प्रदेश नं ६ को नाम ‘कर्णाली’, राजधानी सुर्खेत

सुर्खेत, १२ फागुन – प्रदेशसभाको बैठकले ६ नं प्रदेशलाई ‘कर्णाली प्रदेश’ नामाङ्कन गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यको बहुमतबाट ६ नं प्रदेशको नाम ‘कर्णाली प्रदेश’ पारित गरेको हो । बैठकमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेलले प्रदेशको नाम ‘कर्णाली’ राख्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्तावमा नेपाली काँग्रेस जुम्लाका सांसद दीनबन्धु श्रेष्ठ, एमाले डोल्पाका सांसद वीरबहादुर शाही र राप्रपा कालीकोटका सांसद सोशिला शाही समर्थन गर्नुभएको थियो ।

चालीस प्रदेशसभा सदस्यमध्ये ३७ जनाले सो प्रस्तावको पक्षमा मत जाहेर गरेको तथा मुगुबाट निर्वाचित सांसद चन्द्रबहादुर शाही र झोवा विक अनुपस्थित रहेको सभामुख राजबहादुर शाहीले जानकारी दिनुभयो । बैठकमा सभामुख शाहीले यस प्रदेशको नाम ‘कर्णाली प्रदेश’ भनेर घोषणा गर्नु भएको थियो ।

बैठकमा प्रस्तुत प्रस्तावको छलफलमा प्रदेशसभा सदस्य सीता नेपाली, कृष्णा शाह, हिमबहादुर शाही, कौशिला खत्री, दानसिंह परियार र पदमबहादुर रोकायाले भाग लिनुभएको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत 

यसैगरी बैठकले सर्वसम्मत रुपमा प्रदेश नं ६ को प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर) राख्ने निर्णय गरेको छ ।

आज बसेको प्रदेशसभाको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ‘प्रदेश राजधानी सुर्खेतमा राखियोस्’ भनी प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावमा नेकपा (एमाले)का सांसद गुलाबजंग शाह र नेकपा (माओवादी केन्द्र)का सांसद गणेशप्रसाद सिंहले समर्थन जनाउनुभएको थियो ।

प्रदेशको राजधानी सुर्खेत राख्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको विकल्प नरहेको बताउनुभयो । काँग्रेसका सांसद यज्ञबहादुर विसीले कर्णाली प्रदेशमा सरकार पक्ष र प्रतिपक्षको अनुभूति नभएको बताउनुभयो ।

“प्रदेशको नाम र राजधानी सर्वसम्मत तोक्न सफल भएका छौँ र हामीलाई कोही सत्ता र कोही प्रतिपक्षको सांसदको अनुभूति गर्न पाएनौँ”–उहाँले भन्नुभयो । “समृद्ध प्रदेश निर्माण गर्न आगामी दिनमा सत्ता पक्ष र प्रतिपक्षको महशुस हुनेछैन र प्रदेशको विकासमा एकमतका साथ अघि बढ्नेछौँ”–उहाँले बताउनुभयो ।

छलफलमा भाग लिँदै आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशको मौसमी राजधानीको व्यवस्था गरिनुपर्ने बताउनुभयोे । यो प्रदेशलाई ग्रीष्मकालीन र शीतकालीन राजधानीको रुपमा विकास गरिनुपर्ने भन्दै कर्णालीको केन्द्र जुम्लालाई ग्रीष्मकालीन र वीरेन्द्रनगरलाई शीतकालीन राजधानी बनाउनुपर्ने धारणा राख्नुभयो ।

सांसद शाहीद्वारा नियमापत्ति 

नेपाली काँगेसका संसदीय दलका नेता जीवनबहादुर शाहीले प्रदेशको राजधानी सुर्खेत राखियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सरकारका मन्त्रीहरुले भाग लिन नमिल्ने भन्दै नियामपत्ति गर्नुभयो ।

प्रदेश राजधानी सुर्खेत बनाउनुपर्ने प्रस्तावमाथि भएको छलफलमा भाग लिनका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाई सभामुख राजबहादुर शाहीले बोल्न समय दिएपछि सांसद शाहीले नियमापत्ती जनाउनुभएको हो । “समामुख महोदय प्रदेशको राजधानी तोक्ने विषयको प्रस्ताव तथा सरकारले प्रस्तुत गरेका प्रस्तावमा सरकारका मन्त्रीहरुले बोल्ने परम्परा छैन, यो प्रदेशमा नयाँ नियम भए संसद्लाई जानकारी होस्”–उहाँले भन्नुभयो ।

सभामुख शाहीले मन्त्री भण्डारीलाई बोल्न दिएपछि संसदीय परम्पराविपरीत सरकारका मन्त्रीले सरकारकै प्रस्तावमा भाग लिन नपाउने भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख शाहीले मन्त्री भण्डारी मन्त्री मात्र नभई जुम्लाको सांसद भएकाले प्रस्तावमाथि बोल्न समय दिएको बताएपछि विपक्षी दलका नेतासांसद शाही आशनमा बस्नुभएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री