पाँच भोजपुरे प्रतिभा सम्मानित

काठमाडौँ । काठमाडौँको बौद्ध–जोरपाटी क्षेत्रमा बसोबास गर्दै आएका भोजपुरबासीको संस्था भोजपुर मातृभूमि बौद्ध–जोरपाटी एकता समाज, काठमाडौँले समाजका विभिन्न क्षेत्रमा योगदान पुरयाएका भोजपुरका पाँच प्रतिभालाई सम्मान गरेको छ ।

महान सिद्धार्थ उच्च मावि जोरपाटीमा आयोजित कार्यक्रममा भोजपुरका शिक्षासेवी केदारनाथ श्रेष्ठ, जनवादी गीतकार श्याम तमोट, पूर्वमन्त्री, कवि तथा गीतकार शंकर कोइराला, संगीतकार बुलु मुकारुङ तथा समाजसेवी पासाङ दोर्ची शेर्पालाई सम्मान गरियो ।

उहाँहरूलाई प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले सम्मान गर्नुभएको थियो । कार्यक्रममा पूर्वकुलपति काइँलाले विभिन्न कला, सीप व्यवसायमा पहिले देखिनै भोजपुरको नाम चर्चित हुँदै आएको उल्लेख गर्दै भोजपुरबासीले नै राणा विरोधी आन्दोलन शुरु गरी हामीलाई प्रजातन्त्र र मानवअधिकारको ज्ञान दिलाएको बताउनुभयो । संस्कृत शिक्षाको केन्द्र हुनुका साथै भोजपुर औपचारिक शिक्षामा पनि अगुवा रहेको बताउँदै उहाँले सम्मानित सबैको समाजमा ठूलो योगदान रहेको बताउनुभयो ।

सम्मानित व्यक्तित्व शिक्षासेवी श्रेष्ठले बालागुरु षडानन्द, योगमाया न्यौपाने जस्ता व्यक्तिको जन्मभूमि भोजपुरमा रामप्रसाद राई, नारदमुनि थुलुङ जस्ता व्यक्तित्वले गरेका प्रजातान्त्रिक आन्दोलनको समेत आफूले प्रत्यक्ष अनुभव गर्न पाएको बताउनुभयो । आफूले भोजपुर क्याम्पसमा पढाएका विद्यार्थी विद्या भण्डारी राष्ट्रपति र शंकर कोइराला अर्थमन्त्री जस्तो महत्वपूर्ण स्थानमा पुगी राष्ट्रको सेवा गरेकामा खुसी पनि व्यक्त गर्नुभयो ।

पूर्व अर्थमन्त्री कोइरालाले केदार सर शिक्षाको अग्रज मात्र नभई अनुशासनको पनि प्रतीक भएको बताउँदै आफ्ना पनि गुरु उहाँजस्ता व्यक्तित्व सँगै सम्मानित भएकोमा हर्ष व्यक्त गर्नुभयो । उहाँले संस्थालाई आफ्ना कामले चिनाउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यले आफू कार्यरत संस्थाले देशमा विद्युत्भार कटौती हटाउन केही वर्षदेखि सफल हुँदै आएको बताउँदै भोजपुरमा विद्युतीकरण गर्ने काममा पनि सहयोग पुरयाउन आफू तयार रहेको बताउनुभयो ।

समाजका अध्यक्ष गोविन्द बस्नेतले आफ्नो संस्थाले भोजपुरका समाजसेवी, प्रतिभा र स्रष्टालाई सम्मान गर्न पाएकोमा सम्मानितलाई बधाई दिँदै सबैको सहयोगका लागि धन्यवाद दिनुभयो ।

कार्यक्रममा प्राज्ञ शशी लुमुम्बूले सम्मानित समाजसेवी र प्रतिभाको परिचय प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा संस्थाका आजीवन सदस्यलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो ।

कार्यक्रममा संस्थाका सल्लाहकार बाबुराम केसी तथा सचिव मनकुमार शेर्पाले संस्थाको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । महान सिद्धार्थ उच्च माविका छात्राछात्रले कार्यक्रममा ‘अर्केष्टा धुन’ प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री