जर्मन चान्सलर मर्केल चौंथो कार्यकालका लागि फेरी निर्वाचित

जर्मन चान्सलर मर्केल

बर्लिन, ३० फागुन – जर्मन चान्सलरमा एन्जेला मर्केल फेरी निर्वाचित हुनुभएको छ । जर्मनीको संसदले बुधबार उहाँलाई चौंथो कार्यकालका लागि चान्सलरमा निर्वाचित गरेको हो ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक जर्मनीमा उहाँको लोकप्रियतालाई लिएर विश्वभरी नै चर्चा भएको छ । जर्मनीको तल्लो सदनका कूल ७०९ जना सांसदमध्ये ३६४ जनाले मर्केलको पक्षमा मतदान गरेका थिए ।

संसदको स्पष्ट बहुमत उहाँलाई प्राप्त भएकाले मर्केल चान्सलरमा निर्वाचित भएको तल्लो सदनका सभामुखले घोषणा गर्नुभएको थियो ।

मर्केल नेतृत्वको युनियन पार्टी र सोसियल डेमोक्रयाटिक पार्टी (एसपीडी) ले गठबन्धन सरकार बनाउने बारेमा सोमबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

गठबन्धन बनाएका दुई पार्टी जर्मनीका सबैभन्दा ठूला पार्टी हुन् । यस्लाई ‘ठूलो गठबन्धन’को संज्ञा दिइएको छ ।

निर्वाचन पछि मर्केलले राष्ट्रपतिलाई भेट्नु भएको छ भने तत्काल नयाँ मन्त्रिपरिषद् बनाउने तयारी गर्नुभएको छ ।

यसैबीच चीनका राष्ट्रपति सि जिन पिङले फेरी चान्सलर निर्वाचित हुनु भएकोमा एन्जेला मर्केललाई बधाई दिनुभएको छ । उहाँले बुधबार पठाएको शुभकामना तथा बधाई सन्देशमा चीनसँगको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

मर्केललाई अन्य देशका राष्ट्र तथा सरकार प्रमुखहरूले पनि बधाई सन्देश पठाएको सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री