नेपाली कांग्रेसको मुख्य सचेतकमा खाणको मनोनयन

काठमाडौँ-नेपाली कांग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गरेको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।

विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाएका थिए।

विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहेका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

संघीय संसद्मा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उनका लागि निकै चुनौती र अवसरका रुपमा छ ।

मुख्य सचेतकमा मनोनयन भएपछि उनले कांग्रेसले संघीय संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

मुख्य सचेतक खाणले भने, “बहुलबादमा आधारित शासन व्यवस्थाको रक्षार्थ कांग्रेस सशक्त पहरेदारको भूमिकामा रहनेछ, सरकारको राम्रो कामको समर्थन गर्ने छ, तर राष्ट्रहित र जनताका अधिकार कुण्ठित गर्ने प्रयास भएमा प्रखररुपमा उत्रने छ ।”

नेपाली जनताको लामो संघर्ष र चाहनाअनुरुप संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएका विषयवस्तु तथा मूल्यमान्यताको रक्षाका लागि आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई आगामी दिनमा पार्टीले प्रभावकारी ढंगबाट अघि बढाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री