पटकपटक दोहोरिए हवाई दुर्घटना, पत्ता लाग्दैनन् कारण

बंगलादेशबाट काठमाडौ आएको युयस बंगाल विमान सोमबार १४.२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अबतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि उद्धारको प्रयास हुँदै । तस्बिर – रोशन सापकोटा, रासस

काठमाडौँ, २८ फागुन – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा परयो ।

नेपालमा भएका हवाई दुर्घटनामध्ये आज भएको दुर्घटना एउटा ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो ।

सन् २०१० मा स्थापना भएको उक्त वायु सेवा प्रदायक कम्पनीले सन् २०१४ देखि सेवा शुरु गरेको थियो । आन्तरिक उडानबाट सेवा शुरु गरेको सो वायु सेवा प्रदायकले सन् २०१६ देखि अन्तर्राष्ट्रिय उडान शुरु गरेको हो ।

सातामा चार दिन काठमाडौँमा उडान गर्ने सो वायु सेवा कम्पनी बंगलादेशको प्रतिष्ठित वायु सेवा प्रदायकमा गनिन्छ । सो विमान कम्पनीले बंगलादेशको आन्तरिक उडानका अतिरिक्त नेपाल, भारत, मलेशिया, ओमन, कतार, सिङ्गापुर र थाइल्याण्डमा उडान भर्दै आएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर आजको दुर्घटनालाई गम्भीर दुर्घटनाका रुपमा टिप्पणी गर्नुहुन्छ । उहाँले भन्नुभयो, “ठूलो एवं गम्भीर दुर्घटना भयो, के कति कारणले जहाज दुर्घटनामा परेको हो, त्यसको छानबिनपछि मात्रै थाहा होला, तर जे जस्तो कारणले भएको भए पनि यो भयानक दुर्घटना हो ।”

विमानस्थलमा नै यो स्तरको दुर्घटना हुनु पनि थप संवेदनशील विषय रहेको उहाँको भनाइ छ ।

सामान्यता अन्तर्राष्ट्रिय उडानबाट काठमाडौँ आउने विमान कोटेश्वरतर्फको धावन मार्गबाट अवतरण हुने गर्दछन् । तर आज दुर्घटनामा परेको विमान भने पशुपति तर्फको धावनमार्गबाट अवतरण गर्न खोजेको देखिन्छ । जताबाट अवतरण गरेपनि दुर्घटनामा परेको विमानले पार्किङमा रहेका अन्य जहाजलाई भने जोगाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीकाअनुसार विमानस्थलमै विमान दुर्घटना हुनु दुःखद् हो । जहाज थोरै दायाँबायाँ भएको भए थप क्षति पुग्ने अवस्था रहेको थियो ।

प्रत्यक्षदर्शीकाअनुसार युएस बंगलादेश विमान दुर्घटना हुँदा एक स्वदेशी वायु सेवा प्रदायकको जहाज उडानको तयारीमा थियो । विमान दुर्घटनामा परेको खबर चैतको खरमा आगो लागे जसरी नै देश विदेशमा फैलियो ।

प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाले उद्धारकार्यको प्रत्यक्ष अवलोकन गरी निर्देशन दिनुभयो । घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेर उपचारमा कुनै पनि कसर बाँकी नराख्न प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

दुर्घटनामा परी ४९ जनाको निधन भएको र २१ घाइते भएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । विमानमा चार जना चालक दलका सदस्यसहित ६७ यात्रु सवार थिए ।

नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म छ दर्जन विमान दुर्घटनामा परेका छन् । ९ जुन १९९१ मा नेपाल वायु सेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौँबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना ६ अक्टोबर १९७३ मा भएको बताइन्छ । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा ७२ हवाई दुर्घटना भएका छन् ।

हवाई दुर्घटना न्यूनीकरणका लागि भन्दै पटकपटक छानबिन समितिसमेत गठन गरिए । प्रतिवेदन तयार पारिए तर कार्यान्वयन भने हुन नसक्दा पटकपटक उस्तै दुर्घटना दोहोरिने गरेको छ ।

हवाई दुर्घटनाको इतिहासमा थाइ एयरको विमान रसुवाको घोप्टे भीरमा दुर्घटनामा परेको थियो । १९९२ जुलाई ३१ मा भएको उक्त दुर्घटनामा परी ११३ जनाको ज्यान गएको थियो । प्राधिकरणका पूर्व महानिर्देशक मानन्धर गम्भीर प्रकृतिका यस्ता दुर्घटनाको वस्तुनिस्ट अनुसन्धान गर्नुपर्ने बताउनुहुन्छ ।

अन्तर्राष्ट्रिय वायु सेवा प्रदायकका ठूला दुर्घटनामध्ये आजको दुर्घटना तेस्रो ठूलो रहेको जानकारको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री