आँखा बोल्ने श्रीदेवी पुरुषको दबदबा भएको बलिउडमा कसरी एक दशक छाइन् ?

बलिउड अभिनेत्री श्रीदेवीको शनिबार राति निधन भएको छ । दुबईमा कार्डियाक अरेस्टबाट उनको निधन भएको बताइएको छ । पुरुषहरुको बोलवाला रहेको बलिउडमा उनी एक दशक छाएकी थिइन्, भारतीय मिडियाहरुले उनका आँखा बोल्ने र मुस्कान रहस्यमयी रहेको जनाएका छन् ।

यसैले उनी बलिउडकी पहिलो महिला सुपरस्टारमा दरिइन् । ५ दशकको आफ्नो करिअरमा उनी सिल्भर स्क्रीनमा छाइरहिन् । पुरुषको दबदबा रहेको फिल्म इन्डष्ट्रीजमा ८० र ९० को दशकमा श्रीदेवीले बेग्लै मुकाम हासिल गरिन् । जो मुकाम त्यसअघिका कसैले पनि हासिल गर्न सकेका थिएनन् ।

श्रीदेवीले एकप्रकारले पुरुष प्रभुत्व रहेको बलिउड उधोगको ‘ट्रेण्ड’ नै बदलिदिइन् । कयौं पटक फिल्ममा उनी हुनु नै हिट हुनुको ग्यारेण्टी थियो ।

वास्तविक जीवनमा लजालु स्वभावकी श्रीदेवीले पर्दामा कयौं प्रकारका भूमिका निभाइन् । उनको लोकप्रियता कतिसम्म थियो भने उनका फ्यानहरु उनको स्टाइल र डान्स स्टेपको समेत कपी गर्थे ।

श्रीदेवीले फिल्म प्रोडयुसर बोनी कपुरसँग १९९६ मा विवाह गरेकी थिइन् । दुवैको लभ स्टोरी सन् १९८७ मा ‘मि. इण्डिया’ को सुटिङका दौरान सुरु भएको थियो । फिल्ममा पहिलो भूमिका भने उनले चार वर्षको उमेरमा एमए थिरुमुगमको फिल्म ‘थुनाइवन’ बाट खेलेकी थिइन् । उनले तमिल, तेलगु, मलयालम र कन्नड भाषाका फिल्ममा पनि काम गरेकी थिइन् ।

श्रीदेवीको डेब्यु फिल्म सन् १९७८ को ‘सोलहन्वा सावन’ लाई मानिन्छ । यसमा उनको हिरो अमोल पालेकर थिए । ऋषि कपुरसँग उनले सन् १९८६ मा ‘नगीना’, सन् १९८९ मा ‘चाँदनी’, सन् १९९३ मा ‘गुरुदेव’ मा काम गरिन् ।

अमिताभ बच्चनसँग उनले सन् १९८४ मा ‘इन्कलाब’, सन् १९८६ मा ‘आखिरी रास्ता’ र सन् १९९२ मा ‘खुदा गवाह’मा स्क्रीन सेयर गरिन् । सन् १९८९ मा कमल हसनसँग आएको फिल्म ‘सदमा’ मा उनको भूमिकालाई निकै रुचाइयो । यही फिल्मबाट उनले फिल्मफेयर अवार्ड पाइन् ।

सन् १९८९ को ‘चालबाज’, सन् १९९१ को ‘लम्हे’ र सन् १९९२ को ‘खुदा गहाव’ उनी डबल रोलमा देखिएकी थिइन् । सन् १९९६ मा उनले शाहरुख खानसँग ‘आर्मी’ फिल्ममा काम गरेकी थिइन् । उनी शाहरुखको आउने फिल्म ‘जिरो’ मा एक स्पेशल भूमिकामा देखिनेछिन् ।

उनले जितेन्द्रसँग १८ फिल्ममा काम गरेकी थिइन् भने अनिल कपुरसँग ११ फिल्ममा ‘स्क्रीन सेयर’ गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री