देउवाको चेतावनी, ‘दुई तिहाइको ध्वाँस नदेखाउनुस्’

चितवन- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले दुई तिहाइको ध्वाँसबाट नडराउने बताएका छन् । आइतवार नेपाल निजामती कर्मचारी युनियन (संघ) को सातौं महाधिवेशनको चितवनमा उद्घाटन गर्दै देउवाले नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी, न्यायपालिकालगायत क्षेत्रको हस्तक्षेप सैहय नहुने बताए ।

अहिलेको सरकारले ती निकायमाथि हस्तक्षेप गर्न थालेको उनको आरोप थियो । “कुनै पनि निकायका विरुद्धमा गरिने हस्तक्षेप र अधिनायकवाद कांगेसलाई स्वीकार्य छैन”- उनले भने, “तपाईंहरु ढुक्कसँग स्वतन्त्र रुपमा काम गर्नुहोस्, कसैले तपाईंहरुमाथि हस्तक्षेप गर्न सक्दैन, त्यसका लागि हामी छौँ ।”

कांग्रेस स्वतन्त्र न्यायपालिका, प्रहरी, सेना र कर्मचारीको पक्षमा रहेको भन्दै उनले भने, “कांग्रेसले सरकारमा रहँदा पनि हस्तक्षेप गरेन, अरु कसैले पनि हस्तक्षेप गर्न पाउँदैन ।”

स्वतन्त्र न्यायपालिका, मौलिक अधिकारका पक्षमा कांग्रेस सधैँ रहने बताउँदै उनले नेपाली जनताले ठूलो संघर्षबाट संविधान प्राप्त गरेकाले यसको खिलापमा कोही कसैलाई नलाग्न चेतावनी दिए ।

मुलुकमा महत्वपूर्ण परिवर्तन कांग्रेसले नै गरेको भन्दै उनले संविधानको कार्यान्वयनमा सहयोग गर्न आफ्नो पार्टी सदैव तयार रहेको बताए । संविधान कार्यान्वयन भएमा मात्रै मुलुकले निकास पाउने भन्दै उनले यसका लागि दत्तचित्त भएर लाग्न कर्मचारीलाई आग्रह गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार स्वेच्छाचारी र सर्वसत्तावादतर्फ जान खोजेको भन्दै अहिले खोजिएको दुई तिहाईभित्र रहस्य लुकेको बताए । स्पष्ट बहुमत हुँदा हुँदै दुई तिहाईको सौदावाजी चलिरहेको भन्दै उनले यसअघि संविधान संशोधन गर्नै हुन्न भन्ने कम्युनिष्ट किन अहिले जे गरेर पनि दुईतिहाई खोजिरहेका छन् ? भन्ने प्रश्न गरे ।

विपी कोइराला, गणेशमान सिंह, सूवर्ण शमशेरलगायत नेताले गर्न नसकेको काम पछिल्लो समय कांग्रेसले गरेर देखाएको नेता पौडेलको भनाइ थियो । “पञ्च र राजा फालेर संविधान निर्माण गरी कार्यान्वयनको चरणसम्म ल्याउने काम काँग्रेसका पछिल्लो समयका नेताले गरेका हुन्”- पौडेलले भने ।

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले प्रधानन्यायाधीशको बर्खास्तगी नियम विपरीत भएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारका काम हेरेर समर्थन र विरोध गर्ने भन्दै प्रतिपक्षमा बसेर महत्वपूर्ण भूमिका पार्टीले निर्वाह गर्ने बताए ।

कार्यक्रममा कोषाध्यक्ष सीतादेवी यादव, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमहामन्त्री विमलेन्द्र निधि र कृष्ण सिटौलाले सरकारको मनोमानी कांग्रेसलाई मान्य नहुने भन्दै संगठन सुदृढ गर्नेतर्फ सबै लाग्नुपर्ने बताए ।

उक्त अवसरमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, नेता एनपी साउद, गगन थापा, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलनाथ दाहाल, नेविसंघका अध्यक्ष नैनसिंह महरलगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महाधिवेशनमा ५७० प्रतिनिधि र २०० पर्यवेक्षक सहभागी छन् । संघको ७७ जिल्ला समिति र मन्त्रालय तथा विभाग गरी ४६ विभागीय कार्यसमिति रहेका छन् भने २८ हजार पाँच सय सदस्य छन् ।

महाधिवेशनले संघीय संरचनाअनुसारको विधान अनुमोदन गर्दै ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने संघका अध्यक्ष सुबोधकुमार देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री