उत्तर कोरियासँगको वार्तामा महत्वपूर्ण सहमति हुने ट्रम्पको विश्वास

ट्रम्प किम । तस्विर- एपी

वासिङ्टन, २८ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको वार्ता सकारात्मक मात्र नभएर महत्वपूर्ण पनि हुनसक्छ भन्नुभएको छ ।

उहाँले भन्नुभयो– “सो वार्ता सकारात्मक छ र उत्तरले आश्वासन दिएबमोजिम सो वार्तामा महत्वपूर्ण उपलब्धि पनि हुने सम्भावना अत्यधिक छ । ”

राष्ट्रपति ट्रम्पले आइतबार सो धारणा राख्नुभएको हो । उहाँले उत्तर कोरियाली नेता किम जङ उनले आगामी दिनमा अणुअस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको कारण आफूले वार्तामा बस्न सहमति जनाएको बताउनुभयो ।

उहाँले उत्तर कोरियासँगको वार्ताका लागि आफू उत्साही रहेको शनिबार मात्र बताउनुभएको थियो । उहाँले शनिबार यस वार्तालाई विश्वले नै बडो चासोका साथ हेर्ने पनि दाबी गर्नुभएको थियो ।

यही वार्ताकै लागि आफूले जापान र दक्षिण कोरियाका नेताहरुसँग पनि कुराकानी गरेको र उनीहरुको पनि समर्थन र सहयोग रहेको खुलासा उहाँले गर्नुभएको थियो ।

‘मलाई उत्तर कोरियाले अणुअस्त्रको परीक्षण रोक्ने आश्वासन दिएका छन् र उनीहरुले आगामी दिनमा गर्ने सम्भावना पनि छैन, त्यसैले मलाई यो वार्ताप्रति उत्साह जागेको छ’ – उहाँले भन्नुभयो ।

समाचारमा आएअनुसार, उत्तर कोरियाली नेता किम जङ उन र राष्ट्रपति ट्रम्पबीच आगामी मे महिनाको अन्तिमतिर भेटवार्ता हुने भएको छ ।

वार्तामा बस्ने उत्तर कोरियाली नेता उनको आमन्त्रण स्वीकार गर्नुअघि राष्ट्रपति ट्रम्पले जापानी प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिसँग फोनवार्ता गर्नुभएको पनि बताइएको छ ।

वार्ताको तयारी पुगेको छैन– क्लिन्टन 

यसैबीच अमेरिकी डिमोक्र्याटिक पार्टीकी नेत्री तथा पूर्वअमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनले ट्रम्प प्रशासनले उत्तर कोरियासँग गर्ने भनेको वार्ताका लागि आवश्यक तयारी नै नगरेको बताउनुभएको छ ।

उहँले उत्तर कोरियासँगको वार्ता त्यति सहज नरहेको भन्दै वार्ता गर्दाको संवेदनशीलता ट्रम्प प्रशासनले अहिलेसम्म पनि नबुझेको आफूले पाएको बताउनुभएको छ ।

यस संवेदनशील वार्तालाई सघाउनका लागि गर्नुपर्ने कूटनीतिक तयारी ट्रम्प प्रशानसले गर्न सक्नेमा आफू विश्वस्त नरहेको उहाँको भनाई थियो ।

पूर्व विदेशमन्त्री क्लिन्टनले एक पत्रिकालाई दिनुभएको अन्तर्वार्तामा भन्नुभएको छ– ‘किम जङ उनसँग आणविक हतियारका विषयमा वार्ता गर्नुपूर्व धरै कुरामा विचार गर्नुपर्छ र त्यस वार्ताको सम्वेदनशीलता बमोजिम तयारी पनि गर्नुपर्छ ।’

अमेरिकी नेत्री क्लिन्टनले ट्रम्प प्रशासनले विदेश मन्त्रालयलाई पछिल्लो समय आएर कमजोर बनाएको आरोप लगाउँदै अहिलेकै अवस्थामा उत्तर कोरियासँगको वार्ता सफल हुनेमा आफू विश्वस्त नरहेको बताउनुभएको थियो ।

‘अमेरिकाका वरिष्ठ कूटनीतिज्ञहरुको व्यापक तयारी बिना वार्तामा बस्न पनि सम्भव छैन र यो वार्ताको सम्वेदनशीलता र खतरालाई ट्रम्प सरकारले बुझेको जस्तो मलाई लाग्दैन’–उहाँले भन्नुभएको छ ।

तयार गरेरमात्र वार्ता हुन्छ– स्याण्डर्स् 

उता राष्ट्रपति डोनल्ड ट्रम्पका एकजना प्रवक्ताले वासिङ्टनले उत्तर कोरियाका आगामी दिनका कदमहरू हेरेर र व्यापक तयारी गरेरमात्र उसँग वार्ता हुने बताउनुभएको छ ।

प्रवक्ता सेराह स्यान्डर्सले उत्तर कोरियाका आगामी दिनका कारबाहीहरु नहेर्दासम्म राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जङ उनबीच वार्ताको हतार नगरिने स्पष्ट गर्नुभएको हो ।

उहाँले भन्नुभयो–“वार्तामा खासमा उत्तर कोरियालाई परमाणुअस्त्रको होडबाट निशस्त्रीकरणसम्म पुरयाउने एक महत्वपूर्ण कमद हुनुपर्छ र त्यस कार्यका लागि ट्रम्प प्रशासनले व्यापक मात्रामा तयारी गर्नेछ ।”

गएको बिहीबार अमेरिकाको भ्रमण पुगेका दक्षिण कोरियाली एकजना दूतले दुई नेताबीचको वार्ता आउँदो मे महिनामा हुने बताएका थिए ।

तर सो वार्ता कहाँ र कुन मितिमा हुने भन्ने बारेमा भने निश्चित भएको छैन । यस वार्तालाई संसारका मिडियाले पनि बडो रोचक रुपमा पछ्याइरहेका बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री