गुटामा पुगेन सहायता सामाग्री

हवाइ हमलापछि गुटामा देखिएको धुंवाको मुस्लो । तस्विर सिन्हवा

दमासकस, २४ फागुन – हिंसा जारी रहेको सिरियाको पूर्वीसहर गुटामा बिहीबार गर्ने भनिएको मानवीय सहायता कार्यक्रम हिंसाकै कारण रोकिएको छ ।

गुटामा जारी द्वन्द्वका कारण त्यहाँ पुग्न नसकिने भएको हुनाले सो कार्यक्रम नै स्थगित गरिएको रेडक्रसको इन्टरनेसनल कमिटी (आइसीआरसी) ले जानकारी दिएको छ ।

यस्तो अवस्थामा मानवीय सहयोगको यो कार्य अघि बढाउन नसकिने भएको हुनाले स्थगित गरिएको आइसीआरसीका प्रवक्ता इन्गी सेदकीले एएफपी समाचार समितिलाई बताउनु भएको छ ।

गत सोमबार पनि सिरियाको गुटा क्षेत्रनजिकै पुगेका संयुक्त राष्ट्रसंघीय सहायताकर्मीको एक समूहले सहायता वितरणको आफ्नो कार्यक्रम छोट्याउनु परेको थियो ।

सो क्षेत्रमा केही हप्तादेखि हिंसा जारी रहेका कारण मानवीय सहायताको लागि सोमबार गुटाको नजिकैको क्षेत्रमा पुगेर सहायताकर्मीले अत्यावश्यकीय सामान भने सानै मात्रामा मात्र वितरण गर्न पाएका थिए ।

हिंसाको त्रास नरोकिएको भन्दै उक्त संस्थाले आफ्ना कार्यक्रमलाई छोट्याउन लागेको बताइएको थियो । सिरियाको गुटामा अझै पनि सिरियाली सैनिकको हवाई हमला रोकिएको छैन ।

गएका दुई हप्तायता गुटा सहरमा जारी रहेको द्वन्द्वको कारण सहायताकर्मी पनि पुग्न सकेका छैनन् । युद्धको चेपुवामा करिब चार लाख मानिस परेका छन् र ती पनि खानेकुरा नपाएर मरिरहेका बताइएको छ ।

रुसी र सिरियाली सेनाले गरेको हमलाका कारण चेपुवामा परेका नागरिकलाई कुनै सहायता सामग्री पनि उपलब्ध गराउन नसकिएको जानकारी यसअघि राष्ट्रसंघले दिँदै आएको थियो ।

गुटामा जारी रहेको हिंसाको पछिल्लो तथ्यांकअनुसार गएको दुई सातायतामात्र उक्त क्षेत्रमा ७६० जना सर्वसाधारण मारिएका बताइएको छ ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा गुटामा भएको यो हिंसालाई एउटा ठूलो रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री