बेलायतका प्रतिभाहरुको खोजी कार्यक्रम अगष्टमा


लन्डन । बेलायतस्थित नेपाली समुदायभित्र नवप्रतिभाहरुको खोजी गर्ने अभियानमा जुटेको प्रतिभा नक्षत्रले आगामी अगस्टमा दोश्रो प्रतियोगिता गर्ने भएको छ । प्रतिभा नक्षत्रले मंगलबार सांझ प्लमस्टिडस्थित गोर्खा क्लबमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको मिति र स्थान भने तय गर्न बांकी छ ।

उक्त संस्थाले सोही प्रतियोगिताका लागि आवश्यक कोष जुटाउन यही यही मार्च ३ तारिख शनिबार उलवीचस्थित मुल ग्रेभ प्राइमरी स्कुल हलमा एक रात्रीभोज समेत गर्ने भएको छ । उक्त कार्यक्रममा सहभागी भएर सहयोग गरिदिन संस्थाले अपिल गरेको छ ।

पत्रकार सम्मेलनमा प्रतिभा नक्षत्र आवद्ध पदाधिकारीले आगामी कार्यक्रमका रुपरेखाबारे अवगत गराउंदै विगतका कमी कमजोरी सुधार गरि यस पटक अझ परिष्कृत गरिने विश्वास दिलाए ।

कार्यक्रममा प्रतिभा नक्षत्रका महासचिव एवं कार्यक्रम संयोजक लछुमन गुरुङले यस वर्ष प्रतिभा नक्षत्रका लागि लन्डनबाहेक वेल्स, स्कटल्याण्ड लगायतका क्षेत्रसम्म पुगेर प्रतियोगी बटुल्ने प्रयास गरिने बताए । गायन, नृत्य, कलाकारिता सहितका जुनसुकै विद्यामा पनि विशिष्ट प्रतिभा हुनेहरुलाई कार्यक्रममा स्थान दिइने गुरुङले बताए ।

प्रतिभा नक्षत्र पहिलो संस्करणका संयोजक तथा आयोजक प्रतिभा नक्षत्रका संरक्षक मनिष कुमार श्रेष्ठले प्रतिभा नक्षत्रको दोश्रो संस्करण पहिलाभन्दा वृहत र व्यवस्थित हुने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिभा नक्षेत्रकी अध्यक्ष सिम्मी पुनले बेलायतको नेपाली समुदायमा रहेको नयां पुस्तामाझ नेपाली संस्कृति र परम्परालाई जिवन्त राख्न प्रतिभा नक्षेत्र संगठन विस्तार गरिएको बताइन् । उनले आफ्ना कार्यक्रमका माध्यमबाट बेलायतमा रहेका फरक जाति, वर्ग र समुदायका नेपालीहरुबीचको एकता र 
सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरिन् ।

प्रतिभा नक्षत्रका परिकल्पनाकार राजेन्द्र खसले बेलायतमा नेपाली संस्कृतिको प्रवर्धन गर्नुका साथै नयां प्रतिभाहरुलाई प्रोत्साहन गर्नु कार्यक्रमको उद्देश्य रहेको प्रकाश पारे । प्रतियोगीहरुलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्मका साथसाथै नेपाली भाषा, संस्कृति र परम्पराका बारेमा जान्ने र सिक्ने अवसर समेत प्रतिभा नक्षत्रले दिने खसले बताए ।

कार्यक्रमका विजेताहरुलाई यहांको समुदाय र विभिन्न मञ्चमा अवसर दिइने र उनीहरुभित्रको प्रतिभालाई थप उजागर गर्न प्रोत्साहन गरिने आयोजकले जनाएका छन् ।

प्रेस मिट कार्यक्रममा खस समाज यूकेका अध्यक्ष इन्द्र कार्की खस, साहित्यकार वासु शर्मा, रोयल ग्रीनवीच नेपलिज सोसाइटीका अध्यक्ष हरिगोविन्द गुरुङ लगायतले शुभकामना मन्तव्य राख्दै कार्यक्रमको अवधारणा प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री