उत्तर र दक्षिण कोरिया वार्ता आगामी हप्ता

हालै सम्पन्न पहिलो वार्तामा दुई मुलुकका प्रतिनिधि हात मिलाउंदै

सोल, ११ फागुन – उत्तर र दक्षिण कोरियाबीच आगामी हप्ता वार्ता हुने भएको छ । यी दुई देशका कार्यगत समूहका अधिकारीबीच सो वार्ता हुन लागेको बताइएको छ ।

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुकासाथै दुई देशबीच आगामी दिनमा हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा पनि कुराकानी हुने भएको बताइएको छ ।

सो कुराको जानकारी दक्षिण कोरियाको राष्ट्रिय एकता मन्त्रालयले शुक्रबार दिएको छ । उक्त मन्त्रालयका अनुसार सो वार्ता आगामी मङ्गलबारका लागि तय गरिएको छ ।

सो वार्ताका लागि दक्षिण कोरियाले उत्तरलाई पत्र पठाएको थियो । उत्तर कोरियाले सो पत्रमा आजैमात्र सहमति जनाएको पनि सो मन्त्रालयले जानकारी दिएको हो ।

उक्त वार्ता उत्तर र दक्षिण कोरियाको सीमा क्षेत्रमा रहेको पानमुनजोममा आगामी मङ्गलबार अर्थात् फेब्रुअरी २८ मा विहान १० बजेबाट सुरु हुने भएको बताइएको हो ।

सो वार्ताका लागि दुई कोरियाका तर्फबाट अधिकारीहरु अन्तर कोरियाली विभागका महानिर्देशकहरुको सहभागिता रहने बताइएको छ ।

यस वार्ताका लागि दक्षिण कोरियाले तीन सदस्य पठाउने छ भने उत्तरका लागि पनि त्यनि नै संख्यामा सदस्यहरु आउने छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री