लालबाबुको सेकेण्ड इनिङ – सोल्टी र द्वारिकाज होटललाई १ लाख जरिवाना

काठमाडौँ- सामान्य प्रशासनमन्त्री हुँदा डीभी/पीआरधारी सरकारी कर्मचारीलाई कानुनी दायरामा ल्याएका लालबाबु पण्डितले दोस्रो पटक मन्त्री भएसँगै परिणामुखी कामको सुरूवात गरेका छन् । केही दिन पहिले जनसंख्या तथा वातावरण मन्त्री भएका उनले पाँचतारे होटल र हस्पिटलमाथि कडाइ सुरू गरेका छन् ।

उनी मन्त्री भए लगतै  जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नगरी संरचना निर्माण गरेका र कानूनको पालना नगरी सञ्चालन भएका विभिन्न ११ संस्थालाई कारबाही गरेको छ । जसमा सोल्टी र द्वारिकाज होटललाई एक-एक लाख जरिवाना गराएको छ ।

वातावरणसम्बन्धी ऐन नियमको पालना नगर्ने तथा आवश्यक मापदण्ड पूरा नगरी निर्माण गरिएका वा सञ्चालन भएका होटल, अस्पताल र उद्योगलाई कारबाही तथा जरिवाना गरिएको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले जानकारी दिए । त्यस्ता संस्थालाई रु ५० हजारदेखि रु एक लाखसम्म जरिवाना गरिएको उनले बताए ।

मन्त्रालयले आइतबार काठमाडौँको कलंकीस्थित नेपाल नेशनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय मैत्रीबाल अस्पताल, भृकुटीमण्डपको काठमाडौँ मोडेल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौँ अस्पताललाई प्रारम्भिक वातावरणीय परीक्षण (आइइइ) आवश्यक मापदण्ड नगरी सञ्चालन गरिएको निर्णय गर्दै कारबाहीका लागि स्वास्थ्य मन्त्रालयलाई सिफारिश गरेको छ ।

त्यस्तै काठमाडौँकै सोल्टी सिटी अपार्टमेन्ट, सिटी होटल लिमिटेड, काठमाडौँ गेष्ट हाउस र द्वारिकाज होटल तथा काठमाडौँ दुग्ध वितरण आयोजना, कमला रोलिङ प्रालि र अरनिको आबुखैरेनी सिमेन्ट उद्योगलाई इआइए पालनामा आवश्यक मापदण्ड पूरा नगरेको भन्दै जरिवाना गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री