ब्रिटिश अभिनेत्रीसंग नेपाली महिलाले मनाए नारी दिवस

लन्डन । चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्ले नेपाली र त्यसमा पनि गोर्खाहरुका लागि नौलो नाम होइन । भूपू गोर्खाहरुको आवासीय अधिकार आन्दोलनमा अग्रमोर्चामा आएर उनले साथ दिएपछि बेलायत सरकार गोर्खा सामु झुक्न वाध्य भएको थियो । तिनै अभिनेत्रीले नेपालमा महाभूकम्प गएपछि गरेको कारुणिक अपिलले अर्बौं सहयोग उठ्न सम्भव भएको ठानिन्छ ।

भूपू गोर्खाहरुले नेपाली चेली ठान्ने अभिनेत्री जोआनाले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस नेपाली महिलाहरुका साथ मनाइन् । बुधबार दिउसो लन्डनस्थित नेपाली दूतावासमा आयोजित विशेष समारोहमा राष्ट्रिय पोशाक सारी र गरगहनामा सजिएका महिलाहरुबीच घेरिइन् । नेपालीको न्यानो आतिथ्यले दंग देखिन्थिइन् जोआना ।

कार्यक्रमलाई सम्वोधन गर्दै उनले दूतावासमा पाएको न्यानो स्वागतका लागि आभार ब्यक्त गर्दै महिलालाई हरेक कुरा सिक्न सुझाव दिइन् । उनले महिलालाई बिशेष गरि स्वास्थ, खाना र शिक्षामा निपुण रहन पनि जोड दिइन् ।

कार्यक्रममा राजदूत डा. दुर्गाबहादुर सुवेदीले शुभकामना सहित गोर्खाहरुको वीरता प्रशंसा गर्दै गोर्खाले बेलायत नेपाल सम्बन्ध अझ मजबुत बनाएको बताए । राजदूत सुबेदीले बर्षमा तिज र नारी दिवस गरी दुई पटक दूताबासमा महिलाका लागि मात्र कार्यक्रम गरिएको बताए ।

‘म दूताबासलाई नेपाली महिलाहरुको ‘माइतीघर’ बनाउन चाहन्छु’- उनले भने । कार्यक्रममा राजदूतले जोआनालाई मायाको चिनो प्रदान गरे ।

राजदूत पत्नी पुनमराज्य लक्ष्मी सुबेदीले स्वागत मन्तब्य दिदै सबै नारीलाई एक गराउने काममा नारी दिवसले मद्दत गर्ने उल्लेख गरिन् । उनले जोआनाले गोर्खाहरुका लागि ठूलो गुन लगाएको सम्झिइन् ।

कार्यक्रममा चर्चित गायिका मिरा राणाले ‘जहाँ गाए पनि…’ र ‘मखमली चोलो…’ बोलको गीत गाएर जोआनालाई स्वागत गरिन् ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा विभिन्न नाच समेत प्रस्तुत गरियो ।

कार्यक्रममा गायिका मथुरा श्रेष्ठले पनि गीत सुनाइन् भने अमृता गिरी, आस्था जोशी, आयुशा श्रेष्ठ, अनु श्रेष्ठ, सौरभी दाहाल, संगिता मगर, सिम्मी पुन र दिक्षा सुनुवारले नाच प्रस्तुत गरे । साना बालिकाहरु दिब्या र काब्याले ‘बनमा फुल…’ मा देखाएको नाचले सबैको ध्यान खिचेको थियो । अन्तिममा जोआनासहित सहभागी महिला ‘काका कुल झैं भको…’ गीतमा सामूहिक नाचे ।

जोआनाले कलाकारहरुलाई खादाले सम्मान गरिन् ।

तस्बिर सबै – मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री