पीपल मोर्गेजेजको दोश्रो वार्षिकोत्सवमा गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग

लन्डन । पीपल मोर्गेजेजले स्थापनाको दोश्रो वर्ष गांठ विविध सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ । गत शुक्रबार १६ मार्च २०१८ बेलुकी अल्डरसटस्थित एम्पायर हलमा वार्षिकोत्सव मनाइएको हो ।

गोर्खा वेलफेयर ट्रष्ट युकेको सहयोगार्थ च्यारिटी डिनरको समेत गरिएको उक्त कार्यक्रममा गत अप्रिल २०१७ यताका नयाँ ग्राहकहरुलाई मात्र आमन्त्रण गरिएको थियो । सो अवसरमा पीपल ग्रुपका डाइरेक्टर सूर्यप्रकाश गुरुङले उपस्थित व्यक्तिहरुले लिएको राफल ड्रबाट संकलित १ हजार १८० पाउण्डमा त्यति नै रकम थपी २ हजार ३६० पाउण्डको चेक गोर्खा वेलफेयर ट्रष्टलाई हस्तान्तरण गरे ।

राफल ड्रमा प्रथम हुनेलाई एक तोला सुन तथा दोस्रो र तेस्रोलाई पीपल गिफ्ट भौचर प्रदान गरिएको थियो । त्यस्तै, सबभन्दा टाढा १५२, ११५ र ९४ माइलबाट कार्यक्रममा सहभागी ग्राहकहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा पीपल ग्रुपका डाइरेक्टर गुरुङले सबै उपस्थित महानुभावलाई स्वागत गर्दै दुइ वर्ष अघि फार्नबोरोबाट शुरु भएको आफ्नो व्यवसाय अहिले केन्टमा शाखा स्थापना गर्न सफल भएको बताए । उनले १६ जना कार्यरत रहेको सो ग्रुपले गत वर्ष देखि स्टेट एजेन्सी समेतको सेवा शुरु गरेको बताउदै मोर्गेजेज, प्रोटेक्शन, होम इन्स्योरेन्स र विलको बारेमा सल्लाह दिनुको साथै सस्तो र राम्रो मोर्गेज, प्रोटेक्सन र इन्स्योरेन्सहरूको खोजी गरिदिँदै आएको बताए । त्यस्तै, पिपल स्टेट एजेन्टस् मार्फत घर बेच्ने, भाडामा लगाउने र ब्यबस्थापन गर्ने काम गर्दै आएको समेत उनले जनाए ।

उनले ग्राहकहरुकै कारण व्यवसायिक सफलता सम्भव भएको भन्दै आउने दिनमा पनि आवश्यक सल्लाह र सुझाव दिने विश्वास व्यक्त गरे । ‘जसरी एउटा बालकले सबै कुरा जाने बुझेको हुंदैन तर इमान्दारीतापूर्वक कोशिस भने गरिरहेको हुन्छ, त्यस्तै हामीहरुले पनि सकेसम्म राम्रो, सरल र सुविधायुक्त सेवाको खोजीका लागि कोशिस गरिरहेका छौं’ – डाइरेक्टर गुरुङको भनाइ थियो ।

करिब ३०० जना भन्दा बढिको उपस्थिति रहेको सो कार्यक्रममा नेपाली समुदायका अग्रज पनि थिए । ब्रिगेड अफ गोर्खाजको हिल बोइज नामक गोर्खा व्याण्डको सांस्कृतिक प्रस्तुति पनि कार्यक्रममा थियो । सो अवसरमा व्याण्डले ‘सयथरी बाजा एउटै ताल..’, ‘बिछोडको बेलामा…’, ‘रेशम फिरिरी…’ लगायतका धुन बजाएका थिए ।

त्यस्तै, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘चियाको बुटैमा’, ‘सुन साइली’, ‘भेडाको ऊन जस्तो’ लगायतका कालजायी गीत प्रस्तुत गरेको थियो । एभरेष्ट आइडल–२०१७ सोनाहाङ्ग राईले ‘तिमी बिना सक्तिन एक्लै’, ‘जति माया लाए पनि…’ लगायत विभिन्न गीत गाएर भरपुर मनोरञ्जन दिलाएका थिए ।

क्यूओजिएलआरका कलाकारहरुले पाइपर र ड्रमको धुन बजाएर शुरु भएको कार्यक्रमलाई पीपल ग्रुपका शान्ति लिम्बु र सुवास पुनले सञ्चालन गरेका थिए भने डिजेमा हेम बिष्ट, भिडियोमा सविन्द्र कुमार गुरुङ र फोटोग्राफीमा मिलन तमुले बिशेष भूमिका निभाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री