‘बुद्ध नेपालमा जन्मिएका हुन्’ लेखिएको टिसर्ट लगाएर म्याराथनमा

लन्डन । ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ लेखिएको टिसर्ट लगाएर एक नेपाली सप्ताहन्त भएको ‘बिग हाफ म्याराथन’ मा दौडिए ।

साउथ इष्ट लन्डनस्थित ग्रीनवीच निवासी फुलप्रसाद कंडेल पहिलो पटक आफ्नो लामो दुरी दौडमा ‘बुद्ध नेपालमा जन्मिएका हुन्’ भन्ने सन्देश लेखिएको टिसर्ट लगाएर दौडिएका हुन् । १३.१ माइल दुरीको उक्त दौड कंडेलले २ घण्टा २६ मिनेट ४८ सेकेन्डमा पार गरेका थिए । ‘बुद्ध जन्मस्थलबारे विभिन्न भ्रम फैलिरहेका बेला मैले दौडमा बुद्ध सन्देश नै प्रवाह गर्न सान्दर्भिक ठानें’- बेलायतमा डेढ दशकदेखि बस्दै आएका कंडेलले भने । उनले उक्त टिसर्ट लगाएर दौडने अनुमति लिन आयोजकलाई ५ सय पाउण्ड तिर्नुपरेको बताए । ‘पैसा भन्दा पनि सन्देश महत्वपूर्ण हो’- कंडेलले भने, ‘राष्ट्रियता सवालमा आ आफ्नो तर्फबाट सानै भएपनि प्रयास गर्नु हामी सबैको दायित्व हो जस्तो लाग्छ ।’

भाइटलिटी बिग हाफ म्याराथन पहिलो पटक गत ४ मार्च, २०१८ मा सम्पन्न भएको हो । उक्त दौड लन्डन म्याराथन इभेन्ट्स लिमिटेडले गरेको थियो । लन्डन टावर ब्रिजबाट शुरु उक्त दौड साउथवार्क, टावर हयाम्लेटस, लुइसम हुंदै ग्रीनवीच कट्टी सार्कमा समापन भएको थियो । दौडमा ११ हजार बढिले भाग लिएका थिए ।

उक्त दौडमा चार पटकका ओलम्पिक च्याम्पियन मो फराह आकर्षण थिए जसले ६१ मिनेट ४० सेकेन्डमा पार गरेर उक्त दौड जिते ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री