अपांगता सुन्दरीको कारुणिक कथा

लन्डन । बेलायतमा पहिलो पटक आयोजित ‘मिसेस नेपाल यूके २०१७’ मा सेकेन्ड रनर अप भएपछि अचेल अमृता गिरी गजुरेलको चिनारी फेरिएको छ । अब गृहिणीमात्र छैनन् उनी । बेलायतका विभिन्न स्टेजमा नाच देखाइरहेकी हुन्छिन् उनी । प्रेरणादायी मन्तव्य, नाटक अनि गायन पनि निरन्तर ।

गत साता नेपालका मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ लन्डनमा एउटा च्यारिटी डिनर गर्न उनको गहन जिम्मेवारी रहयो । आयोजक मिसेस नेपाल यूके टिमले उक्त कार्यक्रमबाट संकलित करिब दश लाख रुपैयां छिट्टै नेपाल पठाउने तयारी गरिरहेको छ ।

अमृता अन्य आम महिला भन्दा कसरी फरक छिन् भने उनको एउटा हात छैन् । तर, उनी २०० माइलसम्म निरन्तर मोटर वेमा कार हांक्छिन् । गृहिणी पनि भएकाले घरायसी सबै काम, दुई सन्तानको रेखदेख अनि परिवारिक दायित्व समेत 
निभाउंछिन् । सारी देखि अरु लुगा लगाउन उनलाई कसैको 
सहारा जरुरत छैन् । मेकअप आफैं गर्छिन् । कुकिङ गरेर साथी भाइ, पाहुना निम्त्याइरहने त उनको रुची । अचेल प्राय कार्यक्रममा उनको नाच डिमाण्ड हुन्छ । गीत गाउंछिन् उनी ।

हालै ब्रिटिश अभिनेत्री जोआना लुम्ले सहभागी लन्डनस्थित नेपाली दूतावासमा आयोजित नारी दिवसमा उनको नाच आकर्षणको केन्द्र बन्यो । ‘मेरो एउटा हात छैन् तर अठोट, हिम्मत र साहस छ’, एक मध्यान्ह लन्डनमा गफिंदै थिइन् उनी, ‘अपांगहरुमाझ म बेग्लै परिचय बनाउन चाहन्छु । उनीहरुको प्रेरणा श्रोत बन्न चाहन्छु ।’

मामाघर गएर रमाइलो गर्ने त्यो उत्साह । उमेर केवल ९ वर्ष थियो । निजगढ नेर उनी चढेको बस दुर्घटना भयो र बसले च्यापिएर एउटा हात चुंडियो । बीरगन्ज हुंदै काठमाडौं बी एण्ड बी हस्पिटलमा चार महिना उपचारपछि उनी घर फर्किइन् । जिन्दगीभर अपांग हुनुको पीडा आफूसंग त छंदै थियो, त्यसमाथि समाजले हेय दृष्टिकोणले हेर्न थाल्यो । उनकी आमा अम्बिका गिरीलाई समेत ‘डुंडी’ अमृताकी आमा भनेर खिसी गर्थे कोही । केही पारिवारिक सदस्यले नै उनलाई तिरस्कृत गरे । दुर्घटनापछि उनले आफ्नो कपाल केटाको जस्तै काटिन् ।

‘शुरुका दिनमा त आत्महत्या नै गरौं कि जस्तो हुन्थ्यो’, अमृता विगत सम्झिन्छिन्, ‘साथीहरुले जिस्क्याउलान भनेर दुई तीन महिना त स्कुल पनि गइन । म आफ्नो अनुहार ऐनामा कहिल्यै हेर्थिन ।’ तर, आफ्नो पारिवारिक साथले अमृताले हरेस खाइनन् । उनी घर सिन्धुपाल्चोकको सट्टा काठमाडौं होस्टेलमा पढ्न थालिन् । अल्बर्ट आइन्सटाइन स्कुल थियो ।

जेठी छोरीको एकाएक फेरिएको रुपले बाबु आमा चिन्तित नहुने कुरै भएन । आमाले छोरीलाई कहिल्यै कमजोर हुन दिइनन् । उनका बाबु सेतु गिरी पेशाले सेफ, उनी लन्डनमा थिए । बाबुकै कारण सन् २००६ मा अमृता लन्डन आइन् । लन्डन आएपछि नेपाली समाजको तिरस्कार त झेल्नु परेन तर आफ्नो लागि केही गर्ने दृढता उनले लिइरहिन् । आत्माबल पनि बढ्यो । लन्डन 
ग्रीनफोर्ड हाइ स्कुलबाट जिसिएसइ पास गरिन् । स्कुलमा उनको विषय नाटक र गायन थियो । ए लेभलमा हेल्थ एण्ड सोसियल र ब्याचलर्समा मनोविज्ञान पढिन् । ब्याचलर्स पढ्दा पढ्दै सन् २०१० मा प्रेम बिवाह भयो शंकर गजुरेलसंग । श्रीमान र परिवारको साथले उनलाई अगाडि बढ्न हौसला मिलिरहेको छ । अमृतालाई मिसेस नेपालकै विजेताहरु गिता बस्नेत पाण्डे र प्रिमा भट्टराईले हरेक पाइलामा साथ दिएका छन् ।

लन्डनमा शारिरीक रुपमा फरक क्षमता भएका (डिसेबल) लाई खुब सम्मान हुने अमृता बताउंछिन् । अलाउन्स, बेनिफिट, केयर टेकर आदि उपलव्ध हुन्छ सरकारबाट । ब्लु ब्याजले पार्किङ जहां पनि निशुल्क । तर, उनले सरकारबाट बेनिफिट नलिएको बताइन् । ‘बेनिफिट लिए मलाई झन् कमजोर महशुस गराउंछ’, उनले भनिन्, ‘आफैं केही गरौं जस्तो लाग्छ ।’

अमृता भविष्यमा आफू जस्ता अपांगहरुको हितका लागि केही गर्ने सोचमा छिन् । ‘अपांग रहरले हुने होइन’, उनी भावुक भइन्, ‘परिस्थितिले त्यस्तो भएपछि समाज र परिवारले सम्मान दिए हामी हरेक क्षेत्रमा सशक्त रुपमा अगाढि बढ्न सक्छौं ।’

छिट्टै गीत रेकर्ड गर्ने योजनामा छिन् अमृता । समयले साथ दिए ‘स्काइ डाइभिङ’ गर्ने उनको सपना छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री