विश्व क्रिकेटमा नेपाली छलाङ, नेपाललाई पहिलो पटक एकदिवसीय ‘स्टाटस’ 

तस्वीर- आइसीसी

काठमाडौं- नेपालले विश्व क्रिकेट काउन्सिल (आइसीसी) को एकदिवसीय राष्ट्रको मान्यता  पाएको छ । जिम्बाबेमा जारी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको बिहीबार भएको प्लेअफमा पपुवा न्युगिनीलाई ६ विकेट पराजित गरेको नेपालले अर्को प्लेअफमा आफू अनुकूल नतिजा आएपछि आगामी चार वर्षका लागि वान डे अन्तर्राष्ट्रियको मान्यता पाएको हो ।

नेपाललाई एकदिवसीय मान्यता पाउन हङकङलाई नेदरल्याण्डसले पराजित गर्नुपर्ने थियो । यदि, हङकङले जितेको भए नेपालले हङकङसँग प्रतिस्पर्धा गरेर जितेमात्रै एकदिवसीय मान्यता पाउने थियो । तर, नेदरल्याडससँग हङकङ ४४ रनले पराजित भएपछि नेपालले एकदिवसीय स्टाटस पाएको हो ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्डसले ४८.२ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । १ सय ७५ रनको विजयी लक्ष्य पाएको हङकङ ४३ ओभरमा १३० रनमै अलआउट भयो ।

हारसँगै हङकङले पनि एकदिवसीय स्टाटस गुमाउँदै डिभिजन दुईमा रेलिगेसनमा परेको छ । यसअघि नेपालसँग पराजित भएपछि पपुवा न्युगिनी पनि एकदिवसीय स्टाटस गुमाउँदै डिभिजन टुमा झरेको छ ।

नेपालले पहिलोपटक  विश्व क्रिकेटमा एकदिवसीय स्टाटस पाएको हो । २२ वर्षमा अवधिमा नेपाली क्रिकेटले पाएको यो सबैभन्दा ठूलो र ऐतिहासिक सफलता हो ।

पपुवा न्युगिनीमाथि ६ विकेटको जित 

नेपालले आफ्नो प्लेअफ खेलमा पपुवा न्युगिनीमाथि शानदार जित निकालेको थियो । युवा क्रिकेटर दीपेन्द्रसिंह ऐरीको अलराउण्ड प्रदर्शनबाट प्रेरित नेपालले पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । जिम्बाबेको हरारे मैदानमा सामेबार भएको आइसीसी एकदिवसीय छनोटको प्लेअफमा पिएनजीले दिएको १ सय १५ रनको लक्ष्य नेपालले १ सय ६२ बल अगावै ४ विकेटको क्षतिमा पूरा गरयो ।

नेपालले टस जितेपछि पिएनजीलाई ब्याटिङको निम्तो दिएको थियो । नेपाल बलरहरु हाबी भएपछि पिएनजी २७.२ ओभरमा अलआउट हुँदै १ सय १४ रन जोड्यो । जसलाई जवाफी ब्याटिङमा उत्रिएको नेपालले २३ आभेरमा २ विकेट गुमाउँदै पूरा गरयो । २३ आभेरको अन्तिम बलमा ६ रन आवश्यक रहेको अवस्थामा दीपेन्द्रले विजयी छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए । नटआउट अर्धशतक प्रहार गरेको दीपेन्द्रले ५८ बलको सामना गर्दै ३ छक्का र १ चौका प्रहार गरे ।

उनले चौथो विकेटका लागि आरिफ शेखसँग ६७ रनको साझेदारी गरेका थिए । जसले नेपाललाई विजयी लक्ष्य पछ्याउन सहज बाटो बनायो । आरिफ शेखले २६ रन जोडे । ४२ बलको सामना गरेका उनले १ चौका प्रहार गरे ।

कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गर्दै १८ बलमा २० रन जोडे । उनले २ चौका र एक छक्का प्रहार गरेका थिए । आज पनि नेपालको ओपनिङ भने राम्रो रहन सकेन । ज्ञानेन्द्र मल्ल १ तथा आकाश साह ९ रन पवेलियन फर्के । नटआउट रहेका रोहितकुमार पौडेलले ३ रन बनाए ।

जिम्बाबेका नोरमन भनुवाले २ विकेट लिए भने एली नाव र जोन रेभाको नाममा एक एक विकेट रहयो ।

यसअघि पहिले ब्याटिङ गरेको पिएनजीका कुनै पनि ब्याटसम्यानले राम्रो स्कोर बनाउन सकेनन् । उसका लागि चाल्र्स अमिनीले १९, जे सन किलाले १५ रन जोडे । यस्तै, सेसे बाउले ११ तथा टोनी उराले ११ रन जोडे भने किपलिप डोरिगा, असद भाला, चाड सोपरले १०-१० रन जोडे । अन्य कुनै पनि ब्याटसम्यानले दोहोरो अंक जोडन सकेनन् ।

पिएनजीको ब्याटिङ लाइनअप धरासायी पार्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । यस्तै, सोमपाल कामी र करण केसीले १-१ विकेट बाँडे ।

पिएनजीमाथिको जितसँगै नेपाल आइसीसीको एकदिवसीय मान्यताको नजिक पुगेको छ । अब नेदरल्याण्डस र हङकङबीच जारी रहेको खेलमा नेदरल्याण्ड विजयी भए नेपालले अर्को खेल नखेल्दै एकदिवसीय मान्यता पाउने छ । यदि हङकङ विजयी भएमा नेपाल र हङकङबीच हुने अर्को खेलमा विजयी हुने टोलीले एकदिवसीय राष्ट्रको मान्यता पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री