बिहीबार, साउन ३ २०७५ | Thu, July 19, 2018
नेपालको समय: ०१:५९ | UK Time: 21:14

भवन दाई परोपकारी एनआरएन हाम्रो सपना

अन्जान बगाले
२०७४ फागुन १७ गते २३:३१

एनआरएनए अध्यक्ष भवन भट्ट

प्रिय पाठकहरु ! मेरो लेखको धार केही फरक बिन्दूबाट 
कोर्दैछु । मेरो घर लन्डन नजिकै राम्रो स्कुल छ । म त्यो बाटो हिंड्दा मेरा कानहरु त्यो स्कुल पढ्ने १३-१४ वर्षका विद्यार्थीको गफमा ठोक्किन्छ । उनीहरुको कुरा मेरो कानले नकार्न सक्दैन । तिनका कुरा रोचक रहन्छन् । उनीहरु चन्द्रमा, भूगोल, विज्ञान वा नासाका कुरा बढ्ता गर्छन् ।

शुक्रबारको दिन थियो, म जाने गन्तव्य र ति स्कुले केटाकेटी जाने बाटो एउटै परयो । फेरी मेरा कानले उनीहरुको 
कुरालाई बढ्ता महत्व दियो । म पनि उनीहरुकै हिंडाइको 
रफ्तारमा आफूलाई हिंडाउंदै, उत्सुक बन्दै उनीहरुको कुरामा ध्यान केन्द्रित गरें ।

लबज र बोली बेलायती रहेपनि उनीहरु ‘अफ्रिकी ओरिजीन’ का भएको ठम्याउन सकिन्थ्यो । त्यसमध्ये एकजना धन्य थियो कम्प्युटरको आविष्कारप्रति । उसले यो युगको गर्व पनि गरिरहेको थियो । विज्ञानले फड्को मारेकोप्रति, कम्प्युटरको योगदान र हाम्रो दैनिकी सहजीकरण भएकाप्रति उ कृतज्ञ थियो ।

अनलाइनमा सामान किन्छ । नयां प्रविधिले अर्थतन्त्र थामिदिएको बताउंछ । विरामीहरु डाक्टरकहां धाउनै पर्दैन भन्छ । सिक्न हरेक खुराक छन् भन्छ उसले । लाग्थ्यो, उ लामो फेहरिस्त राखेर ‘एस्से’ नै लेखिदिन्छ कम्प्युटरबारेमा । कुरा सुन्दै गर्दा भिडियो गेमको ‘एप’ डिजाइनिङप्रति उसको 
रुची बढि रहेको बुझिन्थ्यो ।

कुरा गर्दै गर्दा उ आफ्नो स्कुलको गन्तव्यतिर बिलायो । तर, मलाई उसका कुराहरु मन मस्तिष्कमा झन् सलबलाउन थाले ।

मैले मेरा स्कुले दिनहरु सम्झन लागें । हामीलाई सरले जुत्ता खोलेरमात्र कम्प्युटर कोठाभित्र छिर्न दिनुहुन्थ्यो कारण ‘भाइरस’ लाग्ने डरले । सबैको हातमा ‘फल्पडिस्क’ हुन्थे । हाम्रो गोपनीयता त्यो ‘फल्पडिक्स’ मा रहन्थ्यो । धुलोबाट जोगाउनु ठूलो कुरा हुन्थ्यो । इमेल इन्टरनेट कुन चराको नाम हो भन्ने जस्तो जमाना थियो ।

लेखक अन्जान बगाले

पाठकहरु ! अब म मुल प्रसंगमा जाने अनुमति माग्दछु । भवन दाई, जमाना र युगले चक्मा दिइरहेको छ अर्थात यो ज्यादै परिवर्तनशील भएको छ । मलाई राजनैतिक नेतृत्वप्रति वितृष्णा छ । हामी विदेशमा छौं । हात हातमा मोबाइल छ, प्रविधिले ल्यापटपलाई माथ गरिदिएको छ ।

मेरो मस्तिष्क नेपालको सिमिकोट, मुगु, रुकुम जस्ता दुर्गम दूरदराजका युवातिर पुग्छ । अर्थात १३-१४ वर्षका किशोरकिशोरी सामाजिक सञ्जाल र कम्प्युटरसंग कति परिचित छन् भनेर म बेला बेला घोत्लिन्छु ।

उनीहरुका हकमा जीवन नै चलाउन कठिन अवस्थामा कम्प्युटर र ल्यापटप दुरका कुरा होलान् झैं लाग्छ । मेरो मनमा फेरी कुरा खेल्यो दुर्गम छ, श्रोत साधन छैन् भनेर सधैं चुप बस्ने वा केही गर्ने ? के सिमिकोटको किसानले आफ्नो फापर प्रविधिमार्फत काठमाडौंमा बेच्न सक्दैन होला ? के हुम्ला जुम्लाका जनता प्रविधिको साथ लिएर बिरामी पर्दा काठमाडौंका डाक्टरसंग परामर्श गर्न सक्दैनन् होला ? जोमसोमको स्याउ प्रविधि को साथ लिएर पोखरामा बेच्न सकिन्न होला ?

