बेकर स्ट्रिटमा उनी र म

बिहान उठेर झ्यालबाट बाहिर हेरें रातभर हिउं परेछ । फेब्रुवरी महिना, रात अलि छोटिंदै दिन अलि लम्बिंदै गएछ, खुसीको कुरा । सडक, घरका छाना, सर्वत्र हिउंले छोपेको सेत्ताम्मे निश्चल, स्वच्छ बिहान । छ बजे पनि अझै ओछ्यानमा छु । सडक बत्ती झलमल बलिरहेको छ । पार्कमा गएर स्वच्छ हिउं र हावामा टहलिन मन भए पनि अर्को मनले भन्छ “भो चिसोले सात्तो लिन्छ, टेम्प्रेचर जीरो डिग्री सेल्सियस ।”
चिया पिउंदै ल्यापटप खोलें । यो पनि पुरानो भएर हो, फन्फनी घुम्छ । खोलिन पनि नमानौंला झैं अल्छी गर्छ । जीवनमा पुराना भएका वस्तुको नयां आवरणको थपनी गर्न पनि कति गाह्रो । आउंछ एक हातमा, छिर्ने दूला कति हो कति ।
यस्तो बेला त लाग्छ जिन्दगी भनेको नै छिद्रैछिद्रा परेको एउटा वस्तु हो, जहां केही कुरा पनि स्थायी रूपमा अडिंदैन । हुन पनि जिन्दगीका खुसी, हांसो, पिर व्यथाहरू त्यस्तै हुन् नि, आउंछन्, जान्छन् कुन दुलोमा लुक्छन् बिलाउंछन् । बिहान टिभीमा आउने समाचारमा पनि मनले किन खाली नयां कुरा मात्रै खोज्छ ? किन के सोचेको होला ? समाचार त, हरेक दिन नयां नयां होस्, अनौँठो र उदेक लाग्दा मात्रै होस् । कस्तो चैं खोजेको होला, आफैंलाई आश्चर्य लाग्छ ।
आजको मुख्य समाचार बेलायती अर्थतन्त्र ट्रिपल रिसेसनमा डुब्दै छ । बेरोजगारीको सङ्ख्या बढ्दै छ । ओबामाको दोस्रो राज्यरोहण भर्खरै सकिएको छ, विश्वले अलि विश्वासको स्वास फेर्ने भएका छन् । युद्धको लगामलाई हातमा लिएको अमेरिकालाई अहिले ओबामालाई पाएर विश्वले अलि शान्त भएको छ । पहाडको उकालोमा भारी बोकेर हिंडेको भरियाजस्तै, आफ्नै कामले आफैंलाई भार भएको छ, अमेरिका ।
झ्यालबाट देखिने दृश्य त्यही पुरानो, बूढो चेरीको बोट, त्यसका हज्जारौं गाँठो परेका हांगाहरू । फूल र पात पलाउन लागेको तिनका गर्भधान अङ्ग प्रत्याङ्गहरूमा रातभरिको हिउं परेर धारिलो हिऊ जम्न र झर्नको दोसांधमा भएको साना सेता रास । पर सुदूरपूर्वमा झुल्कँदै गरेको घामको किरण कहिले आइपुग्ने हो र त्यो झर्दै गरेको पानीको थोपामा सप्तरङ्गी इन्द्रेनी फूल फल्ने हो वा कालो बादलले ढाक्ने हो थाहा छैन । त्यो धूपीको बूढो रूख पनि हिउंको भारी बोकेर कुप्रिएको छ । हांगा लच्केर भूंइतिर नुहेका छन् । सधैं आएर बात मार्ने रोविन चरीको जोडी र म्याक्पाइहरू विचरा जाडोमा कता लुके होलान् । जाडोमा, हरियो चौर, लाम्पसार छ हिउंको शरणमा ।
अल्छी गर्दै बल्ल ल्यापटपले पनि अनुहार खोली । कुनै बेला त यसलाई यस्तो लाग्छ कि घुंइक्याई दिऊं रिसाइकल बिनतिर । तर के गरम, काम चलेकै छ । म अरूजस्तो नयांको पछि दौडिने होइन । दौड्नेहरूलाई केले पो पुग्ला र, आज नयां छ, भोलि पुरानो । हरेक वस्तुको नयां प्रयोग, नयां प्रविधि । नयां कार, नयां फोन र नयां कम्प्युटरको त्यसको पछि छन्, पछ्याइ रहेका छन् ।
