बेलायत छाड्दै युरोपेली, आउने पनि घटे

लन्डन । युरोपेली संघबाट ब्रिटेन आउने मानिसहरुको संख्या घटेको छ । ब्रिटेनको तथ्यांक संकलन गर्ने निकाय अफिस फर नेशनल स्टाटिसटिक्स (राष्ट्रिय तथ्यांक कार्यालय) ले बिहीबार गएको पांच वर्ष यता युरोपेली संघबाट बेलायत आउनेको संख्या एक लाख भन्दा कममा झरेको जनाएको हो ।

तथ्यांक कार्यालयले सन् २०१६ सेप्टेम्बरदेखि २०१७ सेप्टेम्बरको बीचमा केवल ९० हजार युरोपेलीमात्र बसोवास गर्ने उद्देश्यले बेलायत आएको उल्लेख गरेको छ । यस्तो संख्यालाई खुद आप्रवासन (नेट माइग्रेसन) पनि भनिन्छ ।

बेलायतले युरोपेली संघ (इयू) छाड्ने पक्षमा मतदान गरेपछि इयूबाट बेलायत स्थायी बसोवासका लागि आउने मानिसहरुको संख्या घट्दै गएको हो ।

बेलायत युरोपबाट अलग्गिने (ब्रेक्जिट) प्रक्रिया अगाडि बढिरहंदा बेलायतमा रहेका पूर्वी युरोपेली नागरिकहरु समेत स्वदेश फर्कने चिन्ता व्यक्त भएको छ ।

व्यवसायिक समूहले घट्दो युरोपेली आप्रवासीका कारण दक्ष जनशक्ति अभाव बढ्ने चिन्ता र चासो व्यक्त गरेका छन् । युरोपेली नागरिक बाहेक अन्यत्र देशका कामदारलाई बेलायत आएर काम गर्न थप कडाइ गरिएकाले व्यापारीमा चिन्ता छाएको हो । कन्फेडेरेसन अफ ब्रिटिश इन्डष्ट्रीले पनि बेलायतले आप्रवासीलाई आकर्षित गर्नुपर्नेमा त्यसो नभएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

ब्रेक्जिट प्रक्रियामा अनिश्चितताले गर्दा बेलायती अर्थतन्त्र समेत अपेक्षा गरिए भन्दा कम वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि 
१.७ प्रतिशतमा सीमित भएको जनाएको छ ।

यस अघि कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरिएको थियो ।

बेलायतको वार्षिक वृद्धिदर सन् २०१२ पछिको सबैभन्दा कम विन्दूमा पुगेको थियो ।

तर, बेलायती अध्यागमन मन्त्री क्यारोलिन नोक्सले भने वार्षिक हजारौं आप्रवासी घटाउने सरकारको कदममा नयां तथ्यांक स्वागतयोग्य भएको बताएकी छन् ।

बेलायतमा अहिले करिब तीस लाख युरोपेली नागरिक बसोवास गरिरहेको अनुमान छ । बेलायत इयूबाट आगामी मार्च २०१९ बाट औपचारिक रुपमा बाहिरिने छ ।

प्रधानमन्त्री टेरेजा मेले गत बुधबार सन् २०१९ मा औपचारिक रुपमा इयूबाट अलग्गिएपछि बेलायत बस्ने सबै युरोपेली नागरिकको दर्ता प्रणाली विकास गरिने प्रतिज्ञा गरेकी थिइन् ।

बेलायत पढ्न आउने अन्तर्राष्ट्रिय विद्यार्थीलाई समेत अध्यागमन नियममा कडाइ गरिएपछि यो शैक्षिक गन्तव्यको आकर्षणका रुपमा नरहेको बताइन्छ । हायर एजुकेशन पोलिसी इन्सटिच्युट र कप्लान इन्टरनेशनल पाथवेजले गरेको एउटा अनुसन्धान अनुसार अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायतको अर्थतन्त्रमा वार्षिक २० बिलियन पाउण्ड भन्दा बढि योगदान गरेको उल्लेख छ ।

बेलायतले सन् २०१७ मा करिब १५ हजार शरणार्थी लिएको थियो जसमा ४० प्रतिशत बालबालिका थिए । २० हजार सिरियाली शरणार्थी लिने योजना अनुरुप १० हजार ५ सय बेलायत आइसकेको तथ्यांक छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री