जब राष्ट्रकवि सेनाको पोशाकमा ठांटिए…

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गर्नुहुँदै । तस्बिर सौजन्य- नेपाली सेना, रासस

काठमाडौँ, २ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथीको दरज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा राष्ट्रकवि घिमिरेलाई सहायक रथीको दरज्यानी चिह्न प्रदान गरिएको हो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ ।

साहित्यका माध्यमबाट राष्ट्रिय एकतालाई बलियो तुल्याउँदै राष्ट्रिय प्रेमले ओतप्रोत, राष्ट्रियता र स्वाभिमानलाई प्रवर्धन र उजिल्याउने काम गरेबापत उहाँलाई सरकारले माघ २६ गते सहायक रथीको मानार्थ उपाधि प्रदान गर्ने निर्णय गरेको थियो ।

समारोहमा राष्ट्रकवि घिमिरेले सैनिक ‘स्यालुट’ प्रस्तुत गर्दा उहाँको सम्मानमा सभाहल तालीले गुञ्जायमान भएको थियो । राष्ट्रकवि घिमिरेलाई उहाँको जन्मशताब्दी वर्षको उपलक्ष्यमा सरकारले सो उपाधि दिएको हो । विसं १९७६ असोज ७ गते लमजुङको बाहुनडाँडामा जन्मनुभएको राष्ट्रकवि घिमिरेलाई नेपाली साहित्यमा शिखरपुरुषका रुपमा लिइन्छ ।

उहाँका ‘नेपाली हामी रहुँला कहाँ नेपालै नरहे…’ लगायत राष्ट्रभक्तिले ओतप्रोत भएका सयौँका संख्यामा गीत र कविताहरु प्रकाशन-प्रशारण भएका छन् । सरकारले गैरसैनिक व्यक्तिलाई प्रदान गरेको यो सबैभन्दा माथिल्लो सैनिक उपाधि हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रिगण, पूर्वप्रधानन्त्रीहरु, सरकारका उच्च पदस्थ अधिकारीलगायत समाजका लब्धप्रतिष्ठित व्यक्तिको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाको इतिहास र वीरगाथा झल्कने वृत्तचित्र, गणेशबन्दना र सैनिक प्रण प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपालको विविधता झल्कने तामाङसेलो, शेर्पा, कौडा, मगौटा, झ्याउरे, हुडकेली, राष्ट्रिय र आधुनिक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री