एकदिवसीय मान्यता पाएकोमा प्रधानमन्त्रीले दिए बधाई

जितको क्षण, तस्वीर-आइसीसी

काठमाडौँ, ३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्बाब्वेमा सञ्चालन भएको एकदिवसीय विश्वकप क्रिकेट छनौट खेलमा नेपालले एकदिवसीय मान्यता दिलाउन सफल नेपाली खेलाडी तथा प्रशिक्षकलाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार राति विज्ञप्ति जारी गरी नेपालले पाएको सफलताप्रति विशेषतः नेपाली क्रिकेट टोली र समस्त नेपाली क्रिकेटप्रेमी दाजुभाई दिदी बहिनीहरुमा हार्दिक बधाई दिँदै नेपालको ३० वर्षे क्रिकेट इतिहासमा नयाँ रेकर्ड कायम गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।

“हाम्रो राष्ट्रले पाएको यो सफलतापछि अव नेपालले एक दिवसीय र लिष्ट ‘ए’ मान्यता प्राप्त राष्ट्रहरुसँग चार वर्षसम्म क्रिकेटमा प्रतिस्पर्धा गर्न पाउनेछ । नेपाली क्रिकेट टिमको अथक मेहनत, परिश्रम, शीप र उत्कृष्ट प्रदर्शन र त्यसको प्रतिफलस्वरुप नेपालले पाएको यो सफलताप्रति नेपाली टिमलाई पुनः म विशेष धन्यवाद सहित वधाई ज्ञापन गर्दछु”–प्रमद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सन्देशमा यस गौरवपूर्ण सफलतालाई स्थायी बनाउने र टेष्टस्तरीय मान्यतामा नयाँ फड्को मार्नुपर्ने बताउँदै उहाँले क्रिकेट खेलको पूर्वाधार कमजोर हुँदाहुँदै पनि नेपाली क्रिकेट टिमले विगत केही वर्षदेखि गरेको निरन्तरको उत्कृष्ट प्रदर्शनले नेपाललाई क्रिकेटमा सम्भावना भएको देशका रुपमा चिनाउने सफलता प्राप्त गरेकोमा खुसी पनि व्यक्त गर्नुभएको छ ।

नेदरल्याण्ड्ससँग नेपाल ४५ रनले पराजित

विश्वकप छनोटको सातौं स्थानको प्ले अफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको छ ।

नेदरल्यान्ड्सले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १४४ रन मात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले ३६, कप्तान पारस खड्काले २२, दिपेन्द्रसिंह ऐरीले २५, करण केसीले १३ र सन्दिप लामिछानेले १४ रन जोड्नुबाहेक अन्य पाँच खेलाडीले दोहोरो अंकसमेत जोड्न सकेनन् ।

ओपनर ज्ञानेन्द्र मल्ल चार रनमा आउट हुँदा अर्को ओपनर अनिल साहले पनि मात्र आठ रन जोड्न सके भने शक्ति गौचन र रोहित पौडेल शून्यमै आउट भए । त्यस्तै, आरिफ शेखले पाँच र ललित राजवंशीले २ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नेदरल्यान्ड्सका रोलफ भानडर मर्व एक्लैले ४ विकेट लिएका थिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनाएको थियो ।

नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई-दुई र शक्ति गौचनले एक विकेट लिए ।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री