बक्सिङ शोका साथ एनआरएनए यूकेको च्यारिटी डिनर तयारी

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले पृथक शैली अपनाउंदै बक्सिङ शोका साथ एक च्यारिटी डिनरको तयारी गरेको छ । संघको आपतकालिन परोपकारी कोष अभिवृद्धिका लागि ३१ मार्च, २०१८ का दिन अल्डरसटस्थित एम्पायर हलमा उक्त कार्यक्रम गर्न लागिएको शनिबार एक पत्रकार सम्मेलनमा जनाइयो ।

लन्डन साउथ हयारोस्थित हिमालयन किचनमा आयोजित पत्रकार सम्मेलनमा एनआरएनए यूके उपाध्यक्ष एवं च्यारिटी विभाग प्रमुख तथा कार्यक्रम संयोजक प्रेम गाहामगरले बेलायत तथा नेपालमा आपतकालिन अवस्था जस्तै प्राकृतिक विपत्ति, अन्त्येष्टी वा मरण, मानवीय संकट र ‘पब्लिक हेल्थ’ मा खर्चन च्यारिटी गर्न लागिएको जानकारी दिए ।

नेपाल र ब्रिटिश आर्मीमा कुनै बेलाका बक्सर गाहामगरले 
बक्सिङमा आफ्नो अनुभव भएको र बक्सिङ शो मार्फत संघमा युवाहरु आकर्षित गर्न तथा यस खेललाई बढावा दिन नयां ‘कन्सेप्ट’ ल्याइएको स्पष्ट पारे । उनका अनुसार, च्यारिटी डिनरका अवसरमा अमेचर नेपाली तथा बेलायती खेलाडीहरुले झण्डै दुईघण्टा अवधिमा दश वटा फाइट खेल्नेछन् । स्थानीय युवालाई अवसर दिइ सांस्कृतिक प्रस्तुति समेत रहनेछ । आयोजकले लामो भाषण र खादा प्रवृत्तिलाई सकेसम्म निरुत्साहित गर्ने सोच बनाएका छन् ।

‘बेलायतमा रहेका विभिन्न संघ संस्थालाई एकजुट गराउन, पुरानो र नयां पुस्ताबीचको अन्तर (जेनेरेसन ग्याप) हटाउन, गोर्खाहरुलाई प्रत्यक्ष आवद्धता तथा नेपाल र बेलायतमा आपतकालिन अवस्थामा सहयोग जुटाउन च्यारिटी गर्न लागेको हौं’- उद्देश्यबारे प्रष्टयाउंदै प्रेम गाहामगरले थपे- ‘व्यक्तिगत भन्दा पनि आम जनमानसमा सहयोग प्रदान गर्ने उद्देश्यसहित आपतकालिन कोष वृद्धि गर्न लागिएको हो ।’ टिकटबाहेक अक्सन, प्रायोजन र सर्भिङ गोर्खा (एमओडी) को सहयोगबाट पनि उल्लेख्य रकम संकलन हुने विश्वास गाहामगरको छ ।

एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले निस्वार्थ र सहयोगी भावनाले च्यारिटी डिनर गर्न लागिएको भन्दै उक्त कार्यक्रममा सहभागी भएर धेर थोर सहयोग गर्न सबैमा अपिल गरे । ‘हामी कार्यक्रम सफल बनाउन रातदिन खटिएका 
छौं’, फगामीले भने, ‘यो व्यक्तिगत स्वार्थ भन्दा पनि सामाजिक सेवाभावले गर्न खोजिएको हो ।’

उक्त कार्यक्रममा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी, बक्सिङका अन्तर्राष्ट्रिय खेलाडीहरु र अन्य भिआइपी तथा अन्य अतिथी गरि करिब ४५० जनाको सहभागिता रहने अपेक्षा गरिएको फगामीले जनाए ।

एनआरएनए यूके महासचिव आर के त्रिपाठीले कार्यक्रम सञ्चालन गर्दै आपतकालिन परोपकारी कोषबारे थप 
प्रष्टयाए । उनले कोष वृद्धि हुने नहुने अलग कुरा भएको जनाउंदै कार्यक्रममार्फत बेलायतमा रहेका नेपाली युवालाई अवसर प्रदान गर्ने उद्देश्य राखिएको बताए ।

कार्यक्रममा एनआरएनए यूके सामूहिक लगानी विभाग प्रमुख गंगा राना, धर्म विभाग प्रमुख होमनाथ पौडेल लगायतले सहभागिता र सहयोगका लागि नेपाली समुदायसमक्ष आव्हान गरे ।

कार्यक्रममा मिसेस नेपाल यूके विजेताहरुको समेत विशेष सहभागिता थियो । गत सातामात्र एक सफल च्यारिटी डिनर गरेका मिसेस नेपाल यूके विजेताहरु गिता बस्नेत पाण्डे, प्रिमा भट्टराई, अमृता गिरी गजुरेल, शर्मिला पछाइ थापा, अन्जु श्रेष्ठ, मन्जु शाह र संस्थापक मनिषा डंगोल श्रेष्ठले एनआरएनए यूकेको च्यारिटीमा आफ्नो तर्फबाट उल्लेख्य सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री