केपी ओलीले गरे सचिवालयमा ब्यापक कटौती

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयको संख्यामा कटौती गरेका छन् ।  बुधबार मन्त्रिपरिषद् बैठकबाट एक कार्यविधी पारित गर्दै ओलीले सचिवालयको संख्या झण्डै आधा कटौती गरेका हुन् ।

बैठकले प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय समूह छरितो बनाउन कार्यविधि पारित गर्दै सचिवालयको संख्या घटाएको हो ।

आर्थिक मितव्ययिता अपनाउने नीतिअनुरुप प्रधानमन्त्रीको सचिवालयमा संख्या कटौती गर्ने निर्णय भएको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले बताए । उनका अनुसार यसअघि सचिवालयमा ४७ सदस्य रहँदै आएकामा अब २८ सदस्य बनाउने तयारी गरिएको छ ।

डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सचिवालय ४७ जना भर्ति गर्दै जम्बो बनाइएको थियो । त्यसअघि भने प्रधानमन्त्रीको सचिवालयमा २३ जना रहने ब्यवस्था थियो ।  राज्यमन्त्री बाँस्कोटाले कतिपय सहसचिवस्तरका कर्मचारीलाई उपसचिव र त्यो भन्दा तल्लो तहमा सचिवालय सदस्य राखिने बताए ।

सरकारको काम कारबाहीलाई सही तवरले अगाडि बढाउन मन्त्रिपरिषद्को मातहतमा विभिन्न पाँच विषयगत समिति गठन गरिएको छ ।

बैठकले राजनीतिक समिति, आर्थिक तथा पूर्वाधार समिति, प्रशासन समिति, सामाजिक समिति र विधेयक समिति बनाउने निर्णय गरेको  बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री