भारत र क्यानाडाले आतङ्कवाद विरुद्ध सहकार्य गर्ने

राष्ट्रपतिय दरबारमा क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोलाई स्वागत गर्दै मोदी । तस्विर एपी

नयाँ दिल्ली, भारत, १० फागुन – भारत र क्यानडा आतङ्कवाद तथा अतिवाद विरुद्ध लड्न दुई मुलुकबीचको सहकार्यलाई अघि बढाउन सहमत भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका अनुसार भारत भ्रमणमा रहेका क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडोको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय अधिकारीबीच दुई देशबीच रहँदै आएको आपसी सम्बन्धलाई थप मजबुत गर्ने, आतङ्कवाद र अतिवादलाई परास्त गर्न सहकार्यलाई थप उचाइबाट अधि बढाउने बिषयमा सहमति भएको छ ।

सहमति पश्चात दुवै मुलुकका प्रधानमन्त्री सहभागी संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभयो, ‘म र प्रधानमन्त्री ट्रुडोबीच आतङ्कवाद र अतिवाद विरुद्ध संयुक्तरूपमा सङ्घर्ष गर्ने सहमति भएको छ । हिंसात्मक अतिवाद र आतङ्कवादसँग प्रतिवाद गर्न सहकार्यका लागि तयार गरिएको संरचनालाई सहमतिपूर्व भारतीय तथा क्यानाडाली राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले छलफल गरी अन्तिम रूप प्रदान गरेका थिए ।’

उहाँले आतङ्कवाद तथा अतिवाद प्रजातान्त्रिक तथा बहुलवादी समाज भएका भारत तथा क्यानाडा जस्ता मुलुकलाई खतरा भएको बताउनुभयो ।

प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘आतङ्कवाद तथा अतिवाद प्रजातान्त्रिक तथा बहुलवादी समाज भएका भारत तथा क्यानाडा जस्ता मुलुकलाई खतरा छन् । हाम्रो सहकार्य यस्ता शक्तिसँग लड्न महत्वपूर्ण छ । राजनीतिका लागि कसैले धर्मलाई प्रयोग गर्छ र समस्या उत्पन्न गर्छभने त्यस्ता व्यक्ति, समुदाय वा संगठनलाई कुनै स्थान हुनुहुदैन ।’

भारत तथा क्यानाडाको सार्वभौम अधिकार, एकता तथा अखण्डता माथि जसले चुनौति दिएपनि यो सह्य नहुने मोदीको भनाई थियो ।

भारतले क्यानडासँगको रणनीतिक सम्बन्धलाई धेरै नै महत्वसाथ हेर्ने गरेको पनि उक्त अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो ।

‘भारतले क्यानाडासँग अझै मजबुत रणनीतिक सम्बन्धसाथ अघि बढ्ने बिषयमा महत्व दिँदै आएको छ । हाम्रो सम्बन्ध प्रजातन्त्र, बहुलवाद, कानूनी सर्वोच्चता र आपसी हितका लागि रहेको छ’- भारतीय प्रधानमन्त्रीले भन्नुभयो ।

उहाँले भारत तथा क्यानाडाको उत्तर कोरिया र मालदिभ्सबारेमा समान धारणा रहेको पनि बताउनुभयो । उत्तर कोरियाले पछिल्लो समय निरन्तर आणविक परीक्षण गरेको छ भने मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमीनले राष्ट्रिय सङ्कटकालको घोषणा गरेको छ ।

प्रधानमन्त्री मोदीले क्यानाडा उर्जाका लागि उत्कृष्ट शक्ति रहेको भन्दै यसले भारतको बढ्दो उर्जाको मागलाई सम्बोधन गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

व्यापार तथा व्यवसायका बिषयमा बोल्दै प्रधानमन्त्री मोदीले भन्नुभयो, ‘हाम्रो वित्तीय साझेदारसँग संगठनात्मक संरचनाको व्यवस्थापन गर्नु आवश्यक छ । हामीले यस सम्बन्धमा सम्बन्धित पक्षलाई काम गर्न र द्विपक्षीय लगानी तथा बृहद् आर्थिक साझेदारी सम्भौताबारे विद्यमान् प्रयासलाई दोब्बर बनाउन निर्देशन दिएका छौँ ।’

भारतीय विद्यार्थीको उच्च शिक्षाका लागि क्यानाडा महत्वपूर्ण गन्तव्य रहेको छ । भारतबाट करिब एक लाख २० हजार विद्यार्थी पढ्नका लागि क्यानाडा गएका राष्ट्रिय तथ्याङ्क रहेको र भारतले उच्च शिक्षाबारे क्यानाडासँगको सम्झौतालाई नवीकरण गरेकोसमेत मोदीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री