उपराष्ट्रपति निर्वाचन चैत ९ गते

निर्वाचन आयोग

काठमाडौं, ३० फागुन – निर्वाचन आयोगले उपराष्ट्रपतिको निवाचन चैत ९ गते गर्ने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता आज बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचन सो मितिमा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान हुनेछ ।

निर्वाचन कार्यतालिकाअनुसार, चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता तथा चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले उपराष्ट्रपति निर्वाचनको मिति तोक्ने कानूनी व्यवस्था छ ।

उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायका व्यक्तिलाई उम्मेदवारका रूपमा मनोनयन गर्नुपर्ने व्यवस्था छ ।

फागुन २९ गते सम्पन्न राष्ट्रपति निर्वाचनबाट राष्ट्रपतिमा खस आर्य समुदायकी महिला श्रीमती विद्यादेवी भण्डारी निर्वाचित भएर शपथ लिइसकेकी छन् ।

उपराष्ट्रपति पदका लागि सोही लिङ्ग वा समुदाय भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्न गराउन पाइने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले उपराष्ट्रपतिको निर्वाचन तोकिएको मितिमा स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले सम्पन्न गर्न तयारी शुरु गरिसकेको जनाएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री