पाठकहरु नसकिने केही छैन्, खाली पवित्र मन र इच्छाशक्ति जरुरी मात्र हो ।

भवन दाई,

व्यक्तिगत रुपमा मेरो हजुरसंग चिनजान छैन् । तर, ‘भवन हयाज सम प्यासन टु डु समथिङ फर नेपाल’ भन्ने सुनेकाले केही आग्रह गर्दैछु । हामी नेपालीहरु युरोप, अमेरिका, अष्ट्रेलिया, दुबई, मलेसिया अनि हङकङमा धेरै छौं । मैले धेरैको घरमा ल्यापटप, पुराना आइप्याड र विभिन्न गजेटहरु थन्किएर बसेको देखेको छु जुन मज्जाले वर्षौं दिन चल्छ अथवा सामान्य मर्मत गरेर पनि चलाउन सकिन्छ । नयां नै दान पनि गर्न सकिन्छ ।

त्यो थन्किएर बसेका ल्यापटप, आइप्याड दान गरि के नेपालको दूरदराज र विकट गाउं गाउंका स्कुलसम्म पुरयाएर युवालाई प्रतिष्पर्धी बनाउन सकिंदैन होला ? मुस्ताङ को स्याउका लागि बजार खोज्न, पर्यटन प्रवर्धनमा टेवा दिन र नेपालको दूरदराजमा रहेका जनतालाई विश्व दुनियासंग ‘कनेक्ट’ गराउन हामी किन नसक्ने ? हामीले थोरै पहल गरिदिने हो भने ति विकट गाउंका बच्चाहरुले दुनिया देख्लान र विश्वसंग प्रतिष्पर्धी बनेर निस्केलान ।

भवन दाई अब सधैं माछा मारेर दिएर साध्य लाग्दैन । माछा मार्न र जाल बुन्न सिकाउने हो ताकि भोलि हजुर हामी नभए पनि आफैं जाल बुनेर आत्म स्वाभिमानी भएर विकटका जनता बांच्न सकुन् । गाउंमै केही गर्न सकिन्छ भनेर सपनाहरु सांच्न सकुन् ।

सुन्दा आनन्द आए पनि यो प्रक्रिया निकै झन्झटिलो हुने देखेको छु । मैले सुने अनुसार भवन भट्ट चुनौतिसंग पौंठे जोरी खेल्न रमाउने मान्छे हो । भवनले विगतमा चुनौतिसंग 
पौंठे जोरी खेल्दै पछि उल्लेख्य सफलता पाएको हो भन्नेहरु धेरै भेटेको छु मैले । तपाईं राजी हुनुहुन्छ ?

त्यो कम्प्युटर पठाउंदा लाग्ने कार्गो खर्च त्यही देशको एन आरएन शाखाहरुले हाल्ने अथवा त्यही देशबाट उठाउने, 
सरकारसंग सहकार्य गरेर त्यो सामाग्रीलाई भन्सार शुन्य (छुट) बनाउने अनि एनआरएनएको प्राविधिक टिम खडा गरेर दुर्गम स्कुलहरुलाई ति ल्यापटप र गजेटहरु प्रदान 
गर्ने व्यवस्था भएर त्यो विकट ठाउंका बच्चाहरु रमाएको हेर्ने मेरो ठूलो सपना छ भवन दाई ।

भवन दाई के त्यो सम्भव छैन् ? तपाईंले आंट्नु भयो भने त्यो गर्न सकिन्छ । वर्षैपिच्छे यस्ता परोपकारी योजनाहरु एनआरएन मार्फत गर्न सकिन्छ जसले दीनदुःखीहरु 
अभावसंग जुध्न सक्छन् ।

अभावमा हुर्किएकाहरुको आफ्नो बन्न सकिन्छ यदि हामीले अलिकति इच्छाशक्ति जगायौं भने । हामी गर्न पनि सक्छौं बस जोस जांगर चलाउन जरुरी छ । हामीले केही देख्यौं, केही सिक्यौं । अब हाम्रो भोगाइ अनि उपलब्धि थोरै भएपनि अभावमा हुर्किएकाहरुमाझ बांडौं न हजुर । हामीले हातेमालो गरयो भने यो सम्भव पनि छ ।

दान आफैंमा पवित्र हुन्छ । अहिले यो प्रविधि दान वा हस्तान्तरण अझै पूण्य काम हुन सक्छ । दुनियालाई जोड्ने विज्ञान र प्रविधि मेरो देशको जस्तो विकट गाउंसम्म लगे विश्व बजारमा पुग्न कति समय लाग्छ र । जोड्ने कामको शुरुवात म आफैं ल्यापटप दान गरेर गर्न चाहन्छु । तपाईंहरु तयार हुनुहुन्छ मलाई साथ दिन ? सकारात्मक जवाफको अपेक्षासहित ।

लन्डन

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक