प्रदेश नं ५ को मुख्यमन्त्रीमा पोखरेल, यस्तो छ राजनीतिक यात्रा

बुटवल, २ फागुन – प्रदेश नं ५ को मुख्यमन्त्रीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता शंकर पोखरेल नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख उमाकान्त झाले आज पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं ५ को मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका तर्फबाट सचिव सनतकुमार दवाडीले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

एमाले र नेकपा (माओवादी केन्द्र) को समर्थनसहित पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेश गर्नुभएको थियो ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा ‘५ नं प्रदेशमा कुनैपनि दलले बहुमत प्राप्त नगरेको अवस्थामा प्रदेशसभाको कूल ८७ सदस्यमध्ये एमालेको ४१ र माओवादी केन्द्रको २० गरी ६१ जना सदस्यको एमाले नेता पोखरेललाई समर्थनको निर्णयबमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको’ उल्लेख छ ।

नवनियुक्त मुख्यमन्त्री पोखरेलले बिहीबार अपराह्न २ बजे प्रदेश प्रमुखको निजी सचिवालयमा शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ ।

मुख्यमन्त्री पोखरेलले बिहीबार नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो ।

मुख्यमन्त्री पोखरेलको राजनीतिक यात्रा

प्रदेश नं ५ का नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेल विसं २०१९ फागुन १५ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १९, बिजौरीमा बुबा केशवराज शर्मा र आमा तिलका देवीको कान्छो सन्तानका रुपमा जन्मनु भएको हो । उहाँ हाल नेकपा (एमाले)को स्थायी कमिटी सदस्य हुनुहुन्छ ।

मुख्यमन्त्री पोखरेलकी श्रीमती एमाले नेत्री सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिव हुनुहुन्छ । उहाँका दुई छोरी छन् ।

वैचारिक दक्षता

विद्यार्थी छँदै राजनीतिमा प्रवेश गर्नुभएका मुख्यमन्त्री पोखरेलको वैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्य कुशलतालाई उदाहरणीय मानिन्छ । भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीको नेताको रुपमा उनीहरुको हकअधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी वहन गर्नुभएको छ ।

जननेता स्व मदन भण्डारीसँग निकै निकट रहेर काम गरेका पोखरेलले अनेरास्ववियुका अध्यक्ष, त्रिभुवन विश्वविद्यालयका स्ववियु सभापति जस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । विसं २०३६ मा भएको विद्यार्थी आन्दोलन, २०४५-४६ मा पञ्चायती व्यवस्था अन्त्यका लागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेल्नुभएका पोखरेलले २०६२-६३ को जनआन्दोलनमा काठमाडौँको मोर्चाबाट आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

हाल पार्टीमा पोखरेलले पार्टी स्कूल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षित गर्ने काममा पोखरेल निकै सक्रिय हुनुहुन्छ ।

एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट वैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायम गर्न सक्ने नेताहरुमध्ये एक मानिनुहुन्छ ।

माओवादी आन्दोलन उत्कर्षमा रहेको बेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लामा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नुभएको थियो ।

जनकपुरमा भएको एमालेको सातौँ महाधिवेशनमा पार्टीमा संविधानसभाको प्रस्ताव लैजाने उहाँ नै पहिलो व्यक्ति हुनुहुन्छ । अघिल्लो संविधानसभामा राज्य पुनःसंरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नुभएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उच्चस्तरको वैचारिक क्षमता र कुशल वक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ ।

‘मिनि नेपाल’ मुख्यमन्त्रीको सपना 

राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेतामध्ये हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयबाट एमबिए तहको अध्ययन पूरा गर्नुभएका पोखरेल भू–राजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये एक हुनुहुन्छ ।

आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचलाई पार्टीको नवौँ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाका रुपमा आत्मसात् गरेको छ । राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलतापछि अब मुलुक आर्थिक–सामाजिक विकास र रुपान्तरणको दिशामा अघि बढ्नु पर्दछ भन्ने उहाँ ५ नं प्रदेशको योजनावद्ध विकास गरेर ‘मिनि नेपाल’ बनाउन सकिने धारणा राख्नुहुन्छ ।

साहित्यिक सिर्जना 

विगतमा पार्टी सचिवको रुपमा काम गरिसक्नुभएका पोखरेलले सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, वैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचना प्रकाशित छन् । उहाँले साहित्य सिर्जनातर्फ पनि उत्तिकै सक्रियताका साथ कलम चलाउनुभएको छ । पोखरेलले ‘युगलहर’, ‘सिमानापारिको हुङ्कार’, ‘राष्ट्रिय विकल्प’, ‘राष्ट्रिय सङ्कल्प’ लगायत पत्रिका र साहियित्क रचना संग्रहको सम्पादन पनि गर्नु भएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री