नेपालको हङकङमाथि ५ विकेटको जित, एकदिवसीय मान्यता पाउने बाटो खुल्यो

फाइल तस्विर

काठमाडौं-जिम्बाबेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटमा नेपालले समूह चरणको अन्तिम खेलमा हङकङमाथि ५ विकेटको जित निकालेको छ । सोमबार जिम्बाबेको बुलावायो मैदानमा भएको समूह बीको अन्तिम खेलमा नेपालले हङकङलाई पराजित गरेपछि एकदिवसीय मान्यता पाउने बाटो खुलेको हो ।

यसअघिका समूह चरणका तीन वटै खेलमा पराजित नेपालका लागि एकदिवसीय मान्यता पाउने बाटो जीवितै राख्न हङकङमाथिको जित अनिवार्य नै थियो । नेपालको जितमा अफगानिस्तान भने भाग्यशाली हुँदै सुपर सिक्समा पुगेको छ ।

टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा अलआउट हुँदै १ सय ५३ रन जोडेको थियो । १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमै ५ विकेटको क्षतिमा १ सय ५५ रन जोड्यो ।

नेपालका लागि म्यान अफ द म्याच बनेको मध्यक्रमका युवा ब्याटसम्यान रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन जोडे । नेपालको विजयका लागि सोमपाल कामीसँग ८९ रनको ठोस साझेदारी गरेका उनले ८६ बल खेल्दै ५ चौका प्रहार गरे । यस्तै, ४० बल खेलेका सोमपाल कामीले ५ चौका मद्धतमा ३७ रन जोडे ।

यस्तै, आकाश साहले २६, ज्ञानेन्द्र मल्ल १२, दीपेन्द्रसिंह ऐरी १२ रन जोडे । कप्तान पारस खड्काले ११ रन जोडे भने आरिफ शेख २ रनमा आउट भए । हङकङका बलर अजिज खान र इशान खानले दुई दुई विकेट लिए । यस्तै, तनवीर अफलजको नाममा एक विकेट रह्यो ।

यसअघि पहिले ब्याटिङ गरेको हङकङका लागि निजकात खानले सर्वाधिक ४७ रन जोडे । ८४ बलको सामना गरेका उनले ४ चौका र १ छक्का प्रहार गरे । यस्तै, बाबर हायातले २० रन जोडे भने इशान खानले २१ रन बनाए । अन्य कुनै पनि ब्याटसम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । यस्तै, करण केसी र बसन्त रेग्मीले दुई दुई विकेट हात पारे । सोमपाल कामी र ललित राजबंशीका नाममा एक एक विकेट रह्यो ।

अब नेपालले एकदिवसीय मान्यता पाउन प्लेअफ खेल्नुपर्ने भएको छ । समान अंक भएपछि अफगानिस्तान राम्रो रनरेटका कारण तेस्रो स्थानमा रहँदै सुपरसिक्समा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री