ब्रेक्जिट अनिश्चितताले बेलायतको आर्थिक वृद्धि सोचे भन्दा कम

लण्डन, १० फागुन – यूरोपियन यूनियन (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रियामा आएको अनिश्चितताले गर्दा बेलायतको अर्थतन्त्रमा पहिले अपेक्षा गरे अनुसार फैलावट हुन नसकेको बेलायतद्वारा बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा बिहीबार दोहोराएर गरेको अनुमानमा उल्लेख गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले यस पहिले कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरेको थियो ।

बेलायतको बार्षिक वृद्धिदर सन् २०१२ पछिको सबैभन्दा कम विन्दुमा पुगेको थियो ।

तथ्याङ्क कार्यालयले सन् २०१७ को अन्तिम त्रैमासिकका लागि प्रक्षेपण गरिएको वृद्धिदर ०.५ प्रतिशत रहेकोमा त्यसबाट पनि तल भरी ०.४ प्रतिशतमा खुम्चिन पुगेको थियो ।

यो तथ्याङ्क बेलायतले सन् २०१६ को अन्त्यपछि पहिलो पटक बेरोजगार दरमा वृद्धि भएको सार्वजनिक गरेको एक दिनपछि आएको छ ।

‘बेलायतको अर्थतन्त्र विकास नहुनुमा उच्च मुद्रास्फिति दर कायम रहनुलाई दोषी मानिएको छ र बेलायतमा पूर्वानुमान गरिएभन्दा अर्थतन्त्रमा फैलावट आएको देखिने गरेको छैन’- बेलायती अर्थविज्ञ तथा विश्लेषक नाईम अस्लामले बताउनुभयो- ‘अहिले ब्रेक्जिट अर्थतन्त्र लगायतका अन्य समस्याको सवैभन्दा ठूलो चुरो बनेको छ, जसले सवै गतिविधिलाई दवावमा राखेको छ ।’

ब्रेक्जिटबारे जति लामो अनिश्चतता सामना गर्नुपरयो यसको अर्थतन्त्रमा त्यति नै खराब असर पर्ने अस्लामले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री