गुम्बा बनाउन च्यारिटी, कोषवृद्धि भन्दा कलाकारलाई मस्ती

लन्डन । रुम्जाटार सोसाइटी यूकेले रुम्जाटारमा बुद्ध गुम्बा निर्माणका लागि सहयोग जुटाउन शनिबार अल्डरसटस्थित एम्पायर हलमा एक च्यारिटी नाइट गर्ने भएको छ ।

करिब ६ करोड रुपैयां लागतमा गुम्बा निर्माण गर्ने प्रोजेक्ट सहयोगार्थ उक्त च्यारिटी हुन लागेको हो । उक्त च्यारिटीका लागि नेपालबाट एक हुल कलाकार बेलायत आइसकेका छन् । टोलीमा गायक आनन्द कार्की, गायिका सुकमित गुरुङ, मिना देवी निरौला पोखरेल, राजु राजबहाक, रबि डंगोल, नम्रता योगी, धनकुमारी (सरु) थापा, जीवना बिके आदि बेलायत आएका छन् ।

यसअघि नै लन्डनमा रहेका दुई गायिका मिरा राणा र मौसमी गुरुङ समेत कार्यक्रममा सहभागी हुने आयोजकले बताएका छन् । स्थानीय सयपत्री कल्चरल ग्रुपको प्रस्तुति पनि कार्यक्रममा छ ।

थर्ड आइ कम्पनीका नामबाट कलाकार झिकाउने जिम्मा विकास देवकोटाले लिएका हुन् । गत वर्ष विवादास्पद फिल्म फेयर अवार्ड गरेको थर्ड आइले कलाकार झिकाएर च्यारिटीलाई उपलब्ध गराएको छ ।

च्यारिटी कार्यक्रम सामान्यतया कोष अभिवृद्धिका लागि गरिने भएपनि यो कार्यक्रममा भने आम्दानी भन्दा खर्च बढि हुने आशंका आयोजकलाई नै छ ।
च्यारिटी कार्यक्रम अघि सारेर कलाकारहरुलाई बेलायत घुमाउन मात्र सबै योजना बनाइएको हो । त्यति धेरै कलाकार झिकाउन हवाइ टिकट, खाना र होटल खर्चमात्र पनि कम्तीमा १५ लाख रुपैयां हुने अनुमान छ ।

बुद्ध गुम्बा निर्माण अभियानमा लागेका विष्णु गुरुंगले दर्जन कलाकार राखेर कार्यक्रम गर्नु खर्चिलो भएको स्वीकारेका छन् । ‘पैसा उठ्ला नउठ्ला तर कार्यक्रम कलाकारलाई प्लेटफर्म उपलव्ध गराउन र दाताहरुलाई मनोरन्जन दिलाउन गर्न लागिएको हो’, उनले भने, ‘कोही व्यक्तिले पैसा उठाएर लिन खोजिएको होइन ।’ गुरुङ देवकोटासंग निकट छन् ।

गुम्बा निर्माणका लागि सांच्चिकै सहयोग जुटाउने उद्देश्य हो भने बेलायतमै रहेका स्थानीय कलाकार ल्याएर च्यारिटी गरेको भए धेरै रकम वचत हुने यहांको समुदायको विश्वास छ ।

थर्ड आइले फिल्म फेयर अवार्डका बेला भने बेलायत आउने कलाकार, प्राविधिकलाई नै टिकट खर्च बेहोर्न भनेको थियो । बेलायतबाट पनि उत्तिकै प्रायोजक खोजिएको थियो ।

उक्त अवार्डबाट देवकोटाबाहेक उनका अरु साझेदारले भने घाटा बेहोर्न वाध्य भएको एकजना आयोजकले गुनासो गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री