वेल्स र नेपालबीच व्यापार प्रवर्द्धन गर्न संस्थागत पहल शुरु

लण्डन । ब्रिटेनको वेल्स राज्य तथा नेपालबीच लगानी, पर्यटन एवम् व्यापार प्रवर्द्धन गर्न संस्थागत पहल शुरु गरिएको छ ।

युके नेपाल फ्रेण्डशीप सोसाइटी (युकेएनएफएस) को संयोजनमा युकेस्थित व्यवसायीहरुको एक टोलीले हालै कार्डिफ बे स्थित वेल्स संसदको भ्रमण गर्‍यो । त्यसपछि कार्डिफस्थित रोयल होटलमा आयोजित एक कार्यक्रममा विभिन्न सम्झौता तथा समझदारीपत्रहरुमा हस्ताक्षर गरिएको थियो ।

मेशिनिस्ट्स इंक (एमआइ) र भूतपूर्व गोर्खा सैनिकहरुले प्रवर्द्धन गरेको फार्नबरोस्थित कम्पनी जीनर्जीबीच एक समझदारीपत्रमा हस्ताक्षर गरियो । जसअनुसार एमआइले आफ्नो इन्जीनियरिङ दक्षता र आपूर्ति प्रणाली सम्बन्धि जानकारी जीनर्जीसंग साझेदारी गर्नेछ । त्यसमा वेल्समा दुईवटा कम्पनीहरु नेमीन लिमिटेड तथा किडविथियो लिमिटेड पनि सहभागी हुनेछ ।

त्यस्तै युकेएनएफएसले नेपालमा माहुरीपालन उद्योगलाई सघाउन वेल्सस्थित किडविथियो लिमिटेड र उसकै भगिनी कंपनी टी ग्वेनीन लिमिटेडलाई छनोट गरेको छ । टी ग्वेनीन लिमिटेडले अत्याधुनिक सूचना प्रविधि प्रयोग गरी माहुरीको चाकाको अनुगमन तथा उत्कृष्ट व्यवस्थापनद्वारा मह उत्पादन बढाउन सघाउने काम गर्दछ ।

सोही अवसरमा नेपालमा पर्यटन र व्यापार व्यवसायको प्रबर्द्धन गर्न थिङ्ज टु डु इन नेपाल नामक प्लेटफर्मको तयारी पुरा भएको पनि घोषणा गरिएको थियो । सो व्यवसायबाट प्राप्त मुनाफाको केही अंश युकेएनएफएस मार्फत नेपालमा सामाजिक क्षेत्रमा खर्च गर्ने पनि सहमति भएको छ ।

यसअघि ब्रिटिश गोर्खा वेलफेयर एसोसियसनका अध्यक्ष सेवानिवृत्त मेजर टिकेन्द्रदल देवान, महासचिव छत्र राई, गजवीर थापा र सहारा युकेका लेफ्टिननट कुसाङ गुरुङ सम्मिलित एक टोलीले वेल्स संसदको भ्रमण गरी त्यहाँ भैरहेका कामकारवाहीको अवलोकन गरेको थियो।

‘वेल्स राज्य र नेपालबीच व्यापार, पर्यटन तथा लगानी प्रबर्द्धनको शुरुआत गर्न पाएकोमा हामी निकै खुसी छौं । यो प्रयास आगामी दिनमा अरु झांगिने हामीले विश्वास लिएका छौं’- युकेएनएफएसका अध्यक्ष एलान मर्कल सांकाले भने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री