श्रीलङ्का थप अशान्त बन्दै

कोलम्बो, २४ फागुन – श्रीलङ्काको कान्डी शहरमा केही दिनयता जारी आन्दोलनका क्रममा भएको झडपमा प्रहरीले ८१ जनालाई पक्राउ गरेको छ ।

मानवीय क्षति हुने गरी भएको प्रदर्शनका मुख्य सदिग्ध व्यक्तिहरूसमेत गरी ८१ जनालाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बिहीबार जनाएका छन् ।

पक्राउ परेकामध्ये ७१ जनालाई हिंसात्मक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ भने अरू चार जनालाई कर्फ्यु उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको छ ।

त्यसैगरी पक्राउ गरिएका छ जनालाई भने सामाजिक सञ्जालमार्फत् आन्दोलन चर्काउन र हिंसा भड्काउन प्रेरित गरेको आरोप लागेको अधिकारीहरूले जनाएका छन् ।

स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यु आदेश जारी गरिएको र आवश्यकता तथा अवस्था हेरेर कर्फ्युबारे निर्णय लिइने प्रहरी अधिकारीहरूले बताएका छन् ।

कानून कार्यान्वयनका लागि भन्दै लागू गरिएको कर्फ्यु प्रहरीले कम्तीमा शुक्रबार बिहानसम्म कायम रहने जनाएको छ ।

केही दिनदेखि भइरहेको हिंसात्मक आन्दोलनका क्रममा घर, पसल, मन्दिर, मस्जिद आदि संरचनामा ठूलो क्षति पुगेको छ ।

आन्दोलन चर्किदै र हिंस्रक बन्दै गएपछि राष्ट्रपति मैत्रीपाला शिरीसेनाले बुधबार एक हप्ता लामो सङ्कटकाल घोषणा गर्नुभएको छ ।

प्रदेशभरी घोषणा गरिएको सङ्कटकाल सन् २००९ नौ पछि पहिलो पटक भएको समाचारमा जनाइएको छ ।

बौद्ध धर्मावलम्बी र मुसलमान समुदायबीच भएको विवादका कारण केही दिन यतादेखि यो झडप जारी रहेको छ ।

विवादका क्रममा एक बौद्ध धर्मावलम्बी युवक कुटिएका र उनको उपचारका क्रममा मृत्यु भएपछि यी दुई समूहबीच केहीदिन अगाडिदेखि नै झडप शुरु भएको थियो ।

गत मङ्गलबार कान्डी शहरमा रहेको एक घरमा भएको आगजनीमा एक मुसलमान युवकको मृत्यु भएपछि यो हिंसाले झन उग्ररूप लिएको थियो । त्यस पछाडि राष्ट्रपति शिरीसेनाले राष्ट्रव्यापी सङ्कटकाल घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री