तर, यी सबै उपभोग्य वस्तुको प्रयोग गर्नुपर्छ, भन्नेहरूको मतलाई बहिस्कार गर्दै हिंड्ने मान्छे म । मोबाइल फोनलाई अफ गरेर हप्तौं उपवास बस्ने । कम्प्युटरबाट चाहिं भाग्न नसकिने भयो । जीवन जीउने माध्यम नै कम्प्युटर भएको छ । दिनभरिको काम मनिटरमा गएर ठोकिन्छ । बेलुका घर फर्कंदा आंखा बन्द गरेर हिंडौंझै लाग्छ । बरु होस संसार अँध्यारो ।
इमेल पनि खोलेको छैन । इमेलभन्दा त हातले लेखेको चिठी पढ्न क्या आनन्द थियो । जिन्दगी यस्तो पनि थियो जुन बेला लेखिएका चिठी नआए, नपाए, भात पनि नखाएर निरास भएर हुलाकीको बाटो कुर्न नै मजा थियो । अब त हुलाकीको पनि दिन गए, पुराना भए ती दिन । कुनै दिन यो कम्प्युटर भन्ने चिजको पनि आउट् अफ् डेट होला । यसलाई जित्ने अरू नै प्रविधिको विकास होला । हरेक दिन नयां प्रविधिको विकास त भएकै छ नि । हरेक दिन यस्तै हुंदै रहने हो भने सञ्चारको विकास, कहांको कुन शिखरको टाकुरामा पुग्ला ए…।
सम्झिंदा पनि भाउन्न हुन्छ भर्टिगो भएजस्तै, यो मानिस भन्ने जीव जति प्रविधिले सम्पन्न बन्दै जान्छ, त्यति परावलम्बी हुंदै गयो । अल्छे । केही थोरै तीक्ष्ण बुद्धि भएका मानिसहरूले अरू धेरै मानिसलाई उनीहरूको दास बनाएर पछिपछि कुदाको कुदाई छन् । नयां आविस्कार गरिएका चिजको नयाँ चट्नी दिँदै पछिपछि कुदाको कुदाई छन् ।
ला, बल्ल खोलियो, मेलको इनबक्स । मेलहरू आएर थप्रिएको रहेछ । हरेक तीन दिनमा हेर्ने बनाएको छु, नियम । नत्र हरेक पटक कम्प्युटरको नजिक जान हुन्न, फेसबुक र विभिन्न वेवका विन्डो खोलेर हेर्दा समय त्यसै बित्छ भनेको । बितेको त के भनौं जिन्दगीको प्रगतिको पाइलाहरूमा गति रोध आएको छ । नत्र खोइ त पढाइ, हातमा किताब नै रहने समय छैन, चिन्तन गर्ने समय यिनै फेस बुकका पानाहरूले पत्तासाफ गरेको छ, जीवनका अमूल्य समयको खोला तार्ने कारणहरू ।
पहिलो मेल खोल्न थाल्छु अस्ती तीन दिन अगाडि आएको रहेछ । मेरो मन चिसो भयो । यो मेल आइडीबाट मेल नआएको करीब दश वर्ष भएको छ । त्यो एक्कासी कसरी आयो ? म मेरो चल्दै गरेका हातका औंलामा हिउंले खाएजस्तै चिसा कक्रपरे गङ्ग्रिए । एउटा फायल अट्याच मेन्ट छ । त्यसमा एउटा कभरीग लेटर छ तर छोटो । मनमनै पढें, मेरो होस उड्यो । यो दश वर्षसम्म हराएको मेल आइडी आज अचानक कुन दूर देशदेखि आएको होला त ।
ऊ त एउटा योजनाअनुसार नै चलेकी रहिछ नि । नत्र यो दश वर्षको अन्तरालमा आज यो मेल किन ? उसले लेखेको मेल, चल्दै गरेको मुटुलाई चपक्क रोकेर पढें । अट्याचमेन्ट फाइल खोलें मलाई पहाडले थिचेजस्तो भएको छ । म आफैंलाई विश्वास छैन कि म जिउदो छु वा मरेको ? के जिन्दगीमा यसरी पनि बांच्ने क्षण आउंदो रहेछ त ?
कसले भन्दैन त्यो मेरो अनुहार भनेर, कस्ले भन्दैन त्यो मेरो रूप भनेर, त्यो मेरो क्लोनिग हो । तीन जनाको फोटो, दुई जनाको बीचमा दश वर्षको चन्चले छोरा । बा आमाको विचमा उभिएको छोरा । क्या गर्वले छोरा च्यापेर उभिएकी, आज मलाई तँलाई देखेर इरस्या लाग्यो, बुंमती, ईष्र्या ।
एक दिन उसले खुसी हुंदै भन्न आएकी थिई, “म प्रेग्नेन्ट भएं ।” आज दश वर्ष भए छ ।
उसले भनेका यी तीन वाक्य मेरो दुई कानमा आएर बुलेटझैं पट्किएका थिएँ । सिताङ्ग भएको मेरो त्यो क्षण जीवनको सबैभन्दा दुर्वाच्य बोलेको सुनें ।
म चिच्याएर कराएं, त्यो मेरो होइन बुझिस्, त्यो मेरो होइन । तैले अभियोग लगाउन सक्तिनस्, त्यो म हैन । म टाउको समाएर टेबलमा घोप्टो परें । भरे होसमा आउंदा उसको रूप त्यहां थिएन । थियो त खाली उसले बोलेर गएको वाक्य मेरो दिमागमा फनफन घुमिरहेका थिए । जसले मेरो शरीरमा रगत होइन, चिसो शीत तुसारो छरेर गएकी छ रगत जम्न खोजेको छ ।
ढुनमुनिन्दै परको ढोकामा हेर्न गएं, ऊ गएर ढप्किएको छ । कोरीडोरमा पनि उसको पदचाप सुनिएको छैन, पक्कै उसले यो प्रमिज छाडिसकेको हुनुपर्छ । कतै लेडिज ट्वाइलेटमा पो छिरेकी छ की । एक क्षण सोच्दै उता जांदै गर्दा मिसेज रोविन्सन् निस्किन् । छैन भन्ने पक्का भयो । ऊ गई छे ।
ऊ गई भन्ने त पक्का भयो तर मेरो त्यो अनायसको चिच्याहाट कोही अरू कोठा स्टाफहरूले सुने के नि । अहिले पो होस आएछ । म सम्हालिंदै अरू कोरिडोरमा भेटिनेहरूको अनुहार पढ्न खोजें, कसैले पनि मेरो पढाइको प्रतिउत्तर दिएन । थाहा पाए पनि बुझपचाएझैं गरेर कसैले सोधिखोजी नै गरेन ।
ममा अनौंठो धोकाको भावना आयो, मानौं त्यो चिच्याहट मैले गरेको नै होइन, भएको केही नै होइन । बुङ्मती मेरो अफिसमा आएकै होइन । ऊ को हो मैले चिनेकै छैन । एक तमासले मेरो जिब्रो लर्बरायो 
बुं..म..ती.. भन्दै ।
सम्हालिएं, धत्तेरिका मैले नचिनेको मानिसको पनि नाम आउंछ कतै । फेरि आफैंले आफैंलाई ढाँटेँ । पक्का भयो, अब मैले उसलाई चिनेकै छैन ।

कथाकार राई

बसमा, अथवा रेलमा यात्रा गर्दा कुनै बेला अनायस भेट भइहालेमा मैले उसलाई चिनेकै छैन भनेर मेरा आंखाले उसको आंखामा हेर्दै नहेरी अन्तै हेरे कसो होला । अन्डर ग्राउन्डको भीडमा ऊ पेलिएर पर पुगेको बेला मेरा कर्के आँखाले उसको पीठ्यू पनि हेर्दिन ।
ऊ झन के कम । मलाई ट्रेनभित्र देख्नासाथ त्यो ट्रेनमा नै चढ्दिन होला । अथवा उसले रेल हिंडिसकेपछि मात्र मलाई देखी भने पक्कै पनि झट्पट् अर्को स्टेसनमा ओर्लदी हो । मलाई भयङ्कर बहिस्कार गर्दि हो, घृणाले कट्कटी दाह्रा किड्दी हो  । अथवा बघिनी भएर दुई हातका पञ्जा फिँजाएर मेरा अनुहार चिर्थोन आउंदी हो ।
मानिसको मुड भन्न सकिन्न, के के हुन्छ के के । कुन बेला कुन स्टारले काम गरेको छ भन्नै सकिन्न । बघिनीका दुई पञ्जा मेरो घांटीमा पर्दा, म ट्रेनमा यात्रा गर्दै गरेका यात्रुहरूको बीचमा लम्पसार परेर शरण माग्दो हुँ, ऊ ममाथि चढेर तन्तनी रगत पिउँदी हो, मेरो छातीलाई चिथोरेर धुजाधुजा पार्दी हो ।
धोका भन्ने वस्तु कहां छ भनेर धुंईपताल लगाएर खोज्दी हो र सोद्दी के हो यही हो तेरो मुटु । जहां माया, दया र क्षमाको भवना नभएको रित्तो मुटु । यसलाई कसरी मुटु भन्न सकिन्छ । यसलाई निकालेर गिद्दलाई दिन वा कतै बोरामा वा रिसाइकलमा हालेर फाल्ने थोत्रो चिज पो हुन सक्छ । मान्छेको छाती भित्रको मुटुमा दया माया केही न केही त हुन्छ नि । ऊ मेरो भ्वागँ परेको मुटुमा मायाको कुनै छनक पनि नपाउंदा आफैं क्वां क्वां रुंदी हो ।
धत् म पनि सोच्न पनि कति सोचेको होला तथानाम । मलाई पागलपनले छोएको हो ?
सकियो जे भयो, भयो । गयो समय, बित्यो समय । ऊ फन्फनिंदै गएको आज दश वर्ष भएछ । ऊ गएपछि न त क्षमाका लागि मैले समय मागें न त उसले कुनै दिन फोन गरेर मिसकल नै भएको छ । धेरै आएको कलहरू उसैको होस् भनेर आशा गरेको भए पनि उसले कहिले कल गरिन । करिब महिना दिनपछि फोन गरेँ आउट अफ सर्भिस भइसकेको रहेछ, नम्बर । इमेल पठाएर सम्पर्क गर्न चाहें, इमेल पनि डिएक्टिभ भएछ, फर्किएर आयो ।
मानिस न हो गल्ती गरेर अरूलाई ढांटन सकिन्छ तर आफैंलाई सकिन्न । म भित्रभित्रै अपराधी भएको स्वीकार गरिसकेको छु । लागेको छ अब 
बुङ्गमतीलाई भेटे घुंडा टेकेर माफी माग्नेछु ।
उसले पठाएको फोटो हेर्छु, ऊ दश वर्षमा पनि जस्ताको तस्तै छे । जुनबेला ऊ मसंग खुसीको खबर बांड्न आएकी थिई । त्यही हरियो सिल्कको टप्स् र कालो ट्राउजर लगाएकी छ । सायद मलाई ती क्षण अरू सम्झना दिन हो वा मानसिक तनाव दिन ।
म मनमनै भन्छु, “बुङ्मती तिमी कस्ती भाग्यमानी । म जस्तो बदमास लोग्ने परेको भए, जिन्दगीभर दुःख हुने थियो । मलाई माफ गर, मैले अनायस नै तिमीलाई अस्वीकार गरेर नै तिम्रो भलो भयो । नत्र हाम्रो जीवन खल्लो–खल्लै हुने थियो । न मैले तिमीलाई मेरो भनेर सबैका अगाडि भन्न सक्थेँ, न त लुकाएर लुकाउने ठाउं नै थियो । तिमीले त आंट् नगरेको होइन, तर मैले त्यो गर्न चाहेर पनि सकिनँ । ”
आज पनि पानामा मलाई बाहिर गएर ढिलो भएमा शङ्काको आंखाले हेर्छे । मैले ट्राफिक जाममा फसें भन्दा, घडीको सुई हेर्दै यो बेला ट्राफिकमा फस्ने समय होइन भन्छे । ऊ घर बसी बसी मेरा पद चापहरू कहां कता पुगे नाप्न चाहन्छे, गुगल ड्राइभमा पसेर । ऊ आधुनिक समाजकी शिक्षित मान्छे ।
४ फेब्रुवरी  २०१२
(यस कथा पहिलो पटक सन् २०११ मा प्रकाशित बेकर स्ट्रिटका दुई आंखा कथासंग्रहबाट लिइएको हो । नयां तीनवटा कथा सहित साहित्यकार जया राईको यस कृति साझा प्रकाशनले हालै पुनर्मुद्रण गरेको छ) 

प्रतिक्रिया

सम्बन्धित सामाग्री