प्रधानमन्त्री ओलीलाई मोदीको बधाई, भारत भ्रमण गर्न दिए निम्तो

भक्तपुर, ४ फागुन – नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामना दिनुभएको छ । मोदीले बिहीबार राति १०.३० बजे टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिँदै भारत भ्रमणको निम्तोसमेत दिनुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भारतीय प्रधानमन्त्री मोदीले आफू प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको बताउनुभएको थियो । प्रधानमन्त्री ओलीलाई समकक्षी मोदीले नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको अधिकारीले जानकारी दिनुभयो ।

टेलिफोन कुराकानीमा मोदीलाई प्रधानमन्त्री ओलीले आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको थियो । भारतसँगको मित्रता अझै सुदृढ बनाएर लैजान आफू प्रयासरत रहने ओलीले बताउनु भएको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो ।

राजदूत पुरी मध्यराति बालकोटमा

त्यसैगरी, भारतीय राजदूत मञ्जिभसिंह पुरी बिहीबार मध्यराति बालकोटस्थित प्रधानमन्त्री ओली निवास पुगेर बधाई तथा शुभकामना दिनुभएको छ । राजदूत पुरीले भारतीय प्रधानमन्त्री मोदीको बधाई तथा शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो । राजदूत पुरीमार्फत भारतीय प्रधानमन्त्री मोदीले पठाएको सन्देशमा प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायित्व पाउने आशा व्यक्त गरिएको छ ।

ओलीको नेतृत्वमा आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्दै शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास, सद्भाव र पारस्परिक विश्वासमा आधारित युगौँ पुरानो सम्बन्धलाई विकास गर्न आफूहरुले उच्च महत्व दिने उल्लेख गरिएको छ ।

त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न भारत तयार रहेको पत्रमा उल्लेख रहेको प्रेस संयोजक अधिकारीले जानकारी दिनुभयो । बिहीबार राति नै भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रधानमन्त्री ओलीलाई टेलिफोन गरेर सफल कार्यकालका लागि शुभकामना दिनुभएको छ ।

ओली निवासमा बधाई दिनेको ओइरो 

प्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालकोटस्थित निजी निवासमा शुक्रबार बधाई तथा शुभकामना दिन आएका शुभेच्छुकले दिएको पुस्तक हेर्दै । तस्वीर – रमेश गिरी, भक्तपुर, रासस

त्यसैगरी प्रधानमन्त्री ओली निवास बालकोटमा बधाई तथा शुभकामना दिनेको ओइरो लागेको छ । बिहीबार रातिदेखि नै भक्तपुरका सरकारी कार्यालयका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, प्रहरीका उच्च पदस्थ अधिकारीहरु, शुभचिन्तक, नेता, कार्यकर्ता, सांसद लगायतको भीड लागेको छ । आज बिहान पनि ओली निवास बालकोटमा प्रधानमन्त्री ओलीलाई बधाई दिनेको ओइरो लागेको छ ।

ओलीबाट सार्कलाई मार्गदर्शनको अपेक्षा

दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव अमजद हुसेन बी सियालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट संगठनलाई निरन्तर साथ, सहयोग, समर्थन र मार्गदर्शन प्राप्त हुने अपेक्षा गर्नुभएको छ ।

नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि सार्क सचिवालयका पदाधिकारीका तर्फबाट बधाई तथा शुभकामना सन्देश जारी गर्दै महासचिव सियालले सार्कको अध्यक्ष नेपालले यसका प्रक्रियालाई अझ सुदृढ तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सार्कको संस्थापक सदस्य मुलुकका नाताले सार्क प्रक्रियामा नेपालले निरन्तर सहकार्य गर्दै आएको स्मरण गर्दै उहाँले क्षेत्रीय सहयोगका आदर्श र लक्ष्यप्राप्तिमा नेपालले अतुलनीय योगदान गरेको बताउनुभएको छ । महासचिवले भन्नुभएको छ, “सार्क सचिवालय नेपालमा रहनु नै सार्कप्रतिको नेपालको प्रतिबद्धता झल्किन्छ ।”

नेपाल राष्ट्र र जनताले नेता ओलीप्रति गरेको विश्वास तथा राष्ट्र र जनताप्रति उहाँले गरेको सेवाको प्रतिफलस्वरुप प्रधानमन्त्रीमा उहाँको नियुक्ति प्रतिविम्बित हुन्छ भन्दै सन्देशमा महासचिव सियालले उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री