लन्डन कविता कन्सर्टका कवि फर्किए, चन्दा यतै

लन्डन । बेलायतमा पहिलो पटक आयोजना गरिएको ‘लन्डन कविता कन्सर्ट’ का मुख्य आकर्षण कवि नवराज पराजुलीको सम्मानसहित विदाइ गरिएको छ । मंगलबार सांझ कन्सर्ट मुख्य आयोजक नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले एक समारोहबीच कवि पराजुलीलाई सम्मान तथा विदाइ गरेको हो ।

नेपलिज ब्रिटिश कम्युनिटी यूकेले एनआरएनए यूके भाषा तथा साहित्य विभागको सह-आयोजनामा ग्रीनफोर्ड टाउन हलमा गत १० मार्चमा कविता कन्सर्ट गरेको थियो । उक्त कन्सर्ट द्वन्द्व पीडित बालबालिकालाई आश्रय दिइरहेको सर्लाही घुरक्यौलीस्थित ‘चेतना सन्देश नेपाल’ नामक संस्थाको सहयोगार्थ गरिएको थियो ।

कन्सर्ट गरेर कवि फर्किएपनि आर्थिक सहयोग पठाउन भने बांकी छ । केही प्रायोजकहरु र सह आयोजक एनआरएनए यूकेले नै 
प्रतिवद्धता गरेको रकम दिन बांकी रहेकाले चन्दा पठाउन नपाइएको एनबीसी यूके अध्यक्ष मिलन घिमिरेले जानकारी दिए ।

उनका अनुसार, करिब ७ हजार पाउण्ड खर्च कटाएर १० लाख रुपैयां नेपाल पठाउने योजना छ । ‘तर, प्रायोजकहरुले दिएनन् भने त त्यति रकम पनि पठाउन नसकिने स्थिति छ’, घिमिरेले भने, ‘हामीलाई आशा छ प्रतिवद्धता रकम छिट्टै आउने छ ।’

विदाइ समारोहमा कवि पराजुलीले आफ्नो कार्यक्रम सफल पारिदिएकामा समस्त श्रोता र आयोजकप्रति आभार व्यक्त गरे । उनले बेलायत भ्रमण धेरै अविष्मरणीय भएको बताए ।

कन्सर्ट संयोजक तथा संस्थाका सल्लाहकार रामशरण सिम्खडाले कविता कन्सर्ट आयोजना एउटा ‘दुस्साहस’ थियो भन्दै सफल बनाउन अहोरात्र खटिने सबैप्रति कृतज्ञता प्रकट गरे । ‘धेरैले एकादेशको दन्त्य कथा पनि भने’, उनले कार्यक्रम गर्दाको अनुभव स्मरण गरे, ‘चुनौतिपूर्ण थियो तर टिम वर्कले हामी सफल भयौं ।’

सिम्खडाले कवि पराजुलीको हार्दिकता र परोपकारी भाव उल्लेख गर्दै कविता कन्सर्टले नयां ट्रेन्ड स्थापित गर्ने विश्वास समेत व्यक्त गरे ।

एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघले भाषा, साहित्य विभाग गठन गरि नेपाली भाषा, संस्कृतिको जगेर्ना र श्रष्टाहरुको सम्मानमा जुटिरहेको बताए । आचार्यले कन्सर्टले समुदायमा बेग्लै र सकारात्मक सन्देश दिएको बताए ।

कार्यक्रममा एनबीसी यूके पूर्व अध्यक्ष गंगाबहादुर राना, एनआरएनए यूके भाषा तथा साहित्य विभाग प्रमुख नारायण गाउंले, नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष ध्रुवराज अर्यालले कन्सर्ट अनुभव सुनाए ।

एनबीसी यूके सचिव चुरामणी रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कमल पौडयालले स्वागत मन्तव्य र कन्सर्ट सह- संयोजक तथा संस्थाका सल्लाहकार कृष्ण तिमल्सेनाले धन्यवाद सहित आ-आफ्नो अनुभूति सुनाए ।

कार्यक्रममा मिडिया पार्टनरको भूमिका निर्वाह गर्ने पत्रकार शिव भण्डारी, गोल्ड प्रायोजक विकास नेपाल र सचिव चुरामणी रेग्मीलाई सम्मान गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री