बेलायत रुस सम्बन्ध बिग्रियो, बेलायतद्वारा २३ रुसी कूटनीतिज्ञलाई देश निकाला

लण्डन, ३० फागुन – बेलायती प्रधानमन्त्री टेरेजा मेले बुधबार केही रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको छ ।

पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध भएको हत्या प्रयासमा दोषी ठहर गरी उनीहरूलाई देश निकालाको घोषणा गरिएको अधिकारीहरूले बताएका छन् ।

यसै महिनाको शुरुमा भएको घटनाका पीडित ती बाबु छोरीको अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ ।

तर, रुसी सरकारले भने ती बाबु छोरीको हत्या प्रयासमा ती कूटनीतिज्ञहरूको संलग्नतालाई अस्वीकार गर्दै आइरहेको छ ।

मेले दोषी मानिएका २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा जारी वक्तव्यमा देश निकालाको घोषणा गरिएकालाई एक हप्ताभित्रमा देश छोड्न समय दिइएको छ ।

प्रधानमन्त्री मेले यति धेरै संख्यामा विदेशी कूटनीतिज्ञहरूलाई देश निकाला गरिएको यो ३० वर्षपछिको सबैभन्दा ठूलो घटना भएको पनि बताउनुभएको छ ।

उहाँले रुससँगको कूटनीतिक सम्बन्धलाई टुटाउन भने नचाहेको स्पष्ट पार्नुभएको छ । तर, दुईपक्षीय उच्चस्तरीय कूटनीतिक सम्पर्क भने तत्कालका लागि स्थगित गरिएको बेलायतले जनाएको छ ।

प्रधानमन्त्री मेले रुसले आयोजना गरेको विश्वकप प्रतियोगिताको कुनै पनि कार्यक्रममा बेलायती राजपरिवारका कुनै सदस्य वा कुनै मन्त्री सहभागी नहुने पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री