्रिका अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३.१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो ।

पशुपति दर्शनका लागि तीनतिरबाट मूल मन्दिर छिर्ने व्यवस्था गरिएको छ । पिङ्गलास्थान, चार शिवालय हुँदै दक्षिण ढोकाबाट, जयबागेश्वरी–भुवनेश्वरी हुँदै पश्चिम सानो ढोकाबाट र मित्रपार्क–उमाकुण्ड–वासुकी मन्दिर हुँदै तीनतर्फबाट पशुपति दर्शन गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

दर्शनार्थीलाई जुन ढोकाबाट प्रवेश गरेको हो त्यसैबाट निस्कने व्यवस्था मिलाइएको छ । यसवर्ष कति भक्तजनले दर्शन गरे भन्ने वास्तविक तथ्यांक लिन जुत्ता राख्ने स्थान र मूलढोकाबाट छिर्ने स्थानमा तथ्यांक संकलन समूह खटाइएको कोषले जनाएको छ ।

यसवर्षको शिवरात्रिमा १२ देखि १३ लाख दर्शनार्थीले मन्दिरमